ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रोजगारी सृजनामा कोरोना प्रभाव :  नयाँ रोजगारीका लागि आवेदन दिने बढे 

२०७७ सावन, २४  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
नारायणगढमा रहेको जबसेन्टर
author avatar सूर्यप्रसाद अधिकारी

साउन २४, चितवन । लामोसमयदेखि कोराना भाइरसको महामारी कायम रहेसँगै विशेष गरी आर्थिक क्षेत्र तहसनहस भएको छ ।  जसकाकारण  यसको प्रत्यक्ष असर श्रम र रोजगारीमा समेत परेको छ ।

अधिकांश होटल, व्यवसायिक प्रतिष्ठान, वित्तीयक्षेत्र, अन्य सानाठूला उद्योगी व्यवसायीले समेत धेरै कर्मचारी कटौती गरेका छन् । कार्यरत  कर्मचारीलाई पनि कतिपय व्यवसायिक संस्थाहरुले आधा तलब दिएर राख्नुपर्ने बाध्यता छ । 

महामारी कायमै रहँदा आजभोलि युवाहरुले नयाँ रोजगार र जागिरका लागि नयाँ स्थान खोज्न थालेका छन् । अघिल्ला वर्षहरुमा रोजगारीका लागि न्यून संख्यामा मानिसहरु आउने गरेपनि हाल चितवनका  रोजगारी दिने तथा परामर्श गर्ने  संस्थाहरुमा नयाँ रोजगारीका लागि दैनिक त्यस्ता मानिसहरुको संख्यामा वृद्धि हुदै गएको सहजकर्ताहरु बताउँछन् । 

नारायणगढको रियल जब लिंकका प्रबन्ध निर्देशक यदु पौडेल दिनहुँ बेरोजगार युवाहरु नयाँ रोजगारीको लागि कार्यालयमा आवेदन दिन आउने गरेको बताउँछन् । ‘पोहोरसम्म फाट्टफुट्ट मान्छे आउँथे’, उनले भने, ‘अहिले दिनमा २५ जनाभन्दा बढी मान्छे जब आवेदन दिन आउँछन् ।’ 

लकडाउनको समयमा  सामाजिक सञ्जाल र फोनबाट उनीहरुको सहजीकरण गरिएको भएपनि लकडाउन खुकुलो भएपछि कार्यालयमा आएर आवेदन दिन आउनेको संख्यामा वृद्धि भएकोे उनले जानकारी दिए । उनका अनुसार उनीहरुको व्यक्तिगत विवरण, अनुभव, क्षमता अनुसार थप तालिम दिएर कामको प्रकृति अनुसार सम्बन्धित संस्थामा सिफारिस गर्ने गरिएको छ । 

चितवन जिल्लामा अघिल्लो वर्षहरुमा औंलामा गन्न सकिन्न यस्ता रोजगार आपूर्तिकर्ता संस्था भएपनि पछिल्लो समय दर्जनौं संस्था खुल्ने क्रम बढ्दो अवस्थमा रहेको छ । त्यस्ता रोजगार सहजकर्ता संस्थाहरुमा सुरक्षाकर्मी, हाउसमेड देखि नर्स, इञ्जिनीयरसम्मले आवेदन दिन आउने गरेको सञ्चालकहरुको भनाइ छ ।

लकडाउनका कारण बैदेशिक रोजगारसमेत ठप्प हुँदा रोजगारका लागि आवदेन  गर्नेहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । सहजकर्ताहरुले विभिन्न निजी तथा अन्य व्यवसायिक संस्थाहरुलाई माग अनुसारको जनशक्ति उपलब्ध गराउने काम गर्दै आएका छन्  । 

भरतपुर महानगरपालिका वडा नम्बर १० मा रहेको् एलङ जब लिंकका सञ्चालक विवेक कार्की लकडाउनपछि रोजगार खोज्ने व्यक्तिहरुको अप्रत्यासित रुपमा बढेको बताउँछन् । 

‘पहिला नयाँ व्यवसायको लागि सटर तथा ठाउँ खोज्दै मानिसहरु आउँथे’, उनले भने, ‘अहिले जबमात्र लगाइदिनु भन्ने मात्र आउँछन् ।’ अहिले आवेदन दिने प्राय :  काम खोज्न आउने र कतिपय त थोरै तलब, पारिश्रमिकमा  काम गर्नसमेत तयार हुने गरेको उनले बताए ।

 लकडाउनका कारण व्यवसायीहरु पनि व्यवसाय धराशयी भएका कारण व्यवसाय छोडेर जागिर खोज्न थालेका छन् ।नारायणगढको पर्फेक्ट जवलिंकका सञ्चालक रमित कुमार श्रेष्ठ लकडाउनका कारण हरेक उद्योगी व्यवसायीले कर्मचारी कटौती गरेको र हालका लागि अन्य क्षेत्रमा लगानी सुरक्षित नभएको कारण पनि जागिर तथा रोजगारतर्फ आकर्षण बढेको बताउँछन् । 

‘हाम्रो काम आवेदनकर्ताको योग्यता, क्षमता, अनुभव हेरेर सम्बन्धित रोजगारकर्ताकोमा सिफारिस गर्दिने हो’, उनले भने, ‘छनौट गर्ने नगर्ने भन्ने कुरा उही कम्पनीको हातमा हुन्छ ।’ 
कतिपय आवेदनकर्ताको योग्यता क्षमता भएपनि अनुभव नभएका कारण आफूहरुले निश्चित समयका लागि तालिम, परामर्श  दिएर उनीहरुको लागि रोजगारको लागि सिफारिस गर्ने गरेको उनले बताए । 

कोरोना भाइरसको महामारीले गर्दा हरेक क्षेत्र अहिले रोक र हेरको अवस्थामा छ । नयांँ उद्योग व्यवसाय शुरु गर्ने अवस्था छ नत, कुनै पुरानो व्यवसाय सहज रुपमा सहज हुन सकेको छ । भरतपुर महानगरपालिकाका वडा नम्बर ७ का प्रतिमा भण्डारी आफू नयाँ व्यवसाय शुरु गर्ने सोचाईमा रहेपनि कोरोना महामारीका कारण हाललाई आफ्नो  योजना रद्ध भएको बताउँछिन् । 

‘अहिले नयाँ व्यवसायमा हात हाल्दा जोखिम देखें, भएका व्यवसाय त नियमित चल्न सकेका छैनन्, बरु जेजति भएपनि जागिर नै ठीक ।’ आफूले अहिलेको लागि सबैभन्दा बढी सुरक्षित  जागिर र रोजगारी नै देखेकोले विभिन्न ठाउँमा आवेदन दिएकाो उनले बताइन् । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)