ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बारीमै पाक्यो केरा : करोडौंको नोक्सानीमा किसान

२०७७ भदौ, ९  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । तुलनात्मक रूपमा चाडपर्वमा बढी कारोबार हुने केरा अहिले विक्री हुन सकेको छैन । सरकारले अधिकांश जिल्लामा निषेधाज्ञा र लकडाउन जारी गरेपछि किसानका केरा बोटमै पाकेर झर्न थालेका छन् । तीज, दशैं तथा तिहारमा केराको विक्री अधिक हुने गरेको भए पनि यस वर्ष केरा बिकेन ।

चितवनको रत्ननगर नगरपालिका–१२ का किसान विष्णुहरि पन्त यस्तो अवस्था कहिल्यै नआएको बताउँछन । ‘यसपटकको तीजमा टन्न केरा विक्री हुने आशा थियो’, उनले भने, ‘निषेधाज्ञा र लकडाउनले चौपट पारिदियो ।’ तीजका लागि ५० हजार गोटा केरा तयार गरेका उनले २५ हजार गोटा खेर फाल्न पर्‍यो ।

उनका अनुसार पोहोर प्रतिगोटा साढे ५ रूपैयाँसम्म विक्री भए पनि अहिले प्रतिगोटा रू. ३ मा पनि विक्री हुन सकेन । भण्डार गर्न नसकिने र अन्तरजिल्लामा हुने ढुवानीमा समेत कडाई गर्दा केराको विक्रीमा ह्रास आएको किसान बताउँछन् । तीज पर्व नै मनाउन नपाएपछि केराको विक्री र उपभोगमा समेत कमी आएको हो ।

भरतपुर महानगरपालिका–९ का किसान यज्ञ सुवेदी लकडाउन र निषेधाज्ञाका कारण यो महीना मात्र ५० लाख गोटा केरा खेर जाने बताउँछन् । ‘मेरो टोटल ६० बिघामा केराखेती छ । तर, अहिले करीब ५० लाख केरा बोटमै पाकेर झर्छ’, उनले भन्े । महामारीका कारण देश कहिले खुल्ने र कहिले बन्द हुने हुँदा खरीदकर्ताले केराको माग नगरेको
उनको भनाइ छ ।

विशेषगरी चाडपर्वहरूमा सबैभन्दा बढी विक्री हुने फलपूmलमध्ये केरा पर्दछ । तर, निषेधाज्ञा र लकडाउनका कारण केरा किसानले न मूल्य पाए न त बजार नै । यस वर्ष रोग र कीराको प्रकोप नभएकाले उत्पादनमा वृद्धि भइरहेको किसानहरू बताउँछन् । तर, यसै वर्ष महामारीका कारण सबै खेर जाने अवस्था आएकाले किसान चिन्तित छन् ।

चितवन केरा उत्पादक संघका अध्यक्ष घननाथ महत्तोले चितवनका ७५ प्रतिशत केरा किसानको उत्पादन गरेका केरा बारीमै पाकेर कुहिने अवस्था आएको बताउँछन् । ‘यसपाली तीजमा कसैले डिमान्ड गरेनन्’, उनले भने, ‘गरुन् पनि कसरी मान्छेले किन्न नै नपाएपछि ।’ प्रतिगोटा केरामा लागत मूल्य रू. ३ भन्दा माथि परे पनि अहिले रू. २ मा पनि विक्री हुन नसकेको उनको भनाइ छ । ‘पहिले लकडाउनले डुबायो अहिले निषेधाज्ञाले’, उनले भने ।

विशेष गरी जिल्लामा उत्पादनको ८ देखि १० प्रतिशत खपत हुँदै आए पनि हाल जिल्लामा पनि खपत हुन नसकेको र अन्य जिल्लाका व्यवसायीले बुकिङ गरेको केरा समेत रद्ध गरेको महत्तोले बताए । चितवनको ९० प्रतिशत केराबजार मुख्यतः काठमाडौं, पोखरा, बुटवल र नेपालगञ्ज लगायत शहरहरू हुन् ।

चितवनमा झण्डै ७०० जना किसान व्यावसायिक केराखेतीमा आवद्ध छन् । यहाँ ३ हजार बिघाभन्दा बढीमा केराखेती गरिएको छ । चितवनमा वार्षिक ६ हजार मेट्रिक टन केरा उत्पादन हुँदै आएको छ ।

चितवनमा गत वर्ष रू. २ अर्ब बराबरको केरा विक्री भएको थियो । अहिले उत्पादनमा वृद्धि हुने अपेक्षा किसानको थियो । केरा उत्पादनमा चितवन देशकै अग्रणी जिल्लामा पर्छ । यहाँ केराजोन क्षेत्र पनि छ । रत्ननगर, कालिका खैरहनीका केही वडा र भरतपुरका केही वडाहरूलाई केरा जोन क्षेत्रमा राखिएको छ । चितवनको केरा जोन क्षेत्रमा १ हजार ८०० बिघामा केराखेती भएको कृषि ज्ञान केन्द्र चितवनले जानकारी दिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)