ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रू. ३० करोड लगानीमा तीनतारे होटेल सञ्चालनमा आउँदै

२०७७ भदौ, ४  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । देशकै तेस्रो पर्यटकीय गन्तव्य मानिएको चितवनमा पछिल्लो समय ठूला होटेल, रिसोर्ट खुल्ने क्रम बढेको छ । देशकै केन्द्र भागमा रहेको र कृषि, पर्यटन, शिक्षा, मेडिकल लगायत क्षेत्रहरूको हब भएकाले पनि होटेलहरू खुल्ने क्रम बढेको हो ।

पर्यटन भ्रमण वर्ष २०२० लाई लक्षित गरी चितवनमा दर्जनौं होटेल तथा रिसोर्टहरू खुल्ने तथा सञ्चालनमा ल्याउने तयारी भएको थियो । तर, कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण अधिकांश होटेल तथा रिसोर्टहरू सञ्चालनमा आउन सकेका छैनन् भने कतिपय होटेलहरू निर्माणको अन्तिम चरणमा पुगेका छन् ।

चितवनको भरतपुरस्थित एयरपोर्टको आडैमा करीब रू. ३० करोडको लगानीमा तीनतारे स्तरको होटेल सञ्चालनमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ । भरतपुर महानगरपालिका–१० भरतपुरस्थित कृष्णपुरमा करीब १७ कठ्ठा क्षेत्रफलमा फैलिएको ‘चितवन गार्डेन रिसोर्ट’को काम अन्तिम चरणमा पुगेको हो ।

हाल यस होटेलको काम ९० प्रतिशत सम्पन्न भइसकेको छ भने इन्टेरियर डिजाइन र बाहिरी सौन्दर्यको काम शुरू भएको होटेलका प्रबन्ध निर्देशक तेजप्रसाद घिमिरेले जानकारी दिए ।

उनका अनुसार होटेल निर्माण सम्पन्न गर्न रू. ३० करोड लगानी लाग्ने अनुमान गरिएको छ । होटेल सञ्चालक समितिमा ९ जना सदस्य र रिसोर्टमा ३८ जना शेयर सदस्य छन् । होटेल पूर्णरूपमा सञ्चालनमा ल्याउन थप दुई महीना लाग्ने घिमिरेको भनाइ छ ।

‘गत वैशाखमै सञ्चालनमा ल्याउने हाम्रो तयारी थियो’, घिमिरेले भने, ‘कोरोनाको कारण निर्माणको कामै रोकियो । शायद कात्तिकदेखि सञ्चालनमा ल्याउने छौं । यो भरतपुर शहरभित्रकै नमूना तीनतारे स्तरको रिसोर्ट हो ।’

रिसोर्टले विभिन्न सरकारी तथा गैर–सरकारी संस्था, उद्योगीव्यवसायी, पेशागत कर्मचारीलगायत आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी संरचना निर्माण गरेको छ । रिसोर्टमा सेन्ट्रल एसी हलसहितको १ हजार जना क्षमताको सभाहल, २०० जना क्षमताको व्यांक्वेट हल र २५ जना क्षमताको मिटिङ हल गरी छुट्टाछुट्टै ४ ओटा हल निर्माण गरिएको छ ।
२८ ओटा प्रिमियम, स्ट्यान्डर्ड कोठाहरू, जीम क्लब, आकर्षक पूmलबारी, स्वीमिङ पुलका साथै सूचना तथा प्रविधिमैत्री विभिन्न सुविधा रहेको रिसोर्टका अपरेशनल म्यानेजर मनिष शर्माले जानकारी दिए । रिसोर्ट परिसरमा जन्मदिन, विवाह, ब्रतबन्ध, लाइभ म्यूजिक कार्यक्रमका लागि मञ्चसहितको खुल्ला चौर समेत निर्माण गरिएको छ ।

रिसोर्टबाट प्राकृतिक हरियाली, मनोरम वातावरणका साथै गैडाकोटको मौलाकालिका मन्दिर, पर्वतीय श्रृंखला तथा स्थानीय विमानस्थलको दृश्यावलोकन गर्न सकिने शर्माको भनाइ छ । ‘समग्रमा रिसोर्ट शहरभित्र र भीडभित्रको शान्त ठाउँ हो । राजमार्गबाट ५०० मिटर टाढा पनि छैन’, उनले भने, ‘जहाँ पर्यटकले सबै सुविधा एकै ठाउँमा पाउँछन् ।’
उनका अनुसार रिसोर्टले यहाँ आउने पर्यटककका लागि  सौराहा, चितवन राष्ट्रिय निकुञ्ज, देवघाटलगायत अन्य पर्यटकीय गन्तव्य स्थल घुमाउन रिसोर्टले प्याकेज टुरको समेत व्यवस्था गर्ने भएको छ ।

देशका विभिन्न ठाउँका सरकारी तथा गैर–सरकारी, निजी कर्पोरेट हाउसहरूले अधिवेशन, साधारणसभा, सेमिनार, तालीम गोष्ठी फेयर र अन्य कार्यक्रम गर्न सजिलो होस भन्ने उद्देश्यले रिसोर्ट परिसरमा यथेष्ठ पार्किङको व्यवस्था गरिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)