विस्तारै होटलमा समेत व्यक्तिगत सेवा प्राप्त गर्न चाहने पर्यटकको सङ्ख्या वृद्धि भइरहेको एक सर्वेक्षणले देखाएको छ । विश्वका अधिकांश स्थानबाट आउने पर्यटकले प्रायः व्यक्तिगत सेवाको अनुभव गर्न चाहेको अन्तरराष्ट्रिय होटल समूह (आईएचजी)ले गरेको एक सर्वेक्षणमा पाइएको हो । सर्वेक्षणअनुसार यस्तो चाहना राख्नेमा विशेषगरी उदीयमान राष्ट्रबाट आउने पर्यटक छन् ।
आईएचजीले विश्वभरिका करीब ७ हजार पर्यटकबीच गरेको सर्वेक्षणमा होटलहरुले प्रदान गर्ने उच्च गुणस्तरका विभिन्न सुविधाबाहेक ग्राहकले स्थानीय जीवनशैली र रीतिरिवाजबारे पनि जानकारी हासिल गर्न चाहेको देखिएको छ । अधिकांश ग्राहकले आफ्ना व्यक्तिगत आवश्यकतालाई प्राथमिकतामा राखेर होटल व्यवस्थापनबाट सेवा प्रदान गरियोस् भन्ने चाहना राख्ने गरेको पनि सर्वेक्षणमा पाइएको छ । सर्वेक्षणमा सहभागी ५९ प्रतिशत पर्यटकले व्यक्तिगत सेवा उपलब्ध भए आफ्नो होटल बसाइ बढी आरामदायी हुने बताएका थिए । त्यस्तै ५४ प्रतिशतले भने त्यस्तो सुविधा पाएमा आफूले बढी इज्जत पाएको अनुभव हुने अभिव्यक्ति दिएको आईएचजीद्वारा सार्वजनिक प्रतिवेदनमा बताइएको छ ।
त्यस्ता सुविधाको चाहना ग्राहकको उमेरअनुसार फरक फरक हुने गरेको बताइन्छ । १८ देखि ३४ वर्ष उमेरसमूहका पर्यटकले होटल बसाइका क्रममा चलचित्र तथा गीत सङ्गीतको व्यवस्था होस् भन्ने चाहेका हुन्छन् । उता, ६५ वर्ष र सोभन्दा माथिल्लो उमेरसमूहकाले भने स्वस्थवर्द्धक खाना तथा पेय पदार्थको चाहना राख्ने गरेका छन् । व्यक्तिगत सेवाको चाहना राख्नेमा चिनियाँ र ब्राजिलियन पर्यटकको सङ्ख्या सबैभन्दा उच्च रहेको छ । ६४ प्रतिशत चिनियाँ र ६२ प्रतिशत ब्राजिलियन पर्यटकले आफू बस्ने होटलले व्यक्तिगत चाहनालाई बढी प्राथमिकता दिँदै सेवा प्रदान गरोस् भन्ने चाहना राख्ने गरेका छन् । यस्तो चाहना राख्नेमा अमेरिकी र बेलायती पर्यटकको सङ्ख्या क्रमशः ४३ र ४२ प्रतिशत रहेको सर्वेक्षणमा पाइएको छ । आईएचजीले ‘नयाँ विश्वव्यापी खोजकर्ता’को संज्ञा दिएका उदीयमान अर्थतन्त्रका पर्यटकहरु आफ्नो चाहनाअनुसारको व्यक्तिगत सेवा प्राप्त गर्दा सम्मानित भएको महसूस गर्छन् । ६२ प्रतिशत चिनियाँ, ५४ प्रतिशत ब्राजिलियन र ४६ प्रतिशत अरेबियन पर्यटकले यस्तो महसूस गर्ने गरेको बताएका छन् । सर्वेक्षणमा सहभागी अन्य राष्ट्रका पर्यटकमध्ये ३९ प्रतिशतले मात्र यस्तो सहसूस गर्ने बताएका छन् । व्यक्तिगत सेवाको प्राथमिकता पनि ग्राहकको राष्ट्रियताका आधारमा भिन्न पाइएको सर्वेक्षणले देखाएको छ । बेलायती पर्यटकको आश्चर्यप्रति बढी झुकाव छ भने अमेरिकीहरु जाने र आउने समय आफूले नै निर्धारण गर्न चाहन्छन् । त्यस्तै चिनियाँहरु भने स्थानीय रीतिरिवाजबारे जानकारी हासिल गर्न चाहन्छन् ।