ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चितवनमा ६ ओटा पुलको निर्माण सम्पन्न, पाँच अलपत्र

२०७७ सावन, २८  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । सडक डिभिजन कार्यालय, भरतपुर अन्तर्गत चितवनमा गत आर्थिक वर्ष २०७६/७७ मा ६ ओटा पुल निर्माण सम्पन्न भएको छ भने उक्त अवधिसम्म पाँचओटा पुलको निर्माण अलपत्र परेको छ । कार्यालयका अनुसार नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत पर्ने दासढुंगा, खानीखोला र मौरीखोलाको पुल निर्माण सम्पन्न भएको छ  । तीन पुलको लागत १३ करोड ९५ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै, ८ करोड ६४ लाख लागतको लोथर चुनियाघाट पुल, १ करोड ८६ लाख लागतको गेंडीखोला पुल र २ करोड रुपैयाँ लागतको डांग्रे खोला पुलको निर्माण सम्पन्न भएको हो । अझै ९ ओटा पुल निर्माणाधीन अवस्थामा रहेको कार्यालयले जानकारी दिएको छ ।

अलपत्र पाँचओटा पुल निर्माण प्राविधिक तथा अन्य समस्याका कारण समयमै नसकिएको कार्यालयले जानकारी दिएको छ । विशेषगरी पुल निर्माण बहुवर्षीय योजनामा पर्ने र यसबीचमा विभिन्न समस्या आउने भएकाले निश्चित समयमा नसकिने कार्यालयका इञ्जिनीयर विजय दराईले जानकारी दिए । ‘डिजाइन, सर्भे तथा पुलको लोकेसन परिवर्तन हुने भएकाले पनि समयमै निर्माण पूरा हुन सक्दैन,’ उनले भने ।  उनका अनुसार एउटा पुलको काम ४ वर्ष र चारओटा पुलको काम २ वर्षदेखि अलपत्र परेको छ । अलपत्र पाँच पुलको बजेट २० करोड ४१ लाख ४६ हजार रूपैयाँ रहेको छ ।

खैरहनी नगरपालिका वडा नं–६, पम्फाखोला पुलको निर्माण कार्य ४ वर्षदेखि अलपत्र परेको छ । पानीको सतह माथि हुँदा पुलको फाउन्डेशनको काम गर्न नसकिएको दराईले बताए । यस पुलको बजेट ३ करोड ७३ लाख ५२ हजार रुपैयाँ रहेको छ ।

पम्फाखोला पुल बनाउन इञ्जिनीयरिङ समीर जेभीसँग २०७३ असार ३० गते सम्झौता भएको थियो । सम्झौता अनुसार शुरूको म्याद २०७५ असार २९ गते सकिएको हो । फाउण्डेशन नै उठाउन नसकिएपछि सडक विभागले पुलको डिजाइन परिवर्तन गर्नुपर्दा समय लागेको दराईले बताए । पुलको नयाँ डिजाइन अझै तयार भएको छैन । तर म्याद भने २०७७ माघ ५ गतेसम्म थप भएको छ ।

राप्ती–६ र १० जोड्ने पम्फाखोला पुल, खैरहनीको कुमरोजस्थित झुवानीघाट पुल, पर्सास्थित मगनी खोला पुल र मजुईस्थित ढुंगेखोला पुलको पनि डिजाइन परिवर्तन गर्नुपर्ने कार्यालयले बताएको छ । इञ्जिनीयर दराईका अनुसार पानीको सतह माथि भएको र माटो नै अर्धतरल भएर खाल्डो पुरिने समस्याले फाउण्डेशन उठाउन सकिएको छैन । यसबाहेक विभागको प्रक्रिया र निर्माण कम्पनीको ढिलाइका कारण पनि समयमै पुल निर्माण काम नसकिएको हो ।

कार्यालयका अनुसार पम्फाखोला पुलको बजेट ३ करोड ५९ लाख ९४ हजार, झुवानीघाट पुलको ६ करोड ४६ लाख ३१ हजार, मगनी खोला पुलको १ करोड ९६ लाख ४१ हजार र ढुंगे खोला पुलको ४ करोड ६५ लाख २८ हजार रुपैयाँ बजेट छ । यी पुल निर्माणको म्याद २०७६ मंसिर १४ गते नै सकिएको हो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)