ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वैकल्पिक पेशा पनि अघि बढाउँदै सौराहाका रेष्टुराँ व्यवसायी

२०७७ भदौ, ७  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । ३ महीना लामो लकडाउन (बन्दाबन्दी) खुला भएसँगै क्रमशः जुर्मुराउन थालेको पर्यटन व्यवसाय क्षेत्रको उत्साह धेरै दिन टिक्नै पाएन । लकडाउन खुला गरिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या तीव्र दरमा वृद्धि हुन थालेपछि अहिले सरकारले कतै पुनः लकडाउन त कतै निषेधाज्ञा जारी गरेको छ ।

कोरोना नियन्त्रण तथा रोकथामका लागि गरिएको यो निर्णयसँगै समग्र व्यवसाय पुनः बन्द भएका छन् । यससँगै पर्यटन व्यवसाय फेरि सेलाउन पुगेको छ । तर, सौराहाका व्यवसायीले भने यो समयको अधिकतम सदुपयोग गर्ने उपायहरू निकाल्न थालेका छन् ।

अघिल्लो पटक लकडाउन शुरू भएदेखि नै उनीहरूले कृषि कर्मलाई जोड दिँदै आएका छन् । हाल सौराहाका आधा दर्जन भन्दा बढी पर्यटन व्यवसायीले कुखुरापालन र बाख्रापालनको काम अपनाएका छन् । त्यसमध्ये सबैभन्दा बढी रेष्टुराँ र होटेल व्यवसायी छन् ।

रेष्टुराँ तथा बार एशोसियन रेवानका पूर्वअध्यक्ष गोकर्ण गिरी बन्दाबन्दी शुरू भएसँगै आफूले कुखुरापालन र बाख्रापालन गर्दै आएको बताउँछन् । ‘लकडाउनपछि टाइम पास गर्न भने केही लोकल कुखुरा पालेको छु’, उनले भने, ‘राम्रै फाइदा हुँदोरहेछ ।’ उनका अनुसार कोभिड–१९ का कारण पर्यटन व्यवसाय तंग्रिन केही वर्ष नै लाग्ने भएकाले थप जग्गामा कुखुरा तथा बाख्रापालन गर्न लागेका हुन् । अवस्था सहज भएको स्थितिमा दुईओटै व्यवसायलाई सँगै अगाडि बढाउने उनको सोच छ ।

यस्तै साथी रेष्टुराँ र पोखरा थकाली भान्सा घरका सञ्चालक सुवास गौतम पर्यटन व्यवसायको अनिश्चितता भएका कारण आफूले कुखुरा र बट्टाईपालन शुरू गरेको बताउँछन् । ‘अहिले ८०० ओटा कुखुरा र २०० ओटा बट्टाई पालेको छु । विक्री पनि राम्रै छ’, उनले भने, ‘यसलाई विस्तार गर्दै लैजाने योजना छ ।’

उनका अनुसार निश्चित समयका लागि कृषि व्यवसायलाई समय दिए पनि अवस्था सहज भएपछि दुईओटै व्यवसायलाई निरन्तरता दिने उनको पनि योजना छ । ‘के गर्नु होटेल, रेष्टुराँ नचले पनि भाडा र बैंकको ऋण तिर्नका लागि मात्रै भए पनि विकल्प खोज्नै पर्‍यो’, उनले भने ।

सौराहाका केही पर्यटन व्यवसायीले कृषि कर्मलाई पछ्याएसँगै अन्य पर्यटन व्यवसायीले पनि उनीहरूको सिको गर्न थालेका छन् । होटेल तथा रेष्टुराँकै खाली जग्गामा यो पेशा व्यवसाय गर्न सकिने भएकाले पनि उनीहरूले कृषि कर्म अंगालेका हुन् ।

जंगल जर्नीका सञ्चालक रमेश अधिकारी पर्यटन व्यवसाय धराशयी भएसँगै यो व्यवसाय गर्न बाध्य भएको बताउँछन् । ‘यत्रो समय यसै खाली बस्नुप¥यो कहिले खुल्ने अझै पत्तो छैन’, उनले भने, ‘बैंकले ब्याज छोड्दैन केही न केही त गनैंप¥यो ।’ डेढ महीना अघिदेखि १ हजार ५०० ओटा ब्रोइलर कुखुरा पाल्दै आएको र थप विस्तार गर्दै लैजाने उनले बताए ।

लामो समय पर्यटन क्षेत्रमै बिताएका होटेल पार्कइनका सञ्चालक अर्जुन चौधरीले पनि बाख्रापालन शुरू गरेका छन् । योसँगै लोकल कुखुरा र ब्रोइलर कुखुरा पाल्ने योजना उनको छ । समय र खाली जग्गाको पनि सदुपयोग गर्ने योजना अनुसार कुखुरापालन गरेको उनको भनाइ छ ।

तर, रेवानका अध्यक्ष दीपेन्द्र खतिवडा व्यवसायीले कृषि कर्म गरे पनि रेष्टुराँ व्यवसाय भने छाड्न नसक्ने बताउँछन् । ‘अहिलेको संकटको समय सदुपयोग गर्नु राम्रो हो’, उनले भने, ‘साथै सँगै लैजान मिल्यो । रेष्टुराँ व्यवसाय नै छोड्न चाहिँ सकिदैन ।’ उनका अनुसार यस व्यवसायमा करोडौं लगानी र वर्षौंदेखिको मेहनत तथा अनुभव भएका कारण पनि व्यवसायीले निश्चित समयका लागि कृषि कर्म अँगालेका हुन् ।

हाल सौराहामा मात्र १२० ओटा भन्दा साना ठूला होटेलहरू छन भने ७० ओटा भन्दा बढी रेष्टुराँ छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)