ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विद्युत् प्राधिकरण भरतपुर विद्युत् वितरण केन्द्रको बक्यौता रकम बढ्यो 

२०७७ सावन, १४  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

साउन १४, चितवन । जिल्लामा रहेका तीन ओटा वितरण केन्द्रमध्ये सबैभन्दा ठूलो वितरण केन्द्र भरतपुर विद्युत् वितरण केन्द्रमा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २०७६/ ०७७ मा विद्युत् बक्यौता रकम बढेको छ । 

कार्यालयले दिएको जानकारी अनुसार अघिल्लो आवमा रू.१८ करोड ६५ लाख ७४ हजार ४४१ रहेकोमा यस वर्र्ष बक्यौता रकम बढेर रू.२० करोड ६६ लाख ९० हजार ६३२ पुगेको छ ।

यसको साथै कार्यालयले अघिल्लो आवको तुलनामा गत आवमा बिल रकमसमेत कम संकलन गरेको छ । जस अनुसार अघिल्लो आवमा कार्यालयले रू.१ अर्ब  ८४ करोड १२ लाख ९ हजार २७७ संकलन गरेको थियो भने गतवर्ष विल रकम संकलन घटेर रू.१ अर्ब ६९ करोड ८४ लाख २२ हजार ५९७ बिल रकम संकलन भएको छ । 

कार्यालयका प्रमुख सुरेन्द्र कुमार महत्तोले  लकडाउनका कारण नियमित महसुल संकलन  गर्न नसकिएको र अधिकांश उद्योग व्यवसाय बन्द रहेकोले बिल संकलन रकम कमी भएको बताए । 

उनका अनुसार गत आवको पुस महीनादेखि भरतपुर वितरण केन्द्रबाट टुक्रिएर रामपुरदेखि पश्चिम क्षेत्रका लागि चनौली वितरण केन्द्र स्थापना भएकोले पनि रकम संकलनमा कमी आएको हो ।

 ‘गत वर्षको पुषमा ३२ हजार २०० ग्राहक चनौली केन्द्रमा सरेको छ’, उनले भने, ‘ग्राहक कम भएपछि विल संकलन कम हुने नै भयो ।’ कार्यालयको अघिल्लो आर्थिक वर्ष ८६ हजार १८ ग्राहक थिए भने, अहिले यो संख्या घटेर ५७ हजार ४६५ ग्राहक संख्या छन् । तर जिल्लामा नयाँ संरचना र उद्योगहरु स्थापित हुने क्रम बढेपछि ग्राहक संख्याका साथै खपत पनि बढ्दै गएको प्रमुख महत्तोको  भनाइ छ । 
 

चुहावट, कारवाही र असुली संख्या पनि घट्यो 

भरतपुर वितरण केन्द्रको ग्राहक संख्या घटेसँगै चुहावट, कारवाही र असुली संख्या पनि घटेको छ । कार्यालयका अनुसार अघिल्लो आवमा कार्यालयले २०८ जना ग्राहकलाई कारवाही गरेको थियो भने गत वर्ष १२७ जना ग्राहकलाई कारवाही गरेको थियो ।

जसबाट गत आवमा कार्यालयले रू.२० लाख ३३ हजार ११६ असुलेको थियो भने गत आवमा रू.१० लाख ५३ हजार ११५  असुल भएको छ । ग्राहक संख्या बाँडिएपछि असुली संख्या पनि घटेको  उनले बताए ।
 

ग्राहक संख्या घटे तर लाइन काटिने बढे 

भरतपुर विद्युत् वितरण केन्द्रबाट ग्राहक संख्या विभाजन भएपनि अघिल्लो आवको तुलनामा गत आवमा लाईन काटिने ग्राहकको संख्यामा भने वृद्धि भएको छ । अघिल्लो आवमा केन्द्रले १ हजार ८० जना ग्राहकको लाइन काटेको थियो ।

गत आवमा १ हजार ६५३ जना ग्राहकको लाइन काटिएको छ । कार्यालयले बक्यौता धेरै हुने, नियमित महसुल भुक्तान नगर्ने ग्राहकको लाइन काट्दै आएको छ । गत आवमा कार्यालय बिल भुत्तानी गरेपछि १ हजार १५० जना ग्राहकको पुन ः जडान गरेको थियो भने अघिल्लो आवमा १ हजार ८४ जना ग्राहकको पुन : लाइन जडान गरेको थियो । 

लाइन काटिने ग्राहकबाट अघिल्लो आवमा रू.२९ करोड २६ लाख २८ हजार ८ असुली भएको थियो भने गत आवमा यस्ता ग्राहकबाट कार्यालयले रू.३० करोड २३ लाख ३१ हजार रकम असुली भएको छ । हाल लाइन काटिएका ग्राहकबाट रू.२ करोड ८९ लाख ५३ हजार ४३५ बक्यौता रहेको छ ।

प्रमुख महत्तोले ६० दिनभित्र महसुल भुत्तानी नगर्ने अधिकांश ग्राहकको लाइन काटिएकोले अघिल्लो आवभन्दा गत आवमा कारवाही संख्या बढेको हो । 
 

कालोसूचिका ग्राहक संख्यामा कमी 

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा कालोसूचिको संख्यामा समेत कमी आएको छ । अघिल्लो आर्थिक वर्षमा २७५ जना ग्राहक कालोसूचिमा परेका थिए भने गत आवमा यो संख्या २५५ जनामा झरेको छ ।

कालोसूचिमा रहेका ग्राहकबाट कार्यालयले गत आवमा रू.१४ लाख १८ हजार ३२ असुल गरेको थियो भने गत आवमा त्यस्ता ग्राहकबाट रू. ९ लाख ९८ हजार २७३ असुली भएको छ ।  हाल कालोसुचिमा रहेकाा ग्राहकबाट रू.७२ लाख ५५ हजार ५२४ असुल्न बाँकी छ । 

गत आवमा कार्यालयले रू.१ अर्ब ७५ करोड ८५ लाख ४१ हजार ४५१ (संशोधन बाहेक) को विद्युत् विक्री गरेको जानकारी दिएको छ । अघिल्लो आवमा रू.१ अर्ब ९० करोड ९५ लाख ९४ हजार ३१३ बराबरको विद्युत् विक्री गरेको थियो । 

कार्यालयले  छ महीनाभन्दा विद्युत् बक्यौता नतिर्ने त्यस्ता ग्राहकलाई कालोसूचि ग्राहकमा राख्ने गरेको छ र सोही अनुसार सम्पर्क गरी बक्यौताको लागि ताकेता गर्ने गर्दै आएको छ ।

जिल्लामा तीन ओटा वितरण केन्द्र छन् जसमध्ये भरतपुर वितरण केन्द्रले भरतपुर महानगरपालिका, इच्छाकामना गाउँपालिका, आबुँ खैरहनी, र तनहुँ देवघाटका केही क्षेत्रहरुमा विद्युत् विक्री गर्दै आएको छ । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)