ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोरोनाको प्रभाव सवारीसाधनमा : सार्वजनिक चढ्ने घटे, निजी चढ्ने बढे 

२०७७ सावन, २९  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

साउन २९, चितवन । चितवनमा लकडाउन खुकुलो भएपनि सार्वजनिक सवारीसाधन चढ्ने यात्रुको संख्यामा कमी आएको छ । 

यसको सट्टा निजी सवारीसाधनको विक्रीका साथै चढ्नेको संख्यामा समेत वृद्धि भएको छ । लकडाउन अघि विभिन्न सरकारी तथा निजी कार्यालय, बजार जाँदा सार्वजनिक यातायातमा यात्रा गर्ने मानिसहरु अहिले साइकल, मोटरसाइकल तथा निजी गाडीमा यात्रा गर्ने गरेको पाइएको छ । 

कोरोनाको त्रासका कारण मानिसमा सचेतना बढ्दै गएपछि सार्वजनिक यातायात चढ्ने घटेका हुन् भने सार्वजनिक यातायातको तुलनामा निजी सवारीसाधनमा कोरोनाको जोखिम कम भएकोले पनि निजी सवारी साधन चढ्ने बढेका हुन् । 

नारायणगढमा किराना पसल चलाउँदै आएका भरतपुर महानगरपालिका वडा नम्बर १६ मंगलपुरका रविन पाण्डे कोरोना भाइरसको जोखिमकै कारण आफूले सार्वजनिक यातायात चढ्न छोडेको बताउँछन् । ‘पहिले त टेम्पो म्याजिकमा चढेर सजिलै पसल आउँथे, उनले भने, अहिले त सार्वजनिक यातायात चढ्नै डर लाग्छ ।’ जसका कारण आफूले लकडाउन खुकुलो भएपछि स्कुटर खरीद गरेको बताए । 

सार्वजनिक यातायातमा विभिन्न स्थानबाट यात्रुहरु चढ्ने र कतिपयमा न्यूनतम स्वास्थ्य सुरक्षा मापदण्ड समेत नअपनाइएको कारण स्कुटर खरीद गर्नु परेको उनको भनाइ छ । 

कोरोना महामारीको कारण थप निजी सवारीसाधन प्रयोग गर्ने बढेका हुन् । चितवनका बजारमा मोटरसाइकल, कार शोरुम तथा रिकण्डीशन पसलहरुमा पनि ग्राहकको भीड देख्न सकिन्छ । आफ्नो क्रय क्षमता र आवश्यकता अनुसार नयाँ तथा पुराना सवारीसाधन किन्ने मानिसहरु बढेका छन्  । 

चितवनमा निजी सवारीको प्रयोग बढ्दै गएपछि दुईपांग्रे र चारपांग्रे सवारी विक्री गर्ने शोरुम र रिकण्डीसन पसल खुल्ने क्रम पनि बढ्दो छ । 

भरतपुर ओरालोमा रहेको होन्डा शोरुमका लेखा अधिकृत दिल्ली राम सापकोटा लकडाउन खुकुलो भएसँगै स्कुटर र मोटरसाइकल खरीद गर्ने ग्राहकहरु बढेको बताउँछन् । उनका अनुसार शोरुममा लकडाउन अघिभन्दा खुकुलो भएपछि ३० देखि ४० प्रतिशतसम्म विक्री बढेको छ । ‘लकडाउन हुनुभन्दा अघि महीनाको १३० ओटासम्म बाईक स्कुटर विक्री हुन्थ्यो उनले भने, अहिले महीनामा १७० ओटासम्म विक्री भएको छ ।’ 

मोटरसाइकल र स्कुटर किन्ने अधिकांश दैनिक कार्यालय जाने, व्यवसाय गर्ने र व्यवसायको बजारीकरण गर्ने ग्राहक आउने गरेको उनले बताए । 

पूर्वी चितवनको पर्सामा रहेको कालिका अटो रिकण्डीसनका सञ्चालक सुरज प्रसाद नेपालले दुईपांग्रे र चारपांग्रे सवारी किन्ने र सोध्न आउने ग्राहक बढेको बताउँछन् । ‘रिकण्डीशन भनेपनि लिने सुविधा उही हो, उनले भने, नयाँको भन्दा पुरानो साधन धेरै सस्तो पनि पर्छ ।’

सार्वजनिक यातायात चढ्ने घटे 
नारायणगढको लीला चोक बस्दै आएका चन्द्र बहादुर गुरुङले भरतपुर-नारायणगढ रिङ रोडमा म्याजिक चलाउने गर्छन् । हाल सार्वजनिक ठूला सवारी साधन नचलेपनि उनको सानो म्याजिक बसमा समेत यात्रुको संख्या निकै कमी छ । लकडाउन अघि यात्रुको भीडभाड भएपनि कोरोनाको कारण हाल यात्रुको संख्यामा निकै कम भएको चालक गुरुङ बताउँछन् । ‘पहिला दैनिक ५ हजारसम्म भाडा उठ्थ्यो । अहिले १ हजार पनि मुश्किलले उठ्छ । यति पैसाले साहुलाई दिनेकी तेल हाल्ने ? उनले गुनासो गरे । 

लामो समय पछि लकडाउन खुलेपनि खुशीभन्दा कमाइ नहुँदा निराश भएको उनले बताए । उनका अनुसार भाडा दोब्बर बनाउँदा पनि कमाइ कम र यात्रुहरु समेत चढ्न नमानेको उनको भनाइ छ । 

भरतपुर महानगरपालिका वडा नम्बर १० हाकिम चोक बस्ने अर्का चालक छवी गुरुङको पनि गुनासो उस्तै छ । ‘मान्छे अहिले बस चढ्नै डराउँछन्, खाली छ आउनुहोस् भन्दा पनि मान्दैनन् । उनले भने, कहिले त दिनभर रित्तै कुदाउनु परेको छ ।’ 

कोरोनाको प्रभाव साना बसमा मात्र होइन तीनपांग्रे सवारीमा समेत परेको छ । सडक बजारमा मानिसको चहलपहल बढेपनि सवारीसाधन चढ्नेको संख्या निकै कमी छ । ‘पहिले मान्छे अटो देख्ने वित्तिकै चढ्न खोज्थे अहिले त बरु हिड्न खोज्छन् । उनले भने, सस्तोमा लैजान्छु भन्दा पनि मान्दैनन् ।’ अटोमा एक जना यात्रु देखेपछि अन्य यात्रु चढ्न डराउने गरेको उनले बताए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)