ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बैंकर्स भन्छन् : तरलता बढ्यो, ब्याजदर घटाउनुको विकल्प छैन

२०७७ सावन, ३१  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

साउन ३१, चितवन । लकडाउनका कारण हरेक आर्थिक क्षेत्र सुस्ताएसँगै बैंकमा तरलता बढ्दै गएको छ । जसका कारण एकातिर बैंकहरुलाई निक्षेपको ब्याज तिर्न सकस छ भने अर्कोतिर जम्मा भएको पैसा लगानी गर्न पाएका छैनन् ।

बैंकहरुमा तरलता बढ्दै जाँदा बैंकहरुले चालूखर्च धान्न र बैंकलाई घाटा हुन नदिन निक्षेपकर्ताको ब्याज घटाउने तयारी गरेका छन् । राष्ट्रिय वाणिज्य वैंक भरतपुर शाखाका प्रमुख ईश्वरी न्यौपाने लकडाउनका कारण अघिल्लो आर्थिक वर्ष(२०७५/ ०७६) कोभन्दा २०७६/ ०७७ मा २२ प्रतिशत बढी तरलता बढेको बताउँछन् । ‘लकडाउनपछि रकम जम्मा गर्ने बरु बढेका छन्’, उनले भने, ‘लगानी गर्न खासै ऋणी इच्छुक छैनन् ।’

उनका अनुसार हाल नयाँ ऋणीलाई भन्दा पुरानै ऋणीका लागि बैंकले लगानी बढाउँदै लगेको न्यौपानेले  बताए । गत महीना लकडाउन खुकुलो हुँदा केही नयाँ व्यवसायी र ऋणी आएपनि पछिल्लो समय कोभिड–१९को प्रभाव बढ्दै गएपछि नयाँ लगानी ठप्प भएको उनको भनाइ छ । ‘डिपोजिट भएपछि ब्याज दिनै पर्‍यो’, उनले भने, ‘निक्षेपको ब्याज नघटाई सन्तुलन ल्याउन सकिदैंन ।’ 

तरलता बढ्दै जाँदा एकातिर बैंकले लगानी गर्न पाएका छैनन् भने अर्कोतिर निक्षेपको व्याज तिर्नुपर्ने बाध्यता त छँदैछ । जसका कारण बिशेष गरी वाणिज्य बैंकहरुमा राम्रा ऋणीहरुलाई आफूतिर तान्न प्रतिस्पर्धानै शुरु भएको छ ।

विभिन्न योजना तथा छूट दिएर पनि बैंकहरुले लगानी गर्न उद्योगी व्यवसायीलाई प्रोत्साहित गरेका छन् ।  कामना विकास बैंकका क्षेत्रिय प्रबन्धक सुरेन्द्र भण्डारी  अघिल्ला वर्षभन्दा गतवर्ष तरलता ह्वात्तै बढेको बताउँछन् । पछिल्लो समय लगानीमा केही सुधारको संकेत देखिएपनि कोरोनाको थप प्रभाव बढेपछि अन्यौलता थपिएको उनले बताए ।

‘अघिल्लो वर्षभन्दा अहिले झण्डै रू.५ अर्ब तरलता बढेको छ’, उनले भने, ‘त्यसैले संक्रमण बढेपछि त हामीपनि अन्यौलमा छौं, व्यवसायी पनि  अन्यौलमा छन् ।’

 तरलता बढ्दा ऋणप्रवाहमा पनि ब्याजदर घटाएर लगानी आकर्षित गर्ने  र निक्षेपकर्ताको पनि ब्याज घटाएर सन्तुलनमा ल्याउनु पर्ने भण्डारीको भनाइ छ  । हाल कामना विकास बैंकले असलऋणीलाई जरिवाना तथा ब्याज छूट लगायत विना धितो ऋण दिनेजस्ता  सुविधा दिएर आकर्षण गरेको उनले बताए ।  

लकडाउनका कारण चलेका कतिपय व्यवसायसमेत घाटा भएपछि बन्द भएका तथा नयाँ व्यवसायमा लगानीसमेत ठप्प भएको छ । यहाँका अधिकांश वाणिज्य बैंकहरुले पुराना ऋणीलाई थप लगानी गर्दै अन्य साना–साना व्यवसायीलाई थोरै मात्रामा लगानी गरेका छन् ।

‘बरु ठूला व्यवसायमा अहिले लगानी गर्न जोखिम पनि छ’, एनएमबि बैंक नारायणगढ  शाखा प्रबन्धक विवेक अधिकारीले भने, ‘साना– साना दैनिक उपभोग्य सामान र कृषि क्षेत्रमा  लगानी गर्दा जोखिम कम छ ।’ तरलता बढेपछि निक्षेपलाई निरुत्साहित गर्ने लगानीलाई प्रोत्साहित गर्नुपर्ने भन्दै उनले  आफूहरु पर्ख र हेरको अवस्थामा रहेकोे बताए ।

 बैंकहरुमा लगानीको वातावरण नभएपछि कतिपय बैंकहरुले खर्च तथा कर्मचारी कटौतिसमेत गर्न थालेका छन् । कोरोनोका कारण हरेक क्षेत्रमाा असर परिरहेका बेला हाल भने केही संभावना र झिनो आशाका रुपमा कृषि क्षेत्रलाई हेर्न थालिएको छ ।

अन्य पेशा तथा व्यवसायमा लागेका व्यवसायीहरु तथा बिदेशबाट फर्कने युवाहरु पनि कृषि क्षेत्रमा विकल्पको रुपमा सक्रिय हुन थालेका छन् । बिशेषगरी कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर ऋण प्रवाह गर्ने कृषि विकास बैंकले भने खासै तरलता नबढेको बताएको छ । 

भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित हाकिम चोकमा रहेको कृषि विकास बैंकका शाखा प्रमुख दिनेशबाबु नेपाल लकडाउनका कारण तरलतामा खासै प्रभाव नपरेको बताउँछन् । उनले भने, ‘अन्य क्षेत्रका ऋणी घटेका छन्, कृषि क्षेत्रको त अहिले बढेको छ ।’

लकडाउनका कारण अझैपनि मानिसमा त्रास, जोखिम रहेकोले अपेक्षित रुपमा लगानीकर्ता आउन नसकेको उनले बताए । उनका अनुसार कृषि विकास बैंकमा समग्रमा ऋणीको संख्यामा कमी आएपनि लगानी अनुपात भने कमी  भएको छैन । 

तरलता बढ्दा बैंकहरुको लगानी अनुत्पादक क्षेत्र र असुरक्षित क्षेत्रमा लगानी जान सक्ने हुँदा यसलाई सन्तुलनमा ल्याउनु पर्ने बैंकर्सहरुको धारणा छ । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)