ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चितवनमा ४५ प्रतिशत नागरिक स्वास्थ्य बीमाको पहुँचमा

२०७७ भदौ, ९  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । ‘मेडिकल सिटी’को रूपमा विकसित हुँदै गएको चितवनमा ४५ प्रतिशत नागरिक स्वास्थ्यको बीमाको पहुँचमा रहेको पाइएको छ । स्वास्थ्य बीमा बोर्ड, चितवनका अनुसार जिल्लामा ५ लाख ९२ हजार ६०१ जनसंख्यामध्ये २ लाख ६७ हजार ४४ जनाले मात्र स्वास्थ्य बीमा गराएका छन् । जिल्लाका कुल ७० हजार ७२२ घरपरिवारले स्वास्थ्य बीमा गराएका छन्, जसमध्ये ११ हजार २७३ परिवारको निःशुल्क बीमा भएको छ ।

कार्यालयकी चितवन प्रमुख निर्मला भट्टराईले शहरी क्षेत्रको तुलनामा ग्रामीण क्षेत्रका नागरिकको बीमा अनुपात कम भएकाले बीमा पहुँचको समग्रमा प्रतिशतमा कमी आएको बताइन् । गाउँक्षेत्रका मानिसमा बीमाबारे कम जानकारी हुने र र बीमा गर्न आर्थिक क्षमता समेत नभएकाले बीमाको दायरा बढाउन नसकिएको उनको भनाइ छ । यस्तै बीमामा व्यवस्था भए अनुसारको औषधि उपचार सरकारले तोकेका सरकारी अस्पतालमा मात्र पाइने र अस्पतालमा अत्यधिक भीडभाड हुने कारणले पनि स्वास्थ्य बीमामा सर्वसाधारण आकर्षित हुन नसकेको उनले बताइन् ।

चितवनका ७ ओटा स्थानीय तहमध्ये सबैभन्दा बढी संख्यामा भरतपुर महानगरपालिकाका नागरिकले स्वास्थ्य बीमा गरेका छन् । कार्यालयका अनुसार महानगरपालिकाको २ लाख ८१ हजार ३०४ जनसंख्यामध्ये १ लाख ४५ हजार १५१ जनाले बीमा गरेका छन् । यस्तै इच्छाकामना गाउँपालिकाबाट सबैभन्दा कमले स्वास्थ्य बीमा गरेका छन् । उक्त गाउँपालिकाको जनसंख्या २५ हजार १६ रहेकोमा १ हजार २३७ जनाले मात्र बीमा गरेका छन् ।

धेरैले बीमा गर्नेमा भरतपुरपछि रत्ननगर नगरपालिका रहेको छ । कार्यालयका अनुसार उक्त नगरपालिकाको जनसंख्या ८४ हजार १०५ रहेकोमा ४४ हजार ३६४ जनाले स्वास्थ्य बीमा गरेका छन् । यस्तै खैरहनी नगरपालिकाको ५६ हजार ३५४ जनसंख्यामध्ये २७ हजार ९७१, राप्ती नगरपालिकाको ६२ हजार १२२ जनसंख्यामध्ये १६ हजार ५३१, माडी नगरपालिकाको ३९ हजार ७०० जनसंख्यामध्ये १५ हजार १८१ र कालिका नगरपालिकाको ४४ हजार जनसंख्यामध्ये १६ हजार ६०९ जनाको स्वास्थ्य बीमा गरिएको छ ।
कार्यालय प्रमुख भट्टराईले जनघनत्व, बीमाको सुविधा र स्वास्थ्यसेवा पहुँचको आधारमा स्थानीय तहमा बीमा गर्ने नागरिकको अनुपात उत्तारचढाव हुने बताइन् । पूर्वी चितवनको रत्ननगर अस्पताल, माडीको बघौडा अस्पताल, जुटपानी प्राथमिक स्वास्थ्यचौकी र शिवनगर प्राथमिक स्वास्थ्य चौकीले स्वास्थ्य बीमा अनुसारको औषधि उपचार सुविधा दिँदै आएका छन् ।

कोभिड–१९ ले स्वास्थ्य जनचेतनामा वृद्धि
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)का कारण चितवनमा स्वास्थ्य बीमा जनचेतना बढेको पाइएको छ । अघिल्ला वर्षहरूमा यसबारे कमै जानकारी भए पनि हाल स्वास्थ्य जनचेतनामा वृद्धि हुँदै गएको जिल्लामा स्वास्थ्य बीमा दर्ता सहयोगीहरू बताउँछन् । कोरोना भाइरस लगायत अन्य रोगको जोखिमका कारण स्वास्थ्य बीमा सचेतनाका साथै बीमा गर्नेको संख्या बढेको उनीहरूको भनाइ छ ।  भरतपुर महानगरपालिका–२ मा कार्यरत दर्ता सहयोगी अञ्जु अर्याल अघिल्ला वर्षहरूमा भन्दा अहिले स्वास्थ्यबीमाप्रति नागरिकको आकर्षण बढेको बताउँछिन् । ‘पोहोर त कर गरेर नवीकरण र नयाँ बीमित खोज्नुपथ्र्यो,’ उनले भनिन्, ‘अहिले आफै फोन सम्पर्क गरेर बोलाउनु हुन्छ ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)