ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जोखिम कम हुँदा बाख्रापालनमा युवाको आकर्षण

२०७७ भदौ, १७  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

 भदौ १७, चितवन । पछिल्लो समय चितवनमा पोल्ट्री, केरा, माछा, मौरी, दूध उत्पादनपछि बाख्रापालनमा समेत युवाको ध्यान केन्द्रित हुन थालेको छ ।

विशेषगरी बिदेशबाट फर्केर आएका युवा तथा शिक्षित युवापनि व्यवसायिक बाख्रापालनमा रम्न थालेका छन् । उपयुक्त हावापानी र राम्रो आम्दानीका साथै जोखिम कम भएकोले पनि यसतर्फ युवाहरुको आकर्षण बढेको हो ।

यस जिल्लाका अधिकांश नगरपालिकामा व्यवसायिक रुपमा बाख्रापालन गर्न थालिएको छ । हुनत विश्वकै महंगो प्रजातिको व्यवसायिक बोयर बाख्रा पालन पनि चितवन जिल्लामै भइरहेको छ ।

कुखुरा तथा गाईवस्तु पालनको तुलनामा बाख्रापालनमा खर्च र जोखिम कम भएकोले बाख्रापालन तर्फ आकर्षण भएको ती व्यवसायीहरु बताउँछन् । कैयौं चितवनका  किसानले शुरुआती क्षणमा निर्वाहमुखी बाख्रापालन गर्दै आएपनि अहिले लगानीसमेत वृद्धि गरी यस व्यवसायलाई विस्तार गर्दै लगेका छन् । 

भरतपुर महानगरपालिका–२१ का दिपक सापकोटा बिदेशबाट फर्किएको केही समयपछिनै बाख्रपालन शुरु गरेको बताउँछन् । ‘म मलेशिया र साउदी गरेर १० वर्ष बिदेश बसें’, उनले भने, ‘फर्किएपछि अहिले बाख्रापालन गरेर राम्रो आम्दानी गरिरहेको छु ।’ उनले शुरुआती क्षणमा कुखुरा पालनगर्न मन लागे पनि रोग र मूल्यको उत्तारचढावले बाख्रा पालन गर्न शुरु गरेको बताए ।

पहिले छ ओटा पाठापाठीबाट व्यवसाय शुरु गरेपनि अहिले यसलाई विस्तार गरेर खोर र घाँस व्यवस्थापन गर्न लागेको उनले बताए । खसीको मासुको माग उत्तिकै रहेको र पाल्नपनि सहज भएकोले अधिकांश युवाहरु यसतर्फ आकर्षण भएका हुन् । 

कुखुरापालनको तुलनामा बाख्रापालन गर्दा आम्दानी र सजिलै विक्री हुने भएकोले आफू बाख्रापालन शुरु गरेको बताउँछन्, भरतपुर महानगरपालिका–२३ का किसान रामप्रसाद अधिकारी । ‘मलाई पहिले यसबारे अनुभव थिएन, कुखुरा पाल्ने सोचमा थिंए’, उनले भने, ‘पछि मैले मेरो निर्णय नै परिवर्तन गरें ।’

आफू कुवेतमा पाँच वर्षपछि फर्केर आएको र स्थानीय जातको जमुनापारी बाख्रा पाल्न शुरु गरेको  उनले बताए । ‘शुरुमा सानै लगानीमा लोकल जातकै पालेको छु पछि उन्नत जातको बोयर बाख्रा पाल्ने योजना छ’, उनले भने । 

जिल्लाको सबै पालिकामा अहिले बाख्रापालन गर्ने किसानहरु उल्लेखनीय रुपमा बढेका छन् । माडी नगरपालिका–७, देवेन्द्रपुरमा माडी एग्रो फार्म सञ्चालन गरेका नीलकण्ठ काफ्लेले बाख्रापालनको संभावना देखेर व्यवसाय शुरु गरेको बताए ।

यसअघि माडीमा स्थानीय जातका बाख्रासहित जमुनापारी, बारबारी, खरीलगायत जातका बाख्राहरु पलन गर्ने गरिएको भएपनि कतिपय युवाले विदेशबाट बोयर जातको उनन्त बाख्रा भित्र्याएर व्यवसाय गरिरहेको उनी बताउँछन् ।

विगत छ वर्षदेखि अष्ट्रेलियाबाट बोयर बाख्राको ब्याड ल्याएर बाख्रापालन शुरु गरेका भरतपुर महानगरपालिका – २३ जगतपुर एग्रो फार्मका सञ्चालक योगेन्द्र खड्का  पछिल्लो समय युवाहरुमा बाख्रापालन गर्न रुचि बढेको बताउँछन् । 

उनले भने, ‘मैलै अहिले झण्डै ५५ ओटा जिल्लामा बोयरको पाठापाठी बेचिरहेको छु, तर मागमा कहिल्यै कमी आएको छैन । वर्षदिन देखिको बुकिङ अग्रिम छ । ’

खसीको मासुको अत्याधिक माग बढेको र भारतबाट पनि भित्रिन छाडेकोले  बाख्रापालनतर्फ युवाहरु आकर्षित भएको उनको भनाइ छ । ‘दैनिक खर्चपनि यसको कमनै हुन्छ, विक्री नहुने भन्ने डर पनि हुँदैन’ उनले भने । 

घर वरपर तथा नजिकको जंगलमा रहेको घाँसपातले पनि बाख्रापालन गर्न सकिने र यसको मूल्य नघटेका कारण पनि यसतर्फ किसानहरु थपिदै गएको उनले बताए ।

सरकारले पनि यस्ता लघु व्यवसायलाई प्रर्वद्धन गरी युवालाई आकर्षित गर्न विभिन्न अनुदान र सेवा सुविधाको कार्यक्रम ल्याएको छ । खोर बनाउन, घाँसको बीउ र प्राविधिक सहयोग सजिलै पाउने भएकोले बाख्रापालनतर्फ किसानको संख्या बढेको बताउँछन्, पशुसेवा विज्ञ केन्द्रका चिकित्सक विकास श्रेष्ठ । 

‘गत वर्षमात्र हामीले १६ जनालाई प्रतिफार्म रू.२ लाख अनुदान दिएका थियौं’, उनले भने, ‘अहिले पनि बाख्रापालनमा संलग्न युवाहरु दैनिकरुपमा परामर्शको लागि आउने क्रम बढेको छ ।’ उनका अनुसार कुखुरा तथा दुग्ध उत्पादक किसानहरु पनि पछिल्लो समय बाख्रापालनतर्फ आकर्षित हुन थालेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)