ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

साढे २४ करोड लगानीमा चकलेट उद्योग स्थापना गरिँदै

२०७७ भदौ, ११  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । चितवनमा साढे २४ करोड रुपैयाँ लगानीमा चकलेट उद्योग स्थापना गरिने भएको छ । बागमती प्रदेश सरकार र राप्ती नगरपालिकाको संयुक्त लगानीमा उक्त उद्योग स्थापना गर्न लागिएको हो । राप्ती नगरपालिका–७ को साना किसान तथा कृषि सहकारीको जग्गा उद्योग स्थापनाका लागि छनोट गरिएको छ ।

जिल्लामा दूध उत्पादन खेर जान नदिन र दूधको परिकारमा विविधीकरण गर्ने उद्देश्यले चकलेट उद्योग स्थापना गर्न लागिएको बागमती प्रदेश सरकारले बताएको छ । यसका लागि मंगलवार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र राप्ती नगरपालिकाबीच छलफल भएको बागमती प्रदेश दुग्ध विकास बोर्डका निर्देशक डा. शरण पाण्डेले जानकारी दिए । ‘मन्त्रालयमा राप्ती नगरपालिकामा चकलेट उद्योग स्थापना गर्ने विषयमा नीतिगत निर्णय भएको छ,’ उनले भने, ‘प्रारम्भिक परियोजना प्रतिवेदन पनि तयार भएको छ ।’

बोर्डका निर्देशक पाण्डेका अनुसार उद्योग सञ्चालनमा ल्याउन २४ करोड ५० लाख रुपैयाँ लगानी आवश्यक पर्ने अनुमान गरिएको छ, जसमा आधा लगानी प्रदेश सरकार र आधा लगानी नगरपालिकाको हुनेछ । चितवनमा दूध उत्पादन क्षमता क्रमशः बढ्दै गएकाले यसको बजार प्रवर्द्धनका लागि चकलेट उद्योग स्थापना गर्न लागिएको उनले बताए । उद्योगमा क्याडबरी, ट्रफी, चकलेट लगायत साथै पनीर, दही, घ्यू, क्रीम लगायत उत्पादन गरिनेछ ।

अहिलेको महामारीको अवस्था सामान्य भए आउँदो असोजसम्म वातावरणीय प्रभाव मूल्यांकनको काम र टेण्डर प्रक्रिया अघि बढाइने पाण्डेले जानकारी दिए । काम शुरू भएको १ वर्षभित्र उद्योग सञ्चालनमा ल्याइसक्ने लक्ष्य लिइएको छ ।

उद्योग स्थापनापछि नेपालमा चकलेट आयात प्रतिस्थापनमा समेत टेवा पुग्ने मन्त्रालयका सचिव डा. योगेन्द्रबहादुर कार्कीले बताए । ‘मुलुकमा अहिले वार्षिक करोडौं रुपैयाँको चकलेट आयात भइरहेको छ,’ उनले भने, ‘उद्योगले उत्पादन थालेपछि आयात घटाउन पक्कै सहयोग पुग्नेछ ।’ साथै दुग्ध उत्पादनमा किसानको आकर्षण बढाउने र रोजगारी सृजना गर्ने उद्देश्यले समेत उद्योग स्थापना गर्न लागिएको उनले बताए ।

नगरपालिकाका प्रमुख प्रभा बरालले प्रदेश सरकार र नगरपालिका चकलेट उद्योग स्थापना गर्न तयार भएको बताइन्  । नगरपालिकाको साना किसान तथा कृषि सहकारीको डेढ बिगाहा जग्गामा चकलेट उद्योग स्थापना गर्न लागिएको जानकारी उनले दिइन् । उनका अनुसार आधा लगानीमध्ये नगरपालिकाको तर्फबाट सहकारी र किसानको साझेदारीको रूपमा लगानी गरिनेछ । उद्योगले पहिलो चरणमा किसानबाट दैनिक ३० हजार लिटर दूध खरीद गर्ने र विस्तारै बढाउँदै लगिने उनले बताइन् । ‘उद्योग स्थापना भएपछि एकातर्फ दूध खेर अवस्था आउँदैन,’ उनले भनिन्, ‘अर्कातिर किसानले उत्पादनको उचित मूल्य पाउँछन् ।’ जिल्लामा बन्द हड्ताल र मूल्यका कारण वर्षेनि दूध खेर जाने गरेको अवस्थालाई दृष्टिगत गरी चकलेट उद्योग स्थापना गर्न लागिएको उनले बताइन् । उद्योग स्थापनापछि किसानले दूधको मूल्यका लागि कुनै किसिमको आन्दोलन गर्नु नपर्ने उनको भनाइ छ ।

व्यावसायिक पशुपालक दुग्ध उत्पादक कृषक समाज नेपालका केन्द्रीय अध्यक्ष आनन्द निउरे चकलेट उद्योग स्थापना चितवनका किसानका लागि हितको विषय भएको बताउँछन् । ‘यस्ता उद्योग स्थापना अवश्य पनि सकारात्मक हो,’ निउरेले भने, ‘यसले सम्बद्ध किसानलाई आफ्नो व्यवसाय विस्तारमा प्रेरित गर्छ ।’ दुग्ध उत्पादनले सही मूल्य नपाउने तर दाना, औषधि आदिको मूल्य बढ्दै जाने समस्याले जिल्लाका किसान मारमा परेको अवस्थामा यस्ता उद्योग स्थापनाले ठूलो राहत मिल्ने अपेक्षा उनले गरे । सरकारले किसानमैत्री नीति ल्याउन र दुग्धजन्य उत्पादनलाई विशेष प्राथमिकता राख्नुपर्नेमा समेत उनले जोड दिए ।

चितवनमा अहिले दैनिक करीब ३ लाख लिटर दूध उत्पादन हुँदै आएको छ । जिल्लामा ५०० भन्दा बढी व्यावसायिक दुग्ध किसान छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)