ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सरकारलाई मजाले काम गर्न दिनुस् !

२०७७ भदौ, १९  
तीतो मीठो
Aarthik Abhiyan 18th Anniversary
author avatar मदन लम्साल

देशको माटो कि त राष्ट्रवादीहरूको कब्जामा छ, कि त जग्गा दलालहरूको । अहिले त माटो मात्र होइन हजुर, तपाईं हाम्रो जिन्दगीको बाटो समेत सीमित केही लहडीहरूको कब्जामै छ । तर के गुनासो गर्ने ? तपाईं हामीले नै हाम्रो जिन्दगीमाथि नै उहाँहरूलाई शासन गर्ने अधिकार दिएका होइनौं र ?

त्यसैले त उहाँहरूले पनि जसरी र जति मन लाग्छ, त्यसरी नै लकडाउन, निषेधाज्ञा, एरिया सिल ठोक्दै उर्दीपछि उर्दी जारी गरिरहनुभएको छ । आफूहरू दरबारभित्र बस्ने हो । बाहिर के भइरहेको छ, त्यत्ति थाहा हुँदैन नि त उहाँहरूलाई !

सरकारले बजेटमा, मौद्रिक नीतिमा राहतैराहत दिएकै छ । अब त्यसलाई पकाएर खाने हो वा काँचै भन्ने त आफै जान्नु प¥यो । सरकारले सबैलाई चम्चाले त खुवाउँदै हिँड्न सक्दैन नि । बिचरा उसलाई त अरूले खुवाउनु पर्छ, अनि के गरोस् ?

लकडाउनले केहीलाई बेफाइदा गर्‍यो होला । तर फाइदा पनि त धेरै छन् नि । पछिल्लो पटक थपेको निषेधाज्ञाको उपलब्धि हेर्नुस् त । यस अवधिमा थप करीब ७०० मानिसको पीसीआर टेष्ट भएछ । चानचुन उपलब्धि हो यो ? राजनीतिमा स्थिरता आएको छ । अब सुख र समृद्धि पनि सँगै आउँछन् । मन्त्री, ठेकेदार र केही कर्मचारीको घरमा आइसके । विस्तारै आसेपासेकहाँ पनि आइहाल्छन् । सरकारले गरेका यत्रो काम नदेख्ने ? आँखामा फुलो परेकाले मात्र सरकारले गरेको प्रगति देख्दैन ।

नेता, मन्त्री, कर्मचारी वा ठूला व्यवसायी भएपछि आफ्नो सम्पत्तिमा कतिले घटबढ भएछ भनेर बेलाबेलामा क्याल्कुलेटर थिचिरहन मन लागिहाल्छ नि । मौकाको फाइदा उठाउने सही वातावरण पाएकोमा पनि आनन्द त लाग्छ नि । आआफ्नो भाग्यको कुरा न हो । मौकामा चौका हान्ने हो । सुखले बाँच्ने हो । मरेपछि फेरि जन्म हुने हो वा नहुने हो, थाहा छैन ।

एकथरी मानिसहरू अझ खासगरी सानोतिनो व्यवसाय गरेर बसेकाहरू आप्mनो पेट पाल्न नसकेर घर न घाटमा पुगिसकेका छन् रे । सरकारले घरमा बस भनेकै छ । बरु सरकारले घरमा नथुनेको भए घाटका भइसक्थे कि ? फेरि काल आए न मर्ने हो ? काल न आई कहाँ को मरेको छ र ? यता सरकार पनि जिउँदै छ त । त्यसैले कसैले चिन्ता लिनै पर्दैन । चिन्ता लिने काम सरकारको हो । धैर्य गर्ने काम जनताको । त्यत्ति न हो ।

सरकारलाई कर, कर्मचारीलाई तलब, बैंकलाई ब्याज निरन्तर बुझाउने गर्दै गर्नुस् । पछि सरकारले पनि केही न केही त पक्कै गर्छ । अर्थोक नसके पनि केही कर थप्दिइहाल्छ नि । ६ महीनादेखि काम नगरी सुतीसुती खान दिने सरकार छ । अब के को चिन्ता ?

सरकारले बजेटमा, मौद्रिक नीतिमा राहतैराहत दिएकै छ । अब त्यसलाई पकाएर खाने हो वा काँचै भन्ने त आफै जान्नु पर्‍यो । सरकारले सबैलाई चम्चाले त खुवाउँदै हिँड्न सक्दैन नि । बिचरा उसलाई त अरूले खुवाउनु पर्छ, अनि के गरोस् ?

खानलाई नै समस्या परेको हो भने मनकारी मनहरूले बाटाबाटामा खाना बाँड्दै हिँडेका छँदै छन् । त्यहीँ गएर आफ्नो छाक टारे भैहाल्छ । सरकारलाई गाली गरेर बसेर त खाना, नाना र छाना त आउँदैन नि ।

देशमा सरकारै छैन रे । किन छैन सरकार ? संघीय सरकार छ, प्रदेश सरकार छ र स्थानीय सरकारहरू छन् त ! यतिले नपुगेर प्रतिपक्षको छाया सरकार छ । यी सरकारका दाँयाबाँया आसेपासे पनि सरकार नै हुन् । उनीहरू आफू जनताको प्रतिनिधि भएको भन्दै ठूल्ठूलो स्वरमा कड्किरहेकै छन् ।

यदाकदा मौका पारेर गणतन्त्रको भोज खानेहरू होलान् । तर पैसा भन्ने चीज नै यस्तै हुँदो रैच क्या ! पाएपछि निल्न मन लागिहाल्ने । हुन पनि पैसा भएपछि प्रायः सबैै थोक किन्न पाइन्छ रे । पैसा भए पसल पसलमा देउता किन्न पाइन्छ रे । अदालतमा न्याय किन्न पाइन्छ रे । चुनावमा टिकट किन्न पाइन्छ रे । कलेजै नगई पीएचडीको उपाधि पाइन्छ रे । अरू त अरू पैसा भए पढ्दै नपढे पनि विद्वान् बन्न, विज्ञ भनाउन पाइन्छ रे ।

अनि त पैसाका पछि त लाग्ने नै भए नि मान्छे । त्यो पैसालाई चलाउन राजनीतिमा लाग्न परेन त ? किनकि कर तिर्न पनि नपर्ने र विनालगानी नाफा सोहोर्ने सबैभन्दा सहज एउटा अच्छा धन्दा, अझ भनौं राष्ट्रिय उद्यमशीलता राजनीति नै त छ अहिले ।

त्यसैले पैसा कमाउन ल्याकत छ भने छिरिहाल्नोस् कुनै एउटा दलको झण्डामुनि । हैन भने लागिहाल्नोस् कुनै ठेक्कापट्टा पाउन वा कुनै सार्वजनिक पद पड्काउन । र, छाड्नोस् देशका ठूला मान्छेहरूलाई गाली गर्न । सक्नेले बाचुन्जेल न खाने हो । थपी थपी खानोस् । सक्नुहुन्छ भने सात पुस्तालाई पुग्ने गरी खानोस् । खानलाई केको लाज ? देख्नेलाई पो लाग्छ लाज । फेरि मरे पछि के नै लानु छ र ? मरेपछि खरानी न हुने हो ।

यो महामारीका बेला सरकार खुब व्यस्त छ । त्यसैले, आइन्दा यो भएन र त्यो भएन भन्न छाड्नुस् र सरकारलाई मजाले काम गर्न दिनुस् !

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)