ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

१ अर्ब लगानीमा अत्याधुनिक कागज उद्योग सञ्चालन

२०७७ सावन, २९  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका–१० स्थित अरुणखोलामा एक अर्ब लगानीमा अत्याधुनिक प्रविधिसहितको कागज उद्योग सञ्चालनमा आएको छ । चितवनका ३ जना र काठमाडौंका १ जना उद्योगीको संयुक्त लगानीमा क्वालिटी पेपर उद्योग सञ्चालनमा आएको हो ।

उद्योगको पूर्वाधार निर्माणको काम २०७५ सालमा शुरू भए पनि उत्पादन शुरू गर्ने गरी हालै सञ्चालनमा ल्याइएको हो । भरतपुर महानगरपालिका–३, बेलचोकमा मुख्य कार्यालय रहेको कागज उद्योगले बुधवार भरतपुरमा पत्रकार सम्मेलन गरी उद्योगबारे जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा उद्योगका प्रबन्ध निर्देशक राजन पियाले भारत, चीन र स्वीडेनबाट ल्याइएका अत्याधुनिक उपकरणमार्फत पुराना कागजलाई प्रशोधन गरी प्याकेजिङमा प्रयोग हुने नयाँ कागज (क्राफ्ट पेपर) उत्पादन गरिएको जानकारी दिए । ‘हामीले अहिले ठूला ठूला उद्योगका लागि चाहिने प्याकेजिङ ब्राउन कागज उत्पादन गर्दैछौं’, उनले भने, ‘अहिले उत्पादनको परीक्षण गरिएको छ । एक साताभित्र बजारमा उत्पादन ल्याउने छौं ।

उनका अनुसार हाल प्याकेजिङ पेपर उत्पादन गरिए पनि निकट भविष्यमा सेतो कागज र प्रिन्टिङ कागज पनि उत्पादन गरिने छ । हाल ६० प्रतिशत प्याकेजिङ कागज भारतबाट ल्याउनु परेको भन्दै उनले आयात प्रतिस्थापनका लागि उद्योगले टेवा पु¥याउने उनको भनाइ छ । ‘अहिलेको समयमा पनि मासिक १ हजार टन प्याकेजिङ पेपर आयात हुन्छ । हाम्रो उद्योगको दैनिक उत्पादन क्षमता १२० टन छ’, उनले भने ।

कम्पनीका बजार निर्देशक रूपक श्रेष्ठले नेपालमा खेर जाने पत्रु कागजको पुनः प्रशोधन गरी प्रयोगमा ल्याउन र नेपालका उद्योगी व्यवसायीलाई आयात गर्नुपर्ने बाध्यताबाट हटाउन उद्योगले मद्दत पुग्ने बताए । ‘भारतबाट पेपर मगाउन एकैपटक धेरै अर्डर गर्नु पर्ने हुन्छ’, उनले भने, ‘हामीले खुद्रा तथा होम डेलिभरी गर्ने गरी सुविधा दिने छौं ।’

उनका अनुसार नेपालमा पत्रु कागज सस्तो मूल्यमा विदेश निर्यात हुने गरेको र विदेशबाट क्राफ्ट पेपर पुनः महँगो मूल्यमा स्वदेश आयात हुने गरेकाले उद्योगको उत्पादनसँगै केही हदसम्म यहाँका उद्योग व्यवसायीलाई राहत पुग्ने छ ।

बजार निर्देशक श्रेष्ठले क्राफ्ट पेपरबाहेक यस उद्योगबाट ४ महीनापछि सेतो कागज र न्यूजप्रिन्ट दैनिक ७० टन उत्पादन गर्ने लक्ष्य लिइएको जानकारी दिए । अहिलेलाई माग अनुसार रोल र सिट दुवै खाले क्राफ्ट पेपर उत्पादन शुरू गरिएको छ । ‘उद्योग सञ्चालनमा आएपछि अब पत्रु कागज निर्यात र क्राप्mट पेपरको आयात केही हदसम्म कम हुन्छ ।’ श्रेष्ठले भने । हाल उद्योगले १५० जनालाई रोजगारी दिएको बताएको छ ।

यो सँगै नेपालमा क्राफ्ट पेपर उत्पादन गर्ने उद्योगको संख्या ५ ओटा पुगेका छन् । तीमध्ये भैरहवामा रहेको एउटा कागज उद्योग हाल बन्द अवस्थामा छ । विराटनगरमा दुई र वीरगञ्जमा एउटा उद्योग सञ्चालनमा छन् ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)