ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वैकल्पिक पेशा पनि अघि बढाउँदै सौराहाका रेष्टुराँ व्यवसायी

२०७७ भदौ, ५  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

भदौ ५, चितवन । देशभर कोभिड–१९ महामारीका कारण विश्व आक्रान्त छ । नेपालमा पनि कोरोनाको प्रभाव कम भएको भन्दै असारको पहिलो साता लकडाउनलाई खुकुलो गरिएको थियो । विस्तारै पर्यटन व्यवसाय पनि जुर्मुराउँथै थियो । उद्योगी व्यवसायी तथा नागरिकमा उत्साह पलाउँदै गएको थियो । तर यो उत्साह धेरै दिन टिकेन । 

पछिल्ला दिनहरूमा कोरोना संक्रमितको संख्या बढ्नुको साथै मृत्युदर पनि उकालो लागेपछि सरकारले कोराना प्रभावित विभिन्न जिल्लाहरूमा बन्दाबन्दी र निषेधाज्ञा जारी गर्‍यो, जसका कारण पर्यटन व्यवसाय फेरी सेलाउन पुग्यो । तर सौराहाका व्यवसायीले भने यसको सदुपयोग गर्दै आएका छन् । लकडाउन शुरू भएदेखि नै उनीहरूले कृषि कर्मलाई साथै लग्दै आएका छन् । हाल सौराहाका आधा दर्जनभन्दा बढी पर्यटन व्यवसायीले कुखुरापालन र बाख्रापालनलाई निरन्तरता दिदै आएका छन् । यीमध्ये सबैभन्दा बढी रेष्टुरेण्ट र होटल व्यवसायी रहेका छन् । 

रेष्टुरेण्ट तथा बार एशोसिएशन अफ नेपाल (रेबान)का पूर्वअध्यक्ष गोकर्ण गिरी बन्दाबन्दी शुरू भएसँगै आफूले कुखुरापालन र बाख्रापालन गर्दै आएको बताउँछन् । ‘लकडाउनपछि टाइमपास गर्न भने केही लोकल कुखुरा पालेँ उनले भने, ‘राम्रै फाइदा हुँदो रहेछ ।’ उनका अनुसार कोभिड १९ कारण पर्यटन व्यवसाय तंग्रिन केही वर्ष लाग्ने भएकाले थप जग्गामा कुखुरा, बाख्रा पालन गर्न लागेको बताए । कृषि कर्म अपनाए पनि भोलिका दिनमा दुईवटै व्यवसायलाई सँगै लैजाने उनको भनाइ छ । 

अर्का ‘साथी रेष्टुरेण्ट र पोखरा थकाली भान्सा घर’का सञ्चालक सुवास गौतम पर्यटन व्यवसायको अनिश्चितता भएका कारण आफूले कुखुरा र बट्टाईपालन शुरू गरेको बताउँछन् ।‘ अहिले ८०० वटा कुखुरा र दुईसय बट्टाई पालेको छु । विक्री पनि राम्रै छ,’ उनले भने ।  यसलाई विस्तार गर्दै लैजाने योजना छ । उनका अनुसार निश्चित समयको लागि कृषि व्यवसायलाई समय दिए पनि अवस्था सहज भएपछि दुईवटै व्यवसायलाई निरन्तरता दिनेछन् । ‘होटल, रेष्टुरेण्ट नचले पनि भाडा र बैंकको ऋण तिर्न पनि विकल्प खोज्नै पर्‍यो,’ उनले थपे । 

सौराहाका केही पर्यटन व्यवसायीले कृषिकर्मलाई पछ्याएसँगै अन्य पर्यटन व्यवसायीले पनि उनीहरूको सिको गरेका छन् । होटल, रेष्टुरेण्टकै खाली जग्गामा यो पेशा व्यवसाय गर्न सकिने भएकोले पनि उनीहरूले कृषि कर्म अँगालेका हुन् ।

जंगल जर्नीका सञ्चालक रमेश अधिकारी पर्यटन व्यवसाय धराशायी भएसँगै यो व्यवसाय गर्न बाध्य भएको बताउँछन् । ‘यत्रो समय यसै खाली बस्नुपरयो कहिले खुल्ने अझै पत्तो छैन उनले भने, ‘बैंकले ब्याज छोड्दैन केही न केही त गर्नुप¥यो ।’ डेढ महिना अघिदेखि १ हजार ५ सय ब्रोइलर कुखुरा पाल्दै आएको र थप विस्तार गर्दै लैजाने उनले बताए । 

लामो समय पर्यटन क्षेत्रमै विताएका होटल पार्कइनका सञ्चालक अर्जुन चौधरीले पनि बाख्रापालन शुरू गरेका छन् । योसँगै लोकल कुखुरा र ब्रोइलर कुखुरा पाल्ने योजना उनको छ । ‘समय र खाली जग्गाको पनि पनि सदुपयोग हुने’ उनले भने, ‘आम्दानी पनि हुने ।’

 तर रेबानका अध्यक्ष दिपेन्द्र खतिवडा व्यवसायीले कृषिकर्म गरे पनि रेष्टुरेण्ट व्यवसाय भने छाड्न नसक्ने बताउँछन् । ‘अहिलेको संकटको समय सदुपयोग गर्नु राम्रो हो, उनले भने, साथै सँगै लैजान मिल्यो । रेष्टुरेण्ट व्यवसाय नै छोड्न चाहिँ सकिँदैन ।’ उनका अनुसार यस व्यवसायमा करौडौं लगानी र वर्षौंदेखिको अनुभव भएका कारण पनि व्यवसायीले निश्चित समयका लागि कृषि कर्म अँगालेको उनको भनाइ छ । हाल सौराहामा मात्र १२० भन्दा साना ठूला होटलहरू छन् भने ७० भन्दा बढी रेष्टुराँ रहेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)