ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सौराहाका पर्यटन व्यवसायीद्वारा सेवा दिन शुरु

भौतिक र मानसिक रुपमा तयार भयौं : व्यवसायी 

२०७७ सावन, १७  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

साउन १७, चितवन । सरकारले होटल तथा अन्य पर्यटन व्यवसायलाई खोल्न अनुमति दिएसँगै सौराहाका पर्यटन व्यवसायीले सेवा सुचारु गर्न थालेका छन् । सौराहामा औपचारिक रुपमा बिहीवारबाट सेवा दिन शुरु गरिएको उनीहरुले बताएका हुन् । शुरुवाती चरणमा होटल तथा रेष्टुरेण्टको सरसफाईका साथै कर्मचारी बोलाउन शुरु गरिएको व्यवसायीहरुको भनाइ छ । 

जंगल सफारी लजका सञ्चालक एवं क्षेत्रीय होटल संघ नेपाल, सौराहाका पूर्वअध्यक्ष सुमन घिमिरे होटल खुल्ने क्रम शुरु भएको बताउँछन् । ‘होटल खुलेपछि सौराहा खुलेको छ भन्ने सन्देश गएको छ, उनले भने, केही मात्रमा आन्तरिक पर्यटक आउन पनि शुरु भएको छ ।’ 

हाल पर्यटकको चाप नबढेपनि भौतिक र मानसिक रुपमा तयार रहेको भन्दै घिमिरेले यस गतिविधिबाट अबको सिजनको लागि मदत पुग्ने उनले बताए । उनका अनुसार होटल खुलेसँगै होटलहरुको संरचना सुधार, सरसफाई र कर्मचारीले रोजगारीका अवसर पुनः प्राप्त हुनेछ । 

यसअघि कोरोनाको कारण दशैं अगाडि मात्र होटल सञ्चालन गरिने व्यवसायीको भनाइ थियो । कोरोनाको प्रभाव कम हुँदै गएपछि विदेशी पर्यटक उल्लेखनीय रुपमा आउने पर्यटन व्यवसायीको अपेक्षा छ । यसका लागि पर्यटकलाई छूटसहितको प्याकेज ल्याउने तयारी संघको छ । 

होटलहरु खुलेसँगै पर्यटकीय अन्य गतिविधि समेत शुरु गरिएको छ । होटल खुलेलगत्तै व्यवसायीले हात्ती सफारी, जीप सफारीलाई निरन्तरता दिन थालेका छन् । संघका अध्यक्ष दिपक भट्टराई  होटलहरु खुलेसँगै  पर्यटकीय अन्य गतिविधि पनि शुरु भएको बताउँछन् । ‘निकुञ्ज हालललाई नखुलेपनि सामुदायिक वनमा हात्ती सफारी तथा जीप सफारी पनि शुरु भएको छ ।’ उनले भने । 

पर्यटकको चाप र चहलपहल बढ्न यससँग सम्बन्धित अन्य सेवा पनि खुल्नु पर्ने उनले बताए । उनका अनुसार हाल ७० प्रतिशत होटलहरु खुलिसकेको र अन्य खुल्ने क्रममा छन् । पर्यटकको गतिविधि बढाउन अन्तरजिल्ला यातायात सेवा, हवाई सेवा र प्रचारप्रसारलाई तीव्र पार्नुपर्ने उनको भनाइ छ । 

नयाँ होटल सञ्चालन गर्न लागेका चितवन प्यालेस, सौराहाका सञ्चालक नगेन्द्र चापागाईं अहिले होटल खोलेर सेवा दिँदा फाइदा नभएपनि पर्यटकीय गतिविधि शुरु हुने र सिजनको लागि काम गर्न सजिलो हुने बताउँछन् । ‘अहिले होटलमात्र खोलेर पर्यटक त्यति आउँछन् भन्ने होइन, उनले भने तर होटलमा आएर बुकिङ, मार्केटिङ गर्ने वातावरण भने बनेको छ ।’ 

लामो समयपछि होटल खुल्दा केही उत्साह थपिने र आगामी दिनमा योजना बनाउन मदत पुग्ने व्यवसायीले बताएका छन् । होटल खुलेसँगै व्यवसाय प्रवर्द्धनको विषयमा व्यवसायीबीच प्रत्यक्ष छलफल भएको छ । जसअनुसार आन्तरिक पर्यटन प्रवर्द्धनको लागि संघले ‘घुमौं चितवन’ भन्ने नाराका साथ देशभर चितवनका पर्यटकीय गन्तव्यको वृत्तचित्र देखाउने तयारी गरेको व्यवसायीले बताउँछन् । 

सौराहाका रेष्टुरेण्ट एण्ड बार केही हप्तादेखि खुल्दै आएपनि होटल र अन्य पर्यटकीय गतिविधि शुरु भएपछि केही आशा र भरोसा थपिएको रेष्टुरेण्ट एण्ड बार एशोसियन नेपाल (रेबान) सौराहाका, चितवनका अध्यक्ष दिपेन्द्र खतिवडाले बताए । 

पर्यटकको फ्लो ह्वात्त नबढेपनि क्रमश सुधार हुने व्यवसायीहरुको विश्वास छ । हाल व्यवसायीले पर्यटकको स्वास्थ्य सुरक्षाको लागि मास्क अनिवार्य, सामाजिक दूरी, बेड निर्मलीकरण, ज्वरो नाप्ने लगायतका मापदण्डलाई कडा रुपमा लागू गरिएको बताइएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)