ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लामोसाँघु–सिँगटी प्रसारण लाइन निर्माण अघि बढ्यो

२०७७ सावन, १८  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar नवराज शिवाकोटी

दोलखा । लामो समयदेखि जग्गा विवादको कारण रोकिएको लामोसाँघु–सिँगटी प्रसारण लाइनको काम अघि बढेको छ । भीमेश्वर नगरपालिका–८ को बोच तथा वडा नं ९ को झिँगानेमा जग्गा विवादको कारण स्थगित प्रसारण लाइन निर्माणले गत महीनादेख गति लिएको हो ।

प्रसारण लाइन आयोजना अन्तर्गत बोचमा टावर निर्माणका लागि फाउन्डेशनको काम शुरू भएको आयोजनाका प्रमुख राजन ढुंगेलले बताए । झिँगानेमा टावर निर्माण पनि शुरू गर्न लागिएको उनको भनाइ छ । जग्गा विवादका कारण भीमेश्वर नगरपालिका–८ बोचमा रहेको तिलोत्तमा हिमाली फूड प्रडक्शन एन्ड रिसर्च सेन्टरको जग्गामा लामो समयदेखि टावर नम्बर ७४ को निर्माण हुन सकेको थिएन । यसैगरी वडा नं ९ झिँगानेका स्थानीयले पनि रूट परिवर्तन गर्न माग गरेकाले ८१, ८२, ८४ र ८६ नम्बरका टावरकोे निर्माण शुरू हुन सकेको थिएन । दोलखाको उत्तरी भेगमा निर्माण सम्पन्न हुने चरणमा रहेका जलविद्युत् आयोजनाको विद्युत् खेर जाने अवस्था आएपछि प्रशासनको सहयोगमा आयोजनाले गत महीनादेखि टावर निर्माण अघि बढाएको हो । आयोजनाले टावर निर्माण शुरू गरेसँगै उच्च अदालत पाटनमा स्टे अर्डरका लागि मुद्दा परेकोमा उच्च अदालतले स्टे अडर जारी गर्न अस्वीकार गरेसँगै काम सुचारु भएको आयोजनाले बताएको छ ।

दोलखाको उत्तरी भेगमा निजीक्षेत्रबाट उत्पादन गरिने विद्युत्लाई केन्द्रीय प्रसारणमा जोड्न निर्माणाधीन १३२ केभीको डबल सर्किटको लामोसाँघु–सिँगटी प्रसारण लाइन अन्तर्गत बोचमा एक, झिँगानेमा चार र सिन्धुपाल्चोकमा दुईओटा टावर निर्माण बाँकी छ । सिन्धुपाल्चोकमा भने जग्गा विवादको कारण नभई प्राविधिक समस्या आएकाले काम रोकिएकोमा छिट्टै समस्या समाधान हुने आयोजना प्रमुख ढुंगेलले बताए । ४० किलोमिटर लामो प्रसारण लाइनमा पर्ने १२४ टावरमध्ये समस्यामा परेकाबाहेक अन्य सबै टावरको काम सम्पन्न भएको छ । हालसम्म करिब ३४ किलोमिटर सिंगल सर्किट तार तान्ने काम सकिएको आयोजनाले बताएको छ । सिंगटी खोला र खानी खोला तथा खारे खोला बेसिनमा निजीक्षेत्रबाट निर्मित जलविद्युत् आयोजनाहरू यही प्रसारणलाइन कुरेर बसेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)