ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

निषेधाज्ञाको विकल्प खोज्न दबाब दिँदै चितवनका व्यवसायीले बुझाए ज्ञापनपत्र 

२०७७ भदौ, १४  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

भदौ १४, चितवन । चितवनका व्यवसायीहरुले निषेधाज्ञा मात्रै कोरोना रोकथामको उपाय नभएको भन्दै विकल्प खोज्न दबाब दिँदै आइतवार प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापनपत्र बुझाएका छन् । 

उनीहरुले निषेधाज्ञा दोस्रोपटक थप गर्दापनि संक्रमितको संख्यामा कमी नआएको, आर्थिक गतिविधि थप धराशायी भएको भन्दै प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईलाई ज्ञापनपत्र बुझाएका हुन् । उनीहरुले सोमवारदेखि निषेधाज्ञा हटाएर र स्वास्थ्य सुरक्षा मापदण्ड कडाई गरी अन्य सेवा खुकुलो गर्न माग गरेका हुन् । 

निषेधाज्ञा थपिदै जाँदा बैंकको ब्याज, चालूखर्च, भाडा तथा कर्मचारीको तलब ज्याला समेत दिन नसक्ने अवस्थामा रहेको भन्दै व्यवसायीले रोगको भन्दा भोकको अवस्था भयावह हुन लागेको भन्दै ध्यानाकर्षण गराएका थिए । 

कोरोनाको जोखिम र प्रभाव अझै २ वर्षसम्म रहन सक्ने र लकडाउनको विकल्पमा स्वः सतर्कता र स्वः सुरक्षा अपनाएर काम गर्न सकिने विश्व स्वास्थ्य संगठन र विज्ञहरुको सुझाव रहेकोले निषेधाज्ञा हटाएर खुकुलो गर्न उनीहरुले माग गरेका हुन् । साथै उनीहरुले वैकल्पिक उपायको लागि सुझाव समेत संकलन गरेका छन् । 

सुझावमा बैंक तथा वित्तीय संस्थाहरुको सेवाका प्रकृती अनुसार सिफ्ट निर्धारण गरी आलोपालोमा बिहान ५ देखि साँझ ६ बजेसम्म सञ्चालन गर्न सकिने, भिडभाडका कारण सेवा प्रवाहका क्रममा हुन सक्ने संक्रमणको जोखिम कम गर्नका लागि सेवाग्राहीहरुलाई एसएमएसको आधारमा बैंक आउने जाने व्यवस्था मिलाउन र मोबाइल बैंकिङका लागि प्रोत्साहन गर्न सकिने उल्लेख छ । 

यस्तै उद्योगको पत्र तथा परिचयपत्रको आधारमा कामदारहरुलाई दुईपांग्रे साधनमा एक जना र चार पांग्रे साधनमा चालकसहित अधिकतम दुई जनासम्म पूर्ण स्वास्थ्य सतर्कता अपाउदै आवत जावत गर्न सक्ने व्यवस्था मिलाउन सुझाव दिनुका साथै उद्योगहरुले कामदारलाई क्वारेन्टाइनमा राख्नु पर्ने व्यवस्था हटाउन पर्ने उनीहरुले माग गरेका छन् ।

टेक वे तथा होम डेलिभरी सेवा दिने गरी होटल तथा रेष्टुरेन्ट खोल्न सकिने, होटलहरुलाई आवश्यकता अनुसार शशुल्क क्वारेन्टाइन तथा आइसोलेशन बनाउन सकिने, भिडभाड नहुने गरी स्वास्थ्य सतर्कता अपनाएर सबै व्यवसाय सञ्चालन गर्न वातावरण मिलाउन उनीहरुको सुझाव छ । 

शैक्षिक शत्र खेर जान नदिन यथासम्भव वैकल्पिक शिक्षण विधिको प्रयोग गर्न सकिने र राज्यले औपचारिक मान्यता दिने तथा विद्यार्थी भर्ना गरी मासिक शुल्क उठाउन दिने लगायतका उनिहरुको सुझाव दिएका हुन्  । यसको जवाफमा प्रमुख जिल्ला अधिकारी भट्टराईले आफूले स्वास्थ्य सुरक्षा संवेदनशीलता हेरेर केही लचकता अपनाउने वचनबद्धता दिएको एक उद्योगीले जानकारी दिए । 

कोरोना जोखिम नियन्त्रण तथा रोकथामका लागि जिल्ला प्रशासन कार्यालय चितवनले तेस्रो चरण अन्तर्गत भदौ १९ गते राति १२ बजेसम्मका लागि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)