ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रको बक्यौता रकम बढ्यो

२०७७ सावन, १८  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । जिल्लामा रहेका तीनओटा वितरण केन्द्रमध्ये सबैभन्दा ठूलो वितरण केन्द्र भरतपुर विद्युत् वितरण केन्द्रमा अघिल्लो आर्थिक वर्ष २०७५/७६ को तुलनामा गत आर्थिक वर्ष २०७६/७७ मा विद्युत् बक्यौता रकम बढेको छ । कार्यालयका अनुसार अघिल्लो आवमा १८ करोड ६५ लाख ७४ हजार ४४१ रुपैयाँ रहेकोमा गत आवमा बक्यौता रकम बढेर २० करोड ६६ लाख ९० हजार ६३२ रुपैयाँ पुगेको छ

कार्यालयले अघिल्लो आवको तुलनामा गत आवमा बिल रकम समेत कम संकलन गरेको छ । अघिल्लो आवमा कार्यालयले १ अर्ब ८४ करोड १२ लाख ९ हजार २७७ रुपैयाँ संकलन गरेको थियो भने गतवर्ष घटेर १ अर्ब ६९ करोड ८४ लाख २२ हजार ५९७ रुपैयाँ रकम संकलन भएको छ । कार्यालयका प्रमुख सुरेन्द्र कुमार महतोले लकडाउनका कारण नियमित महशुल र अधिकांश उद्योग व्यवसाय बन्द रहेकोले बिल रकम संकलनमा कमी आएको बताए । उनका अनुसार गत आवको पुसदेखि भरतपुर वितरण केन्द्रबाट टुक्रिएर रामपुरदेखि पश्चिम क्षेत्रका लागि चनौली वितरण केन्द्र स्थापना भएकाले पनि रकम संकलन घटेको हो । ‘गतवर्षको पुसमा ३२ हजार २०० ग्राहक चनौली केन्द्रमा सरेका छन्,’ उनले भने, ‘ग्राहक कम भएपछि बिल संकलन कम हुने नै भयो ।’ कार्यालय अन्तर्गत अघिल्लो आर्थिक वर्ष ८६ हजार १८ ग्राहक थिए भने अहिले यो संख्या घटेर ५७ हजार ४६५ मा सीमित छ । तर जिल्लामा नयांँ संरचना र उद्योगहरू स्थापित हुने क्रम बढेपछि ग्राहक संख्याका साथै खपत पनि बढ्दै गएको महतोको भनाइ छ ।

भरतपुर वितरण केन्द्रको ग्राहक संख्या घटेसंँगै चुहावट कारबाही असुली संख्या पनि घटेको छ । कार्यालयका अनुसार अघिल्लो आवमा कार्यालयले २०८ ग्राहकलाई कारबाही गरेको थियो भने गतवर्ष १२७ ग्राहकलाई कारबाही गरेको छ, जसबाट गत आवमा कार्यालयले २० लाख ३३ हजार ११६ रुपैयाँ असुलेको थियो भने गत आवमा १० लाख ५३ हजार ११५ रुपैयाँ उठाएको छ । ग्राहक संख्या बांँडिएपछि असुली संख्या पनि घटेको कार्यालय प्रमुख महतोले जानकारी दिए ।

लाइन काटिने बढे
भरतपुर विद्युत् वितरण केन्द्रबाट ग्राहक संख्या विभाजन भए पनि अघिल्लो आवको तुलनमा गत आवमा लाइन काटिने ग्राहकको सख्यामा भने वृद्धि भएको छ । अघिल्लो आवमा केन्द्रले १ हजार ८० ग्राहकको लाइन काटेको थियो । गत आवमा १ हजार ६ सय ५३ ग्राहकको लाइन काटिएको छ । कार्यालयले बक्यौता धेरै हुने, नियमित महशुल भुक्तान नगर्ने ग्राहकको लाइन काट्दै आएको छ । गत आवमा कार्यालय बिल भुक्तानी गरेपछि १ हजार १५० ग्राहकको पुनः जडान गरेको थियो । अघिल्लो आवमा पुनः लाइन जडान गरिएका ग्राहकको संख्या १ हजार ८४ थियो ।

लाइन काटिने ग्राहकबाट अघिल्लो आवमा २९ करोड २६ लाख २८ हजार ८ रुपैयाँ रकम असुली भएको थियो भने गत आवमा यस्ता ग्राहकबाट कार्यालयले ३० करोड २३ लाख ३१ हजार रकम असुली गरेको छ । हाल लाइन काटिएका ग्राहकबाट २ करोड ८९ लाख ५३ हजार ४३५ रुपैयँ बक्यौता रकम छ । ६० दिनभित्र महशुल भुक्तानी नगर्ने अधिकांश ग्राहकको लाइन काटिएकाले अघिल्लो आवमा भन्दा गत आवमा कारबाही संख्या बढेको हो ।

कालोपाटी ग्राहक संख्यामा कमी
अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा कालोपाटीको संख्यामा समेत कमी आएको छ । अघिल्लो आर्थिक वर्षमा २७५ ग्राहक कालोपाटीमा परेका थिए भने गत आवमा यो संख्या २५५ मा झरेको छ । कालोपाटी ग्राहकबाट कार्यालयले गत आवमा १४ लाख १८ हजार ३२ रुपैयाँ असुल गरेको थियो भने गत आवमा त्यस्ता ग्राहकबाट ९ लाख ९८ हजार २७३ रुपैयाँ रकम असुली भएको छ ।  हाल कालोपाटी ग्राहकबाट ७२ लाख ५५ हजार ५२४ रुपैयाँ असुल्न बांँकी छ ।

गत आव कार्यालयले १ अर्ब ७५ करोड ८५ लाख ४१ हजार ४५१ रुपैयाँ (संशोधन बाहेक)को विद्युत् विक्री गरेको जानकारी दिएको छ । अघिल्लो आवमा १ अर्ब ९० करोड ९५ लाख ९४ हजार ३१३ रुपैयाँको विद्युत् विक्री गरेको थियो । कार्यालयले ६ महीनाभन्दा विद्युत् बक्यौता नतिर्ने त्यस्ता ग्राहकलाई कालोपाटी ग्राहकमा राख्ने गरेको छ र सोही अनुसार सम्पर्क गरी बक्यौताका लागि ताकेता गर्ने गर्दछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)