जात्रा पर्व भनेपछि हुरुक्क हुने नेपालीहरूले यो साता गाईजात्रा पर्व धूमधामसँग मनाए । सांस्कृतिक पर्व नै भए पनि केही वर्षयतादेखि गाईजात्रामा अनेक गैरसांस्कृतिक रूप र रौनक थपिएको छ । पहिले गाईजात्रा आफन्त गुमाउँदाको पीडा भुलाउन र मृतकहरूको आत्मा स्वर्ग पुगोस् भनेर मनाइन्थ्यो । अहिले रोग, भोक र शोकले जिउँदै मरेकाहरूको पीडादायी घाउमा नुनचुक छरेर गाईजात्रा मनाइन्छ ।
प्रताप मल्लले शुरू गरेको गाईजात्रा वर्षमा एकपटक आउँछ, आठ दिनसम्म मनाइन्छ र सक्किन्छ । तर नेताहरूको गाईजात्रा हेर्न कुनै अवसर वा तिथिमिति कुर्नै पर्दैन । भृकुटीमण्डपमा लाग्ने जुत्ताचप्पलको मेला जस्तो नेताहरूको गाईजात्रा पनि वर्षैभरि सदाबहार चलि नै रहन्छ ।
परम्परागत गाईजात्रा राजा प्रताप मल्लले शुरू गरेको इतिहास छ । आधुनिक गाईजात्रा भने हाम्रा प्रधानमन्त्रीले । पुरानो गाईजात्रा केवल काठमाडौं उपत्यकामा मनाइन्थ्यो भने अहिलेको गाईजात्रा सदनदेखि सडकसम्म, सिंहदरबारदेखि नयाँ बानेश्वर हुँदै बालकोटसम्म, बालुवाटारदेखि खुमलटार र देशैभरि पुगेको छ ।
पहिले गाईजात्रा दिवंंगत आत्माको चिर शान्तिको कामना गर्दै सडकमा प्रदर्शन गरिन्थ्यो । अहिले आक्रोश व्यक्त गर्न जिउँदाहरूलाई सडकमा नआई नहुने वातावरण बनाउन गाईजात्रा प्रदर्शन गरिन्छ ।
केही वर्षअघि कलाकारहरूले नेताहरूलाई वरिपरि राखेर नेताहरूकै कर्तुतका बारेमा गाईजात्रा स्टेजमा उतार्न थालेका थिए । अहिले त उनीहरू स्टेजबाट हट्न बाध्य भएर युट्युबमा खुम्चिन पुगेका छन् ।
विशेषगरी नेकपाको सरकार आएदेखि गाईजात्रा देखाइहिँड्ने नाम चलेका कलाकारहरूलाई नेताहरूले उछिनेका छन् । यसरी गाईजात्राका स्टेजहरू पूरै ‘सुपर कलाकार’ अर्थात् नेताहरूको पोल्टामा पुगेका छन् र जनसामान्य कलाकारहरू छायाँमा परेका छन् । पहिले कलाकारको गाईजात्राको दर्शक बन्ने नेताहरूले अहिले उल्टै कलाकारलाई आफ्ना अनेक स्वरूपका गाईजात्राको तमासा देखाइरहेका छन् । कलाकार जिल्लाराम !
प्रताप मल्लले शुरू गरेको गाईजात्रा वर्षमा एकपटक आउँछ, आठ दिनसम्म मनाइन्छ र सक्किन्छ । तर नेताहरूको गाईजात्रा हेर्न कुनै अवसर वा तिथिमिति कुर्नै पर्दैन । भृकुटीमण्डपमा लाग्ने जुत्ताचप्पलको मेला जस्तो नेताहरूको गाईजात्रा पनि वर्षैभरि सदाबहार चलि नै रहन्छ । नेताहरूको एउटा गाईजात्राले ल्याएको लहर सेलाउन नपाउँदै लगत्तै अर्को शुरू भैहाल्छ ।
यो गाईजात्रामा नेता मात्र छैनन्, तिनका चेला, चपाटी र झोले कार्यकर्ता समेत सम्मिलित छन् । देशमा वर्षैभरि अनेक प्रकारका गाईजात्रा प्रदर्शन गर्न उनीहरू अभ्यस्त भैसकेका छन् । भागबण्डा, गुटगत दोहोरी प्रतियोगिता, कुर्सी हानाहान, खुट्टा तानातान, तर्क कुतर्क साटासाट, कुण्ठा, प्रतिशोध र आरोपको हिलो छ्यापाछ्याप गरेर उनीहरू जात्रा गर्छन् । गाईजात्रासँगै हिले जात्रा गर्ने परम्परा पनि छ ।
नेताहरूको गाईजात्राको एउटा आफ्नै विशेषता छ । कलाकारको गाईजात्रामा जस्तो शो हेर्न टिकट किन्नुपर्दैन । लोक हँसाउन उनीहरूले निःशुल्क गाईजात्रा देखाउँछन् । प्रायः राष्ट्रियस्तरको उनीहरूको गाईजात्राले कहिलेकाहीँ त छिमेकका प्रच्छन्न निर्देशकका कारण अन्तरराष्ट्रिय चर्चा समेत पाउने गरेको छ । निर्देशक पनि पहिला दक्षिणतिरका बढी हुन्थे, अचेल उत्तरतिरका प्रिय बन्न थालेका छन् ।
के केन्द्र, प्रदेश वा स्थानीय निकाय । सबै प्रकारका सरकार इतर र भितरका सदस्यहरू गाईजात्रा गर्न माहिर ठहरिएका छन् । झन् संघीयता आइसकेपछि त गाईजात्रा मनाउन धेरै नै सहज भएजस्तो देखिन्छ ।
पहिले पहिले ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा भनिन्थ्यो,’ अहिले त ‘कही नभएको गाईजात्रा सरकार’मा भएको छ । अनि सरकारको गाईजात्रा हेर्न कतै जान पनि पर्दैन । तपाईं जहाँ बस्नुहुन्छ त्यहीँबाट यो देख्न सक्नुहुन्छ । टीभी र इन्टरनेटलाई धन्यवाद !
कतिपय अवस्थामा त यो गाईजात्राको मजा लिन आँखाले हेर्नु पनि पर्दैन । अझ विकासको गाईजात्रा त समाचार सुनेर र सडक छामेर पनि सहजै थाहा पाउन सकिन्छ । वर्षायाम, आकाशबाट पानी दर्किरहेको छ, उता सडक धमाधम पिच भइरहेको छ !
किसानका खेत कतै पारिको बाँधले पुरेको छ त कतै धाँजा फाटेको छ । छिमेकीले हाम्रो ताजा चामलसँग कुहिएको पीठो साटेको छ । हरेक ठूला आयोजना र सार्वजनिक पदको रेटिङ छ । खान र ख्वाउन भित्रैदेखि सेटिङ छ । नेता, कर्मचारी मोटाएर टिल्ल छन्, तर नेपाली दर्शक जिल्ल छन् ।
सके आफ्नै कुरा पढाउने, नसके लडाउने । कुरा आर्थिक विकास र समृद्धिको, व्यवहारमा आफ्नै विकास र आफ्नै अहम् वृद्धिको । यतिबेला खोजी पस्ने हो भने मध्य असारमा नेपाल छिरेका सलहको जस्तो जताततै गाईजात्रेहरूको झुण्ड छ ।
सुनको भाउ १ लाख रुपियाँ नाघेछ । आफ्नो भाउ सुनेर सुन आफै छक्क पर्दै होला, जसरी यतिबेला योग्यता र अनुभव नपुगे पनि धमाधम ठूला पदमा नियुक्ति पाउनेहरू चकित पर्दै छन् । हो, यहाँ यस्तै हुन्छ । किनकि यहाँ वर्षैभरि यस्तै गाईजात्रा चलिरहन्छ ।
गाईजात्रा नेपालको मौलिकता हो । मौलिकता मास्नु हुन्न । त्यसैले त राष्ट्रवादी नेताहरू गाईजात्रालाई एक दिने पर्वको साटो यसलाई चिरञ्जीवी बनाउन लागिरहेका छन् ।
अँ, गाईजात्रा मृतकहरूको सम्झनामा मनाइन्छ । नेताहरू पनि मृतकहरूकै सम्झनामा गाईजात्रा मनाइरहेका छन् । ती मृतक शहीद होलान् वा नेताहरूका पिता–पुर्खा वा गुरुहरू । जनताको समृद्धिको चाहना मरिरहेको छ, गरिबीमै जनता मरिरहेका छन् । मुलुकको स्वतन्त्र स्वाभिमान मरिरहेको छ । त्यसैले राष्ट्रवादी नेताहरूले यी सबै मरेका सपनाहरूको सम्झनामा पनि गाईजात्रा मनाइरहेका छन् ।
यो गाईजात्रा कहिले कहाँ गएर टुंगिने हो, थाहा छैन । तर गाईजात्राको असली रूप नेपाली जनताले हरेक क्षेत्रमा देखिरहन पाएका छन् । नेता र सरकार चलाउनेहरूको यो बाह्रमासे गाईजात्रा माथिबाट हेरेर वास्तविक गाईजात्राका प्रवर्तक प्रताप मल्ल के सोच्दै होलान् कुन्नि ?