ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आन्तरिक राजस्व कार्यालय भरतपुर : आवको पहिलो महीनामा लक्ष्यभन्दा बढी राजस्व संकलन

२०७७ भदौ, १०  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । लकडाउनका कारण गत आर्थिक वर्षमा लक्ष्य अनुसारको राजस्व असुल्न नसकेको आन्तरिक राजस्व कार्यालय भरतपुरले चालू आर्थिक वर्षको पहिलो महीना साउनमा भने लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ ।

साउन महीनामा कार्यालयले १ अर्ब ४६ करोड २२ लाख ३ हजार राजस्व संकलनको लक्ष्य पाएकोमा १ अर्ब ४७ करोड ५६ लाख ७५ हजार रुपैयाँ उठाएको छ, जुन लक्ष्यभन्दा शून्य दशमलव ९२ प्रतिशत बढी हो ।

कार्यालयले साउनमा अन्तःशुल्क शीर्षकबाट सबैभन्दा बढी राजस्व असुली गरेको छ भने स्वास्थ्य सेवा कर सबैभन्दा कम संकलन गरेको छ । कार्यालयले अन्तःशुल्कबाट ९८ करोड २४ लाख ५० हजार असुली गरेको छ । यो शीर्षकमा कार्यालयले १ अर्ब १ करोड ६१ लाख ९९ हजार संकलन गर्ने लक्ष्य लिएको थियो । यस्तै स्वास्थ्य सेवा करबाट ११ लाख २५ हजार रुपैयाँ संकलन गरेको छ । यो शीर्षकमा कार्यालयले १४ लाख ५१ हजार रुपैयाँ राजस्व असुलीको लक्ष्य पाएको थियो ।

राजस्व शीर्षकहरूमध्ये कार्यालयले आयकर र ब्याजकरबाट सबैभन्दा धेरै राजस्व असुली गरेको छ । ब्याजकर शीर्षकमा कार्यालयले २० करोड १७ लाख ९४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । यो शीर्षकमा १३ करोड ३७ लाख ७३ हजार रुपैयाँ राजस्व असुलीको लक्ष्य थियो । यस्तै आयकर शीर्षकमा कार्यालयले २ करोड ८० लाख २४ हजार राजस्व संकलन गरेको छ । गत महीना यो शीर्षकमा कार्यालयले ७६ लाख ५२ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य पाएको थियो ।

यसैगरी मूल्य अभिवृद्धि कर अन्तर्गत २५ करोड ८३ लाख ९५ हजार रुपैयाँ राजस्व संकलन भएको छ । कार्यालयले उक्त शीर्षकमा २९ करोड ५४ लाख ६ हजार रुपैयाँ राजस्व असुली गर्ने लक्ष्य लिएको थियो । बहाल कर अन्तर्गत कार्यालयले ३८ लाख ८७ हजार राजस्व असुली गरेको छ । यो शीर्षकमा ७७ लाख ३२ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य रहेको थियो । कार्यालयले शिक्षा कर शीर्षकमा भने राजस्व असुलीको लक्ष्य राखेको थिएन ।

कार्यालयका कर अधिकृत एवं सूचना अधिकारी कपिल नेपालले सबैजसो शीर्षकमा चैतदेखिको कर सर्दै साउन महीनासम्म पुगेकाले गत महीना राजस्व असुली लक्ष्यभन्दा बढी देखिएको बताए । ‘असार मसान्तसम्म बुझाउनुपर्ने आयकर, ब्याजकर सेवाग्राहीले साउनमा आएर बुझाएको कारण यी शीर्षकमा  लक्ष्यभन्दा बढी कर असुली भएको हो,’ उनले भने । शिक्षा सेवा कर गतवर्षदेखि नै सरकारले हटाएको र वैदेशिक शिक्षा अध्ययन गर्न जाने विद्यार्थीको संख्या यो वर्ष नभएकाले शिक्षा सेवा करमा कुनै पनि राजस्व संकलन हुन नसकेको उनले जानकारी दिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)