ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चाडपर्वमै केरा विक्री नभएपछि केरा किसान निराश 

२०७७ भदौ, ८  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

भदौ ८, चितवन । अन्य समयको तुलनामा चाडपर्वमा बढी कारोबार हुने केरा अहिले विक्री हुन सकेको छैन । सरकारले अधिकांश जिल्लामा लकडाउन र निषेधाज्ञा जारी गरेपछि केरा बोटमै पाकेर झर्न थालेका छन् । तीज, दशै र तिहारमा केराको अत्याधिक माग हुने गरेपनि यसवर्ष निषेधाज्ञा जारी भएका कारण केराको माग नै नआएको किसानको दुखेसो छ । 

रत्ननगरपालिका वडा नम्बर १२ का किसान विष्णुहरी पन्त यस्तो अवस्था पहिला कहिल्यै नआएको बताउँछन् । ‘यसपालिको तीजमा टन्न केरा विक्री गर्ने सोच थियो, उनले भने, निषेधाज्ञा र लकडाउनले चौपट पारिदियो ।’ तीजको अगाडि ५० हजार गोटा केरा तयार गर्दा २५ हजार गोटा खेर गएको उनले बताए । 

उनका अनुसार पोहोर प्रतिगोटा साढे पाँच रुपैयाँसम्म बिकेपनि अहिले तीन रुपैयाँपनि बिक्न सकेन । हुनत केरालाई भण्डार गर्न नसकिने र अन्तरजिल्लामा हुने ढुवानीमा समेत कडाई गर्दा केराको विक्रीमा ह्रास आएको हो । तीज पर्वनै हर्सोल्हास रुपमा मान्न नपाएपछि केराको विक्री र उपभोगमा समेत कम आएको छ । 

भरतपुर महानगरपालिका वडा नम्बर ९ का किसान यज्ञ सुवेदी लकडाउन र निषेधाज्ञाका कारण यो महीना मात्र ५० लाख केरा खेर जाने बताउँछन् । ‘मैले ६० विघामा केरा खेती गरेको छु । तर अहिले, करीब ५० लाख केरा बोटमै पाकेर झर्छ ।’ उनले भने, देशमा कहिले बन्द र खुल्ने अस्थिरता भएको कारण पनि खरीदकर्ताले केराको माग नगरेको उनको भनाइ छ । 

विशेषगरी चाडपर्वहरुमा सबैभन्दा बढी विक्री हुने फलफूल मध्ये केरा पर्दछ । तर निषेधाज्ञा र लकडाउन कारण केरा किसानले न मूल्य पाए नत बजार नै । यसवर्ष रोग र किराको प्रकोप नभएकोले उत्पादनमा वृद्धि हुँदै थियो । ‘उत्पादन मात्रै भएर के गर्नु विक्री नभएपछि’ सुबेदीले निराश हुँदै भने । 

चितवन केरा उत्पादक संघका अध्यक्ष घननाथ महतो चितवनका ७५ प्रतिशत केरा किसानको उत्पादित केरा बारीमै पाकेर कुहिने अवस्था रहेको बताउँछन् । ‘यसपाली तीजमा कसैले डिमान्ड गरेनन्, उनले भने, गरुन् पनि कसरी मान्छेले किन्न नै नपाएपछि ।’ प्रतिगोटा केरामा लागत मूल्य ३ भन्दा माथि परेपनि अहिले २ रुपैयाँमा पनि विक्री हुन नसकेको उनको भनाइ छ । ‘पहिले लकडाउनले डुबायो अहिले निषेधाज्ञाले डुबायो’ उनले थपे । 

चितवनको ९० प्रतिशत केराको बजार मुख्यत काठमाडौं, पोखरा, बुटवल नेपालगञ्ज लगायतका शहरहरु हुन् । चितवनमा झन्डै ७०० किसान व्यवसायिक केराखेतीमा लागेका छन् । यहाँ तीन हजार बिघाभन्दा बढीमा केराखेती गरिएको छ । चितवनमा वार्षिक ६ हजार मेट्रिक टन केरा उत्पादन हुँदै आएको छ ।

चितवनमा गत वर्ष दुई अर्ब रूपैयाँ बराबरको केरा विक्री भएको थियो । अहिले उत्पादनमा वृद्धि हुने अपेक्षा किसानको थियो । केरा उत्पादनमा चितवन देशकै अग्रणी जिल्लामा पर्छ । यहाँ केरा जोन क्षेत्र पनि रहेको छ । चितवनको केरा जोन क्षेत्रमा १ हजार ८ सय बिघामा केराखेती भएको कृषि ज्ञान केन्द्र, चितवनले जानकारी दिएको छ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)