ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रामपुर विश्वविद्यालय नेतृत्वविहीन, अन्योलमा विद्यार्थी

२०७७ भदौ, १  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

भदौ १, चितवन । चितवनको रामपुर कृषि तथा वन विश्वविद्यालय  यतिबेला नेतृत्वविहीन छ । विश्वविद्यालयमा गतवर्षदेखि उपकुलपति पद रिक्त छ । उक्त पदमा निमित्त उपकुलपतिमा डा. शारदा थपलियालाई नियुक्त गरिएको थियो । तर रजिष्ट्रार, डीन, सहायक डीन र विश्वविद्यालय सेवा आयोग अध्यक्ष  लगायत पद समेत रिक्त छन् ।

विश्वविद्यालयका सबैजसो विभाग नेतृत्वविहीन हुँदा एकातिर विद्यार्थीको शिक्षण गतिविधि ठप्प भएको छ भने विश्वविद्यालयका आर्थिक, प्रशासन तथा प्राज्ञिक प्रगति पनि रोकिएका छन् ।

विश्वविद्यालयका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुका सभापति सन्तोष खतिवडा उपकुलपति लगायत अन्य विशिष्ट पद रिक्त हुँदा पढाइ, परीक्षा तथा अन्य गतिविधि प्रभावित भएको बताउँछन् । ‘लकडाउन अघिदेखि नै पढाइ नियमित थिएन,’ उनले भने, ‘त्यसपछि त झनै ठप्प छ ।’ कोरोना प्रभावका कारण अन्य विश्वविद्यालयमा नियमित अनलाइन कक्षा भए पनि यहाँ शुरुआत नै हुन नसकेको उनले बताए ।

उनका अनुसार विश्वविद्यालयका आर्थिक, शैक्षिक गतिविधि लगायत अन्य पूर्वाधारका काम अवरुद्ध बनेका छन् । विश्वविद्यालयमा यसअघि पनि नेतृत्व, पदाधिकारी चयन, कर्मचारी भर्नाका विषयमा बन्द हड्ताल हुने गर्दथ्यो । कृषि संकायमा सबैभन्दा बढी आकर्षण मानिएको यो विश्वविद्यालय पछिल्ला दिनमा नाजुक बन्दै गएको छ । 

नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघका सभापति दिपेश बानियाँ उपकुलपति नियुक्तिको विषयमा विद्यार्थीले पटकपटक दबाब दिनुका साथै आन्दोलन नै गरिए पनि हालसम्म नियुक्त हुन नसकेको बताउँछने् । ‘एक वर्षयता विश्वविद्यालय निमित्त उपकुलपतिको भरमा छ,’ उनले भने, ‘यसले गर्दा विद्यार्थी शैक्षिक भविष्य नै अन्योलमा परेको छ ।’ विश्वविद्यालयले  करीब २ वर्षदेखि भेटेरिनरी संकायको परीक्षा गर्न सकेको छैन भने अन्य संकाय र तहका विद्यार्थीको परीक्षा, भर्ना प्रक्रिया र प्रवेश परीक्षा पनि पर धकेलिएका छन् । 

विद्यार्थी नेताका अनुसार राजनीतिक भागबण्डा, खिचातानीका कारण हालसम्म उपकुलपति नियुक्त हुन नसकेको हो । सरकारले महत्व नदिएकाले पनि विश्वविद्यालय नेतृत्वविहीन बन्न पुगेको उनको बुझाइ छ । हाल विश्वविद्यालयमा ७ ओटा पदमध्ये ६ ओटा रिक्त छन् । विश्वविद्यालयका अनुसार गत भदौदेखि उपकुलपति पद, गत माघदेखि रजिष्ट्रार, गत जेठदेखि कृषि र भेटेरिनरी संकायका तीनजना डीनका साथै साउन अन्तिमदेखि सेवा आयोगका अध्यक्षको पदावधि सकिएको हो । 

उपकुलपति र सेवा आयोगका अध्यक्ष शिक्षा मन्त्रालयको  सिफारिशमा प्रधानमन्त्रीबाट नियुक्त हुने गर्छ भने रजिष्ट्रारको नियुक्ति उपकुलपतिको सिफारिशमा प्रधानमन्त्रीले गर्ने प्रावधान छ । यस्तै डीन तथा सहायक डीनको नियुक्ति विश्वविद्यालयको कार्यकारी परिषद्ले गर्दछ ।

विश्वविद्यालयका पूर्वरजिष्ट्रार डा. सूर्यकान्त घिमिरे लामो समयसम्म विश्वविद्यालयका मुख्य पदहरू खाली हुँदा शैक्षिक कार्यक्रम र अन्य गतिविधि प्रभावित भएको बताउँछन् । विश्वविद्यालयलाई राजनीतिक अखडा र भर्तीकेन्द्र बनाउँदा यस्तो समस्या आएको उनको तर्क छ ।

महत्वपूर्ण पदहरू रिक्त हुँदा आर्थिक अनियमितता बढ्ने, शिक्षाको गुणस्तर खस्कने र मनोमानी ढंगले प्रशासन चल्ने उनले औंल्याए । विश्वविद्यालय जस्तो स्वतन्त्र निकायमा भएको अनिर्णयको मारमा आम विद्यार्थी र अभिभावक परेका छन् ।

अहिले विश्वविद्यालयको सम्पूर्ण जिम्मेवारी र दायित्व आफ्नो मात्र काँधमा आइपरेको बताउँछिन् निमित्त उपकुलपति डा.  थपलिया । ‘रजिष्ट्रार नहुँदा आर्थिक प्रशासनको काम ठप्प भएको छ,’ उनले भनिन्, ‘अन्य पदाधिकारी समेत नहुँदा पठनपाठमा समेत गम्भीर असर परेको छ ।’

उपकुलपति नियुक्त नहुँदा आफूले महत्वपूर्ण निर्णय गर्न नपाएको र विद्यालयको वार्षिक सभापनि गर्न नसकिएको उनको भनाइ छ । ‘जिम्मेवारी, दायित्व मेरो टाउकोमा छ,’ उनले भनिन्, ‘तर निर्णय गर्ने अधिकार छैन । अन्योलमा छौं ।’ हाल यस विश्वविद्यालयमा स्नातक, स्नाकोत्तरका कृषि, वन, भेटेरिनरी, मत्स्य संकायमा मात्र  २ हजार ५०० हाराहारीमा विद्यार्थी अध्ययनरत छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)