ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सधैं मल अभावको मारमा किसान

५ किलो मलका लागि ५ घण्टा लाइनमा

२०७७ भदौ, १५  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

भदौ १५, चितवन । देशभर धान गोडेर युरिया मल हाल्ने बेला भएको छ । कतिपय जिल्लामा धान पसाउन समेत थालेको छ । तर साउनदेखि नै किसान मल आउने प्रतीक्षामा थिए । गत सातादेखि नेपालमा मलको आपूर्ति भएको भनिए तापनि अझै पनि किसानले पाउन सकेका छैनन् । 

मलको नियमित आपुर्ति नहुनु र यतिबेला धानखेतीको लागि सबै किसानलाई एकैपटक युरिया मल आवश्यक परेकोले पनि सधैं यस्तो अवस्था आउने गरेको हो । प्राय हिउँदमा मलको माग पनि कम  र मौज्दात रहने वर्षायाममा माग बढेसँगै अभाव हुने वर्षौंदेखिको रोग बनेको छ । 

आइतवार साल्ट टे«डिङ कर्पोरेसन मार्फत चितवनका सयभन्दा बढी कृषि सहकारीलाई कम्पनीले समानुपातिक ढंगले युरिया मल बाँढ्यो । किसानहरू निषेधाज्ञाको पर्वाह नगरी आफ्नो घर नजिकका सहकारीमा गएर लाइन बसे । तर अत्यधिक भीडका कारण कतिपय ठाउँमा विवाद र झडप भएका कारण मल वितरण स्थगित गर्नुपरेको सहकारीका कर्मचारीले बताएका छन । 

भरतपुर महानगरपालिका वडा नम्बर १६ का किसान ज्ञानु शाही ठकुरी मलको लाइनमा बस्न लाग्दा लाठी चार्ज नै भएको बताउंँछन । ‘मल पाइन्छ भनेर बिहानै बोरा लिएर गएँ,’ उनले भने, ‘मल पाउनु त कता हो कता, झण्डै प्रहरीको लाठी खाइएन ।’ उनका अनुसार किसानलाई अधिकतम ५ देखि १० केजी दिने भनिए तापनि किसानको भीड बढ्दै गएपछि र विवाद भएपछि वितरण कार्य रोकिएको थियो । 

भरतपुर महानगर पालिका वडा नम्बर ६ स्थित प्रगतिशील कृषि सहकारीमा पनि उस्तै अवस्था सिर्जना भएको थियो । बिहानैदेखि लामो लाइन भएका कारण कतिपय किसानले ५ केजी मात्रै पाएको र कतिपय किसान रित्तै फर्कनु परेको गुनासो गरे । 

सो वडाकी किसान कमला पौडेल बिहानैदेखि बस्दा मध्याह्नतिर ५ केजी युरिया पाएको गुनासो गरिन । उनका अनुसार मलको माग र भीड अत्यधिक भएको र सहकारीमा न्यून मात्रामा मल आउंँदा किसानले सास्ती खेप्नु परेको हो । सहकारीले दामाशाहीले मल बाँड्ने गरे पनि अधिकांश सहकारीमा साल्ट ट्रेडिङले २० बोरा मात्र उपलब्ध गरेको कारण पनि समस्या परेको हो । 

लामो लाइन र विवादका कारण आफू रित्तै फर्किएको बताउँछन् सोही वडाका अर्का किसान भागीरथ तिमिल्सिना । ‘भीड पनि बढी भयो, मल पनि सकियो आखिरमा लाइनमा बसेर पनि रित्तै फर्किनुप¥यो,’ उनले दुखेसो पोखे । यो कुनै क्षेत्र, स्थान विशेषको समस्या मात्र नभई देशैभरिको समस्या रहेको बताउँछन् कृषि सामग्री केन्द्र लिमिटेड चितवनका प्रमुख रवीन्द्र गौतम । ‘जिल्लामा सबैभन्दा बढी मल वितरण गर्ने संस्था हाम्रो हो,’ उनले भने, ‘हाम्रोमा मल अझै आएकै छैन ।’ 

लामो समयको पर्खाइपछि मल आएको र मल हाल्ने समय घर्किसकेको हुनाले पनि किसानको भीड बढेको उनले बताए । उनका अनुसार हाल साल्ट टे«डिङले २० प्रतिशत युरिया मल बेच्न गर्दछ भने ८० प्रतिशत कृषि सामग्रीले वितरण गर्ने भएकोले हाललाई मल अभाव भएको हो । 

साल्ट टे«डिङ कम्पनी, चितवनका प्रमुख वुद्धि विनोद दाहाल मागको तुलनामा आपूर्ति अति न्यून भएकोले किसानले अभाव झेल्नु परेको बताउँछन् । ‘अहिलेसम्म ६३ मेट्रिकटन जति मल आएको होला,’ उनले भने, ‘धानको सिजनमा मात्रै यहाँ वार्षिक १० हजार मेट्रिक टनको माग छ ।’ उनका अनुसार दैनिक रूपमा २० मेट्रिक टन मलमात्र आएकोले सहज हुन केही दिन लाग्ने छ । शुरूका दिनमा सहकारीमा भीड भए पनि भदौको अन्तिमसम्म सबै कृषकले पर्याप्त मल पाउने उनको भनाइ छ । सरकारले मल खरीद प्रक्रिया नै ढिला गर्ने गरेकोले र थप युरिया मल चीनबाट भारतको कलकत्ता बन्दरगाह हुँदै आउने भएकोले पनि किसानले समयमै मल पाउन नसकेका हुुन् । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)