ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

निक्षेपमा ब्याजदर घटाउने तयारी

२०७७ भदौ, १  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । लकडाउनका कारण हरेक आर्थिक क्षेत्र सुस्ताएसँगै बैंकहरूमा तरलता बढ्दै गएको छ । यसबाट बैंकहरूलाई निक्षेपको ब्याज तिर्न र जम्मा भएको पैसा लगानी गर्न सकस परिरहेको छ । बैंकहरूमा तरलता बढ्दै जाँदा बैंकहरूले चालू खर्च धान्न र बैंकलाई घाटा हुन नदिन निक्षेपकर्ताको ब्याज घटाउने तयारी गरेका छन् ।

लकडाउनका कारण अघिल्लो आर्थिक वर्षको भन्दा २०७६÷७७ मा २२ प्रतिशत बढी तरलता बढेको बताउँछन् राष्ट्रिय वाणिज्य बैंक भरतपुर शाखाका प्रमुख ईश्वरी न्यौपाने । लकडाउनपछि रकम जम्मा गर्नेहरू बढे पनि ऋण लिनहरू घटेको उनको भनाइ छ । हाल नयाँ ऋणीलाई भन्दा पुरानै ऋणीका लागि बैंकले लगानी बढाउँदै लगेको न्यौपानेले बताए ।

गत महीना लकडाउन खुकुलो हुँदा केही नयाँ व्यवसायी र ऋणी आए पनि पछिल्लो समय कोभिड–१९ को प्रभाव बढ्दै गएपछि नयाँ लगानी ठप्प भएको न्यौपानेको भनाइ छ । ‘डिपोजिट भएपछि ब्याज दिनै प¥यो’, उनले भने, ‘निक्षेपको ब्याज नघटाई सन्तुलन ल्याउन सकिँदैन ।’

तरलता बढ्दै जाँदा एकातिर बैंकले लगानी गर्न पाएका छैनन् त अर्कोतर्फ निक्षेपको ब्याज तिर्नु पर्ने बाध्यता छँदैछ । यसले विशेष गरी कमर्सियल बैंकहरूमा राम्रा ऋणीहरूलाई आफूतिर तान्न प्रतिस्पर्धा नै देखिएको छ । विभिन्न योजना ल्याउँदै छूट दिएर पनि बैंकहरूले लगानी गर्न उद्योगी व्यवसायीलाई प्रोत्साहित गरिरहेका छन् ।

यस्तै अघिल्ला वर्षहरू भन्दा गत वर्ष तरलता ह्वात्तै बढेको बताउँछन् कामना विकास बैंकका क्षेत्रीय प्रबन्धक सुरेन्द्र भण्डारी । पछिल्लो समय लगानीमा केही सुधारको संकेत देखिए पनि कोरोनाको थप प्रभाव बढेपछि अन्याल थपिएको उनले बताए । ‘अघिल्लो वर्षभन्दा अहिले झण्डै रू. ५ अर्ब तरलता बढेको छ’, उनले भने, ‘त्यसैले संक्रमण बढेपछि त हामी पनि अन्योलमा छौं, व्यवसायी पनि अन्योलमा छन ।’

तरलता बढ्दा ऋणप्रवाहमा पनि ब्याजदर घटाएर लगानी आकर्षित गर्ने र निक्षेपकर्ताको पनि ब्याज घटाएर सन्तुलनमा ल्याउनु पर्ने भण्डारीको तर्क छ । हाल कामना सेवा विकास बैंकले असल ऋणीलाई जरीवाना, ब्याज छूटलगायत विनाधितो ऋण दिइने जस्ता सुविधा दिएर आकर्षण गरेको भण्डारीले बताए ।

लकडाउनका कारण चलेका कतिपय व्यवसाय समेत घाटा तथा बन्द गर्न परेको तथा नयाँ व्यवसायमा लगानी ठप्प भएको छ । अधिकांश कमर्सियल बैंकहरूले पुराना ऋणीलाई थप लगानी गर्दै अन्य साना–साना व्यवसायीलाई थोरै मात्रामा लगानी गरेका छन् ।

‘ठूला व्यवसायमा अहिले लगानी गर्न जोखिम पनि छ’, एनएमबी बैंक नारायणगढ शाखा प्रबन्धक विवेक अधिकारी भने, ‘साना–साना दैनिक उपभोग्य सामान र कृषि क्षेत्रमा लगानी गर्दा जोखिम कम छ ।’ तरलता बढेपछि निक्षेपलाई निरुत्साहित र लगानीलाई प्रोत्साहित गर्नु पर्ने भन्दै उनले आफूहरू पर्ख र हेरको अवस्थामा रहेकोे बताए ।
लगानीको वातावरण नभएपछि कतिपय बैंकहरूले खर्च तथा कर्मचारी कटौती समेत गर्न थालेका छन् । कोरोनाका कारण हरेक क्षेत्र ध्वस्त भइरहेको बेला कृषि क्षेत्रलाई भने केही सम्भावनाका रूपमा हेरिन थालेको छ ।

अन्य क्षेत्रमा लागेका अधिकांश व्यवसायी तथा विदेशबाट फर्कने युवाहरू पनि कृषि कर्मलाई विकल्पको रूपमा लिन थालेका छन् । विशेषगरी कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर ऋण प्रवाह गर्ने कृषि विकास बैंकले भने खासै तरलता नबढेको बताएको छ ।

भरतपुर महानगरपालिका–१० हाकिमचोकस्थित कृषि विकास बैंकका शाखा प्रमुख दिनेशबाबु नेपाल लकडाउनका कारण तरलतामा खासै प्रभाव नपरेको बताउँछन् । ‘अन्य क्षेत्रका ऋणी घटेका छन् । कृषि क्षेत्रको त अहिले बढेको छ । लकडाउनका कारण अझै पनि मानिसमा त्रासको मानसिकता रहेकाले अपेक्षित रूपमा लगानीकर्ता आउन सकेका छैनन्’, उनले भने ।

उनका अनुसार कृषि विकास बैंकमा समग्रमा ऋणीको संख्यामा कमी आए पनि लगानी अनुपातमा भने कमी आएको छैन । तरलता बढ्दा बैंकहरूको लगानी अनुत्पादक क्षेत्र र असुरक्षित क्षेत्रमा लगानी जान सक्ने हुँदा यसलाई सन्तुलनमा ल्याउनु पर्ने बैंकर्सहरूको धारणा छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)