उहाँहरू कम्युनिष्ट हो कि होइन भन्ने विषयमा जानकार र विद्वान्हरूका बीचमा लामै समयदेखि मतभेद छ । उहाँहरू आफैलाई पनि आफू कम्युनिष्ट हुँ कि होइन भन्नेमा दोधारै होेला । तर जति नै विरोध, मतभेद र दोधार भए पनि न त उहाँहरूले एकअर्कालाई कामरेड भन्न छाड्नुभएको छ न त सत्ता, सुविधा र कामरेडियत नै ।
कसैले माने पनि नमाने पनि उहाँहरू कम्युनिष्ट नै हुनुहुन्छ । त्यसैले तपाईंहरू पनि उहाँहरूलाई पक्का कामरेड नै मान्दिनु होला । त्यत्ति मान्दिँदैमा तपाईंको के नै जान्छ र ? मेरो पनि केही जाँदैन । आखिर सच्चा कम्युनिष्ट भनेर त्यत्रा जनता जनार्दनले पत्याएकै छन् ।
उहाँहरू वास्तवमै कम्युनिष्ट हो भन्ने कुरा बुझ्न केही थाहा पाउनै पर्दैन । किनकि सबैलाई थाहा छ, उहाँहरूलाई गरीब मन पर्दैन, तर गरीबी भने उहाँहरूलाई खुब मन पर्छ । किनकि गरीबी रहेसम्म उहाँहरूको नारा र भोेट सुरक्षित हुन्छ ।
उहाँहरू पक्का कम्युनिष्ट नै हुनुहुन्छ भन्ने प्रमाण त उहाँहरूका कम्युनिष्ट देशप्रतिको लगावले नै देखाउँछ । चीन, उत्तर कोरिया, रसिया, युगोस्लाभिया, बुल्गेरिया आदि जस्ता देश जाने निम्तो खोजी खोजी उहाँहरू ती देशका भ्रमणमा निस्कनुहुन्छ । ती देशका नेता र उनीहरूले लगाउने रातो फेटाको गुणगानमा समय खर्चनु हुन्छ, जुन सबैले देखेकै, सुनेकै कुरा हो । ती देशमा जे पनि राम्रो देख्ने र यूरोप वा अमेरिकी देशका खराबी मात्रै खोज्ने भनेकै उहाँहरू पक्का कामरेड हो भन्ने प्रमाण हो ।
उहाँहरू वास्तवमै कम्युनिष्ट हो भन्ने कुरा बुझ्न केही थाहा पाउनै पर्दैन । किनकि सबैलाई थाहा छ, उहाँहरूलाई गरीब मन पर्दैन, तर गरीबी भने उहाँहरूलाई खुब मन पर्छ । किनकि गरीबी रहेसम्म उहाँहरूको नारा र भोेट सुरक्षित हुन्छ । गरीब जनताले नै त हो नि उहाँहरूलाई दुई तिहाइ दिएर सरकारमा पठाएको ।
वास्तवमा कम्युनिष्ट भनेकै गरीबहरूको ‘माईबाप’ हो नि त । तर बजेट आउँछ, मौद्रिक नीति आउँछ, योजना आयोगका योजनाहरू आउँछन् तर त्यहाँ गरीबका लागि केही आउँदैन । तर पनि गरीबहरू केही बोल्दैनन् । किनकि गरीबहरूलाई सरकारसँग के बोल्ने वा के माग्ने भन्ने नै थाहा हुँदैन । गरीबहरू इमानदार हुन्छन् । कम्युनिष्टहरू गरीबका मुक्तिदाता हुन् भन्नेमा उनीहरूलाई पूरा विश्वास छ । विश्वास भएपछि केही मागिरहनै नै पर्दैन नि त !
कम्युनिष्टहरू पूँजीवादमा पनि विश्वास गर्छन् । यो अर्कै कुरा हो कि व्यवहार गर्दै जाँदा त्यो पूँजीवादको अर्को किनारा बिचौलिया र दलाल पूँजीवादमा आफै पुग्छ । कम्युनिष्टहरू संसदीय व्यवस्थामा पनि विश्वास गर्छन् । तर रेलिङ भाँच्ने विशेषज्ञता भएकाले होला संसद् उहाँहरूका लागि खसीको टाउको देखाएर बाख्रीको मासु बेच्ने पसल पो बनिदिन्छ । उहाँहरू सरकारमा गएपछि त कसकसलाई के के बेच्नुहुन्छ, थाहा हुँदैन ।
कम्युनिष्टहरूलाई भगवान् मान्दैन भनेर आरोप लगाए पनि, उहाँहरूले मन्दिर भत्काउँदै हिँडे पनि अन्तमा भगवान्को चित्रमा नढोगी र रातो टीका निधारमा नलगाई उहाँहरू कुनै पनि काम शुरू नै गर्न हुन्न । किनकि कामरेडहरूको रातो रंगसँग निकै पुरानो र गहिरो सम्बन्ध रहेको देखिन्छ । जस्तै– रातो झण्डा, रातो किताब, रातो टोपी, रातो गलबन्दी, रातै रुमाल आदि । त्यही भएर राम उहाँहरूका लागि जीवनदाता । धेरै हनुमान पालेपछि राम नभई पार्टी पार लाग्छ र ?
इतिहास केलाउने हो भने उहाँहरू रातो रगतसँग झनै मोहित देखिनुहुन्छ । कुरा गर्दा समेत उहाँहरू तर्कले भन्दा रगत उमालेर चर्को स्वरले जित्नुहुन्छ । वास्तवमा रातोविना कामरेडहरू अधुरो अपुरो जस्ता देखिनुहुन्छ । जसरी रातो झण्डा वा रातो कुनै टालो देखेपछि साँडे सन्किन्छ, त्यसको ठीक उल्टो रातो देख्न नपाउँदा चैं कामरेडहरू सन्किनुहुन्छ ।
नेपालमा कम्युनिष्ट पार्टी खुलेदेखिको इतिहास पढ्ने हो भने रातो झण्डा, रातो घोषणापत्र र रातो कार्पेटमाथि राख्ने कुर्सीका लागि रातारात पार्टी फुटाएर नयाँ खोल्ने र आफ्नो भाग सुरक्षित गरिहाल्ने पारिपाटी खुब देखिन्छ । यसरी हेर्दा कामरेडहरूको प्रत्येक लफडा झगडा पनि त्यै रातो रंगकै वरिपरि घुमिरहेको देखिन्छ ।
रातो झण्डाको भागबन्डाबाट शुरू भएको कामरेडहरूको कलह रातो झण्डा च्यातिँदा च्यातिँदै अब लँगौटीमा सीमित हुन पुगेको छ । अहिले त्यही बाँकी एउटै लँगौटी प्रयोग गरिरहेका दुई कामरेडबीच लँगौटीको ठूलो हिस्सा कसले प्रयोग गर्ने भन्ने विवादमा तानातान गर्दा दुवै निर्वस्त्र हुन पुगेका छन् । उहाँहरूको लाज छोपिदिन स्वदेशी तथा विदेशी लाल लँगौटीवालाहरू भरमग्दुर प्रयासरत देखिन्छन् । तर त्यै रातो लँगौटीको छेउ भए पनि लगाउन पाउन हिजोआज त पत्रकार, वकिलदेखि प्रशासकसम्म, सहकारीवालादेखि प्राध्यापकसम्म, उद्योगीदेखि व्यापारीसम्म तँछाड मछाड गरिरहेका देखिन्छन् । नभए आफै रातो धरो रङ्ग्याएर रातो लँगौटी आफूसँग पनि भएको प्रमाण प्रदर्शन गरिरहेका छन् ।
अहिले हेर्ने हो भने देशैभरि धेरै मानिसहरूको घर घरबाहिर, सहकारी, एनजीओ, कलेज, मेडिकल कलेजहरू बाहिर डोरीमा विभिन्न आकार, प्रकार र गुणस्तरका रातो लँगौटी सुकिरहेका छन् । किनकि रातो लँगौटी केवल पहिरन मात्र नभई यो त नेपालीको पहिचान र प्रगतिको सूचक जस्तो पनि बनिसकेको छ ।
त्यसैले अब दौरा सुरुवालको सट्टा रातो लँगौटीलाई चैं राष्ट्रिय पोशाकको मान्यता दिलाउन पहल गर्ने पो हो कि ?
नेपालको कम्युनिष्ट वास्तबमा कमाउनिष्ट भैसकेका छ्न । यिनको बाङ्ग्लाबाट देखिसकेको छ । बैंक ब्यालेन्स अख्तियारले खोजी गर्न नसकेर पो ! यिनिहरुको मनमा रेड (रातो) कम भैसकेको छ । केवल यिनिहरुले लाउने लुगा र झगडामा मात्र रातो बाकी छ । यसैको लागी लड्छ्न्, भुडी भर्छ्न्, जनता जेसुकै होस । छु मतलब ।