ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चितवनमा नयाँ उद्योग दर्ता घट्यो

२०७७ सावन, १२  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । घरेलु तथा साना उद्योग कार्यालय, चितवनमा अघिल्लो आर्थिक वर्ष (आव) २०७५/७६ को तुलनामा गत आव २०७६/७७ मा साझेदारी तथा निजी उद्योग दर्ता घटेको छ । कार्यालयका अनुसार अघिल्लो आवमा यस्ता १ हजार ६८८ उद्योग दर्ता भएका थिए भने गत आवमा यो संख्या घटेर १ हजार ४४८ मा सीमित भएको छ ।

उद्योगको प्रकृति अनुसार कार्यालयले ८ ओटा शीर्षकमा उद्योग दर्ता गर्ने गरेको छ, जस अनुसार गत आवमा सबैभन्दा बढी कृषि तथा वनसम्बन्धी उद्योग ८५८ ओटा दर्ता भएका थिए । यस्तै पर्यटन उद्योग १९०, सेवामूलक उद्योग १८५ ओटा, उत्पादनमूलक उद्योग २१२ ओटा र विज्ञान तथा सूचना प्रविधि उद्योग तीनओटा दर्ता भएका छन् । उक्त आवमा ऊर्जा, खनिज र निर्माणसम्बन्धी उद्योग कुनै पनि दर्ता भएका छैनन् ।

यसैगरी अघिल्लो आवमा १ हजार ६८८ उद्योग दर्ता भएकामा सबैभन्दा बढी कृषि तथा वनमा आधारित उद्योग ८५६ ओटा थिए । यस्तै उत्पादनमूलक ३५७, सेवामूलक २९५ ओटा, पर्यटनका १७८ ओटा र विज्ञान तथा सूचना प्रविधिसम्बन्धी उद्योग दुईओटा दर्ता भएका थिए भने ऊर्जा, खनिज र निमार्णमूलक उद्योग कुनै पनि दर्ता भएका थिएनन् ।
कार्यालयका प्रमुख नारायण लम्सालले कोरोनाका कारण चैतयता उद्योग दर्ता ठप्प जस्तै भएकोले उक्त संख्यामा कमी आएको बताए । ‘कोरोनाका कारण नयाँ दर्ता गर्ने पनि आएनन्,’ उनले भने, ‘गतवर्षदेखि ५ लाखभन्दा कम पूँजी लगानीको उद्योग स्थानीय तहमा दर्ता हुने सरकारले निर्णय गरेको छ ।’ कोरोनाको कारण नव उद्यमीमा अन्योल र अनिश्चितता बढेकाले पनि उद्योग दर्ता गर्नेको संख्या घटेको उनको बुझाइ छ ।

राजस्व संकलन पनि घट्यो
अघिल्लो आवको तुलनामा गत आवमा उद्योग दर्ताबाट हुने राजस्व संकलन पनि घटेको छ । अघिल्लो आवमा उद्योग दर्ताबाट ४९ लाख १४ हजार रुपैयाँ राजस्व संकलन भएको थियो भने गत आवमा घटेर ३५ लाख ५८ हजार रुपैयाँ मात्र संकलन भएको छ । कार्यालयका अनुसार अघिल्लो आवमा कृषि तथा वनमा आधारित उद्योगबाट १५ लाख ९३ हजार रुपैयाँ राजस्व संकलन भएको थियो । त्यस्तै सेवामूलक उद्योगबाट १४ लाख ५५ हजार, उत्पादनमूलक उद्योगबाट १४ लाख ४७ हजार र पर्यटनमूलक उद्योगबाट ४ लाख २० हजार रुपैयाँ राजस्व संकलन भएको थियो । गतवर्ष कार्यालयले कृषि तथा वनमा आधारित उद्योगबाट १७ लाख ५४ हजार, उत्पादनमूलक उद्योगबाट ९ लाख ३२ हजार, सेवामूलक उद्योगबाट ६ लाख ७३ हजार र पर्यटन उद्योगबाट १ लाख ९९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

कार्यालयका अनुसार यसअघि ५ लाखदेखि २० लाख रुपैयाँसम्म पूँजीको उद्योग दर्ता गर्न प्रतिउद्योग २० हजार रुपैयाँ राजस्व लाग्ने गर्दथ्यो भने अहिले यो दर घटेर १२ हजार १०० रुपैयाँमा झरेको छ । उद्योग दर्ता गर्ने संख्या घटे पनि कार्यालयले संकलन गर्ने कुल राजस्व संकलन भने बढेको लम्सालले बताए । उनका अनुसार गत आवमा दर्ता, नवीकरण, ठाउँ सारी, पूँजी वृद्धि, खारेजी लगायत सबै शीर्षकमा गरी राजस्व संकलन हुने गर्दछ । २ करोड रुपैयाँसम्म पूँजी भएका उद्योग व्यवसाय उक्त कार्यालयमा दर्ता हुने गर्दछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)