हिजोआज बजारको रंग र ढंग फेरिएको देखिन्छ । पहिले पहिले पसल पसलका बोर्डमा यति प्रतिशत र उति प्रतिशत छुट भनेर अफर लेखिएका हुन्थे । छुटकै बहानामा दोकानका पुराना, फेशन सकिएका फोहोर पनि सफा हुन्थ्यो । बजारको गति रोकिएपछि, अनलाइनमै सामान ठोकिएपछि विस्तारै छुटको गरिमा छुट्दै गयो । अब पूँजीवादी बजारकोे छुटको स्थान समाजवादी राजनीतिको लुटको अफरले लिएको छ ।
अहिले पर्यटन क्षेत्रबाट गर्न नपाएको लुट सरकारले विदेशबाट नेपाल फर्किन चाहने श्रमिकहरूबाट असुलउपर गरिरहेको छ । नेवानिको विमान हावा ख्वाएर रित्तै फर्काइन्छ, विदेशी विमानलाई ज्वाइँ जसरी सजिलै भित्र्याइन्छ । मजदूरी गर्नेदेखि मर्नेबाटसम्म पनि लुट्न छाडिएको छैन ।
तपाईं घरबाट निस्कन मात्र पर्छ, तपाईंलाई लुट्न लुट्ने पेशा र हैसियत भएकाहरू तम्तयार देखिन्छन् । भनिन्छ, हिजोआज डाँकाहरू सीधै राजनीतिमा पसेका छन्, सरकारमा छाँया बनेर बसेका छन् । अनि चारैतिर लुट्नका लागि छुटको वातावरण उपयुक्त बनेको देखिन्छ ।
देश कोभिड महामारी, बाढीपहिरो र दिशाहीन सरकारको चपेटामा त छँदै छ । त्यसमा पनि देशमा लकडाउनपछि शटडाउन र निषेधाज्ञाले सबैतिर आर्थिक विकास डाउन डाउन चलिरहेको छ । लुटअप भने फस्टाउँदो छ । लकडाउन पनि फरक हैसियतका मान्छेलाई फरक फरक किसिमले लागू भइरहेको छ ।
एकथरी मानिसहरू लकडाउनका कारण घरघरमै ‘लक’ भएका छन् भने अर्काथरी पहिरो निरीक्षणका नाममा हेलिकोप्टरमा ‘पहिरो पर्यटन’मा हिँडेका छन् । देश असफलतातिर जाँदै छ । तर लुटेराहरू सफलताको उकालो चढिरहेका छन् । संसारमा यस्तो विरलै सरकार होला, जो असफल हुनका लागि पनि यति जोडबलले मेहनत गरिरहेको छ ।
हो, कसैका लागि कोरोना सामाजिक, आर्थिक जीवन बर्बाद पार्ने एक कहर बनेको छ भने अर्काथरीका लागि कुस्त कमाउने सुअवसर । जसले विपक्षीलाई तह लगाउन सक्यो, जसले अर्थतन्त्रलाई ध्वस्त बनाउन सक्यो, उसले चाहेको भए कोरोनाबाट जनतालाई जोगाउन सक्तैनथ्यो र ?
तर उसले बल्ल बल्ल आएको आम्दानी गर्ने अवसरलाई किन गुमाउने भन्ने सोचेर होला चौतर्फी लुटको धन्दा चलाइरहेको देखिन्छ । तर यो महामारीको बेला लुटका विरोधमा कसले बोल्ने ? यही त मौका हो विपक्षीलाई पेल्ने, आफ्ना भरौटेहरूलाई भएजति, सकेजति सार्वजनिक पदहरूमा ठेल्ने, अनि ठूला आयोजनाका ठेक्कापट्टा आफ्ना घरबेटी र मार्सीका मालिकहरूलाई दिन भित्रभित्रै राजनीति खेल्ने । जोर बिजोर तोक्ने, लकडाउन ठोक्ने अनि चलाउने भित्रभित्रै लुटको हाट बजार ।
लुटका हिसाबले यो कालखण्ड स्वर्णयुग हो भने हुन्छ । देशको तीनमध्ये एक प्रमुख प्राथमिकतामा परेको कृषिक्षेत्रमा लुटका लागि रामराज्य चलिरहेको त सर्वविदित नै छ । किसानको नाममा जाने अर्बौं रुपियाँ अनुदान नेता, कर्मचारी र नजिकका टाठाबाठाले लुटिरहेकै छन् ।
सेतो मलमा अनुदान छ । तर त्यही मल पाउन कि कालो नगदै माल चाहिन्छ कि पहुँच । मल नभएर बाली बिग्रिए किसानको सर्वस्व जान्छ, तर सरकारको के जान्छ ? त्यही भएर मल ल्याउने ल्याकत होइन, माल दिने तागत भएकाले ठेक्का पाउँछ ।
अहिले पर्यटन क्षेत्रबाट गर्न नपाएको लुट सरकारले विदेशबाट नेपाल फर्किन चाहने श्रमिकहरूबाट असुलउपर गरिरहेको छ । नेवानिको विमान हावा ख्वाएर रित्तै फर्काइन्छ, विदेशी विमानलाई ज्वाइँ जसरी सजिलै भित्र्याइन्छ । मजदूरी गर्नेदेखि मर्नेबाटसम्म पनि लुट्न छाडिएको छैन ।
भगवान् जस्तै लुट पनि सर्वव्यापी बनिरहेको छ । त्यसैले लुटको पवित्र कीर्तनमा भाग लिन थालिहाल्नोस् र भवसागर तरिहाल्नोस् । जिन्दगीमा केही गर्न सक्नुहुन्न भने राजनीति गर्नोस्, मठाधीश पड्काउनोस्, भगवान्को नाममा मानिसलाई पापको डर देखाउनोस् र लुटतन्त्र शुरू गर्नाेस् ।
पुल बने लुट्नोस्, पुल भत्के लुट्नोस् । सडक बन्दा लुट्नोस्, बिग्रेपछि फेरि लुट्नोस् । बाटोमा खाल्डाखुल्डी पुर्नुअघि आफ्नो पेटको खाल्डो भर्ने उपाय निकाल्नोस् । सडकको खाडलमा कोही पर्यो भने सरकारले उद्धार गरिहाल्छ । तर त्यो खाडल तपाईंले पुरिदिनुभयो भने त तपाईंको पेटको खाल्डो खाली नै रहनेछ । त्यसैले अहिले खाली पेट भएकाहरू एकठाउँमा जुट्नोस् र सकेजति लुट्नोस् । मिति मिलाएर, थिति देखाएर, नीति बनाएरै लुट्नोस् । जहाज खानुहोस्, तेल खानुहोस् । डाडुपन्युँ तपाईंकै हातमा, अरिंगालहरू तपाईंकै साथमा छँदै छन् । अरू तपाईंलाई के चाहियो ? १०/२० प्रतिशतमात्र किन, पाएसम्म, भ्याएसम्म ९० अझ शतप्रतिशत नै निल्नुहोस् ।
कुनै पनि दलको झण्डा बोकेर, तपाईंको लुटको यात्रामा आउने बाधालाई डण्डा, हँसिया, हथौडाले ठोकेरै अगाडि बढ्न जुट्नोस् । जोसँग अब केही बाँकी छैन, उसलाई पनि लुट्नोस्, लगौंटी पनि नछाडी । गणतन्त्रले दिएको यो छुटमा यदि चुक्नुभो भने जीवनभरि पछुताउनु हुनेछ । देश लुटिनका लागि अधैर्य भएर तपाईंहरूलाई नै कुरिरहेको छ ।