ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नारायणी लिफ्टबाट बाह्रै महीना सिंचाइ सुविधा पुर्‍याइने

२०७७ सावन, १४  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

साउन १४ चितवन । वर्षामा मात्र सञ्चालन हुँदै आएको नारायणी लिफ्ट सिंचाइ आयोजनाले आगामी वर्षदेखि १२ महीना नै सिँचाइ सुविधा पुर्‍याइने भएको छ । आयोजनाले नयाँ उपकरण जडान गरी वर्षैभरि पानी छाड्ने लक्ष्यसहित आवश्यक प्रक्रिया अघि बढाएको छ ।

आयोजनाले धानखेतीका लागि वर्षायाममा मात्र पानी छाड्ने गर्दछ । हाल प्रतिसेकेन्ड २ हजार लिटर क्षमताका दुईओटा र प्रतिसेकेन्ड ४ हजार लिटर क्षमताका दुईओटा पम्पले लिप्mट गरी नहरमा पानी पठाइँदै आएको छ । यी पम्प पुराना र खर्चिलो हुन थालेपछि नयाँ मोटर जडान गरी हिउँदमा पनि सिंचाइ आपूर्ति गर्ने योजना बनाइएको नारायणी लिफ्ट खगेरी सिँचाइ व्यवस्थापन कार्यालय, भरतपुरका प्रमुख इन्जिनीयर खेमबहादुर पाठकले जानकारी दिए । ‘आयोजनालाई कम खर्चिलो बनाउदै बाह्रै महीना पानी दिन सक्नेगरी बनाउन लागिएको हो,’ उनले भने ।

पाठकका अनुसार लिफ्टमा चारओटै मोटर नयाँ जडान गर्न बोलपत्र आह्वानसमेत भइसकेको छ । ३५ करोडदेखि ४० करोड रुपैयाँ लागतमा नयाँ पम्प जडान गर्न लागिएको हो । बागमती प्रदेश सरकारले पम्प जडानका लागि रू. १९ करोड विनियोजन गरिसकेको छ । अपुग रकम स्थानीय तह र अन्य निकायबाट पुनः प्राप्त हुने पाठकले बताए । नयाँ पम्प जडानसँगै विद्युत् खपत कम हुने, मर्मतसम्भार खर्च घट्ने र चलाउन सहज हुने उनको भनाइ छ । ‘हाल सञ्चालनमा आएको पम्प ११ हजार भोल्टबाट चल्छ भने नयाँ पम्प ६ दशमलव ६ हजार भोल्टबाट चल्ने भएकाले खर्च पनि कम हुन्छ,’ पाठकले भने ।

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले लिफ्टको निरीक्षण गरी स्तरीकरणका लागि आवश्यक पहल गरेपछि  लिफ्टमा नयाँ उपकरण जडानका लागि प्रक्रिया थालनी भएको हो । यसका लागि बारम्बार सुझाव र बजेट माग गरिए पनि  हाल महानगर प्रमुख दाहालको सक्रियतामा लिफ्टले पूर्णता पाउने भएको छ । कृषिउपजको उत्पादन बढाउन पनि सिंचाइको अपरिहार्य भएकाले यस कामलाई गति दिएको महानगरले बताएको छ ।

हाल सञ्चालित पुराना पम्पको मोटर पानी माथि छन् भने अबको नयाँ पम्प पानी मुनि जडित अत्याधुनिक रहनेछ । नारायणी लिफ्ट सिंचाइ जलउपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर रानाभाटले लिफ्टले भरतपुर महानगरपालिकाको ३ हजार ५०० हेक्टर जमीनमा प्रत्यक्ष रूपमा सिँचाइ सुविधा पुर्‍याउँदै आएको बताए ।

पम्प सञ्चालनमा वार्षिक ३ करोड खर्च हुँदै आए पनि आगामी वर्षदेखि खर्च कम हुने र उत्पादनमा वृद्धि हुने रानाभाटको भनाइ छ । हाल यस आयोजनाबाट सिंचाइ सुविधा पुग्ने जग्गामा वार्षिक रू. १८ करोड बराबरको धान उत्पादन हुँदै आएको छ । 

२०४० सालदेखि सञ्चालनमा ल्याइएको उक्त आयोजनाबाट आएको पानी खगेरी सिंचाइमा मिसाएर पश्चिम चितवनका विभिन्न वडाको खेतीयोग्य जग्गामा सिंचाइ गरिँदै आएको छ । भरतपुर महानगरपालिका–१ नारायणगढमा राखिएको पम्पले नारायणी नदीको पानी तानेर भरतपुर महानगर क्षेत्रमा नहर, कुलो हुँदै पानी पठाउँदै आएको छ ।

आयोजानाको पानी असार अन्तिम सातादेखि कात्तिक पहिलो सातासम्म धान रोपाइँ तथा धानबालीका प्रयोग हुने गरेको छ । बाह्रै महीना पानी दिन सके  हिउँदमा यस क्षेत्रमा तरकारी, लहरेबाली, मकै लगायत कृषिउपजको उत्पादन बढ्ने अपेक्षा गरिएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)