ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

देश विकास जारी छ

२०७७ सावन, ३०  
तीतो मीठो
Aarthik Abhiyan 18th Anniversary
author avatar मदन लम्साल

सडकहरू खनेर छाडिएका छन् । ठाउँठाउँमा बिजुलीका खम्बाहरू पनि सीधा हो वा लडेको ठम्याउन मुश्किल छ । शायद शहरमा राति चोरहरू तर्सिऊन् भनेर होला, बिजुलीका तारहरू एकैठाँउमा गुजुल्ट्याएर भूतजस्तै देखिनेगरी छाडिएका छन् । टोल टोलमा बत्ती झ्याप्प जाने र आउने क्रम चलिरहन्छ ।

बहुदलमा त मूल पनि फुटेको छ ढल पनि फुटेको छ । देख्नुभएन सडकमै नदी बगेको ? कति ‘ह्वाइट वाटर र्‍याफ्टिङ’, अब पर्यटकलाई ल्याएर ‘ब्ल्याक वाटर र्‍याफ्टिङ’ पनि गराउनुपर्छ ।

महीनौंदेखि ढलको सफाइजस्तो पनि चलिरहेको छ । ढलभन्दा धेरै टाढा घर भएकाहरूले पनि ढलको विकास भइरहेको नाकले नै थाहा पाई नै रहेका छन् । यता भर्खरै बनिरहेको पिचमा उताबाट अर्कोले पानीको धाराको पाइप बिच्छ्याउन खन्ने उपक्रम पनि चलाइरहेको छ । सरकारी निरीक्षकहरू पनि बेला बेलामा सडकतिर झुल्किरहेका देखिन्छन् । यसको मतलव टोल टोलको विकास जारी छ है !

हुन पनि विकास एक निरन्तर जारी रहने प्रक्रिया हो । यसका लागि बनाउनु र बिगार्नु त परिरहन्छ । विध्वंश नभई विकास हुँदैन भन्ने सिद्धान्तका अगुवाले चलाएको देशमा सडक भत्किएको देख्नु तर विकास भएको नदेख्नु पूर्वाग्रह हो !

सडक किनारमा धेरै दिनसम्म फोहोर थुप्रिन्छन् । महानगरपालिकाले सफा गरिहाल्ने काम गर्दैन । अनि सडकको फोहोर नालीमा पुग्छ । पछि नालीको सफाइ गरेर हामी समाजको विकास पनि गरिनै रहेका छौं । केही वर्षयता त सरकारले कौशी खेतीको प्रवद्र्धनमा जोड दिएको छ । कौशी खेती गर्न मल चाहिन्छ र प्रत्येक वर्ष अभाव भइरहने मलका लागि नालीमा एक–दुई वर्ष फोहोर जम्मा पारेर उत्तम मल बनाउनुकोे विकल्प पनि त छैन हामीसँग ।

मल भएपछि शहरका बगैंचामा हरियाली र जिन्दगीको गुणस्तरमा समेत सुधार आउँछ । तर नाली साँच्चै सफा गर्ने हो भने त विकास नै अवरुद्ध हुन पुग्छ । ठेकेदारहरूले काम पाउँदैनन् र कर्मचारीहरूले समेत रोजगारी गुमाउँछन् । अनि बेरोजगारी बढेर देशको आर्थिक विकासमै प्रतिकूल प्रभाव पर्छ ।

वास्तवमा फोहोर थुप्रिनु, धेरै समयपछि सफा गर्नु र फेरि फोहोरले सडक भरिन दिनु राष्ट्रिय हित र विकासको एक अनिवार्य प्रक्रिया हो । फोहोर उठाउन रोकिनु कसैका नाकका लागि केही समय असुविधा हुन सक्छ । तर देश विकासको हितका लागि व्यक्तिगत स्वार्थ त्याग्न त सधैं तयार हुनैपर्छ नि !

त्यस्तै बारम्बार सडक खनिनु पनि विकासको लोकमार्ग बन्नकै लागि हो । बिजुलीका कुरा पनि त्यै हो । बिजुली हुन्जेल खम्बा हुँदैन । खम्बा बन्छ फेरि बिजुली बेपत्ता हुन्छ । कहिले खम्बा र  बिजुली दुवै हुन्छन्, तर तार गायब हुन्छ । यो यस्तै हो, ‘कहिले घाम कहिले पानी, जिन्दगानी’ भनेजस्तो । पानीको समस्या त के नै हो र ? पानी त बोतल वा जारमा किन्न जत्ति पनि पाइन्छ । नत्र घरमै ट्युबवेल राखे वा इनार खने भैहाल्छ ।

वास्तवमा देशमा बहुदलको हावा छिरेसँगै विकासको गति पनि तीव्र भएको छ र पूरै देशभरि फैलिरहेको छ । पञ्चायतमा ‘विकासको मूल फुटाऊ’ भन्ने गीत थियो, बहुदलमा त मूल पनि फुटेको छ ढल पनि फुटेको छ । देख्नुभएन सडकमै नदी बगेको ? कति ‘ह्वाइट वाटर र्‍याफ्टिङ’, अब पर्यटकलाई ल्याएर ‘ब्ल्याक वाटर र्‍याफ्टिङ’ पनि गराउनुपर्छ ।

ठेकेदार, नेता, सरकारी कर्मचारी, प्रहरी सबै विकासको पहरेदार भइसकेका छन् । विकासका लागि ती जे पनि गर्छन् । त्यै भएर विकासको राजपथ ठेकेदार, नेता र कर्मचारीका घरकै बाटो हुँदै अगाडि बढिरहेको छ । बहुदलीय प्रजातन्त्रको ३० वर्षको समय भनेको त आँखाको परेला झिम्क्याउने र खोल्ने भन्या जस्तै मात्र न हो ! नेपाल जस्तो भूपरिवेष्ठित देशले ३० वर्षमा हाई मात्र काढ्यो भने पनि ठूलै कुरा हो !

त्यसमा पनि कहिले जनयुद्धको नाममा भएको धनयुद्ध त कहिले जुँगा र नाकहरूको लडाइँले अवरोध गरिरहन्छन् । तर पनि हामीलाई सन्तोष र गर्वको कुरा यो छ कि यी सबै व्यवधान हुँदाहुँदै पनि देशमा निरन्तर विकासको गति बढी नै रहेको छ । कुनै बेला विकास साइकलबाट हुन्थ्यो । पछि यो जीप र कारबाट हुन थाल्यो । अब विकास कारबाट होइन, सरकारबाट भइरहेको छ । अहिले त प्रत्येक प्रान्तका मन्त्री, मुख्यमन्त्रीहरू विकास अब हेलिकोप्टरबाट गर्न तयार भइसकेका छन् ।

यसरी विकास गर्न सरकार कटिबछ, प्रतिबद्ध र लामबद्ध देखिएको छ । हजाराैं स्कुल, पुल, शौचालय र सडकहरू बनेका छन् र फेरि ढलेका छन् । सरकार महामारीलाई किनारमा राखेर भए पनि ‘विकास’ कार्यमा लिप्त छ ।

अब केवल जनतामा अलिकति धैर्यको आवश्यकता छ । विकास माथिबाट तल तल आइरहेको छ । प्रत्येक स्तरका सरकारमा त आई नै सकेको छ । त्यसैले मित्रहरू, चिन्ता नलिनोस् है ! अब विकास जनस्तरसम्म पनि आई नै हाल्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)