ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कुखुराको मासुको मूल्य घट्दा किसान दुःखी, उपभोक्ता खुशी 

२०७७ भदौ, २१  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

भदौ २१, चितवन । विगत केही समयदेखि कुखुराको मासुको मूल्यमा निरन्तर ह्रास आउँदा कुखुरापालक किसान मर्कामा परेका छन् । पछिल्लो समय उत्पादन सन्तोषजनक भएपनि बजारमा मासुको खपत बढ्न सकेको छैन ।

लागत मूल्य प्रतिकेजी रू. २०० को हाराहारीमा परेपनि जिउँदो कुखुरा प्रतिकेजी  रू. ९० सम्म घटेपछि कृषकहरु निराश भएका हुन् । यसको साथै कुखुराको मासुको मुल्य घट्दा उपभोक्ता भने खुशी भएका छन ।

तरकारीको मूल्यको तुलनामा मासुको मूल्य घट्दा जिल्लाका मासु पसलहरुमा चाप बढेको छ । पहिलो चरणको लकडाउनको समयमा प्रतिकेजी रू.४०० सम्म पुगेको तयारी मासु हाल अधिकतम प्रतिकेजी रू. २३० मा झरेको छ । 

भरतपुर महानगरपालिका–१२ का उपभोक्ता चीज कुमार श्रेष्ठ मासुको मुल्य घट्दा आफू दैनिक जसो मासु किन्न आउने गरेको बताउँछन् । ‘पहिले मासु किन्दा एक केजीकै रू.४०० तिनुपथ्र्यो’, उनले भने, ‘अहिले मुल्य आधा जतिनै घटेको छ ।’ उनका अनुसार तरकारीको मूल्य प्रतिदिन बढ्दै गएकोले मासुको उपभोग बढी रहेको छ ।

हाल अहिले जिल्लाका अधिकांश मासु पसलमा बिहान र बेलुका उपभोक्ताको चाप बढ्दै गएको देखिन्छ । मासु पसलका सञ्चालक पनि पहिलेको तुलनामा विक्री बढेको तर फाइदा भने खासै नभएको बताउंँछन् । 

भरतपुर महानगरपालिका–१२ मै रहेको खनाल फ्रेस हाउसका सञ्चालक बुद्धिसागर खनाल पनि अहिले मासुको उपभोगमा झण्डै दोब्बर विक्री हुने गरेको बताउँछन् । ‘बिक्री त दोब्बर बढेको छ तर रेट प्रतिस्पर्धा भएका कारण परिमाण बढेपनि फाइदा भने छैन’, उनले भने । 

तर किसानहरु उत्पादन भएपनि सोही अनुसारको मुल्य नपाउँदा निराश छन् । एकातिर दाना औषधी र चल्ला नगदमा किन्नु परेको छ । किसानहरु कुखुरा सस्तो र उधारोमा विक्री गर्नुपर्दा दोहोरो मारमा परेका हुन् । 

कालीका नगरपालिका–८ का किसान प्रकाशबाबु खनाल किसानहरु संगठित नहुँदा यसको फाइदा ठूला व्यवसायीले लिएको बताउँछन् । आफ्नो फार्ममा उत्पादन राम्रो भएपनि सस्तोमा बेच्नुपर्दा किसानहरु विस्थापित हुने अवस्थामा पुगेको उनको भनाइ छ ।

’आफ्नै उत्पादन लागत झण्डै प्रतिकेजी रू.२२० पर्छ’, उनले भने, ‘ रू. ९० प्रतिकेजी बेच्नु पर्ने बाध्यता छ ।’ हाल आफ्नो फार्ममा ९ हजार ओटा ब्रोइलर कुखुरा भएपनि मुल्यमा गिरावट आएका कारण आधाभन्दा बढी तयारी कुखुरा बेच्न नसकेको बताए । 
‘बेचेर के गर्नु उल्टो घाटा छ ।

बेचेपनि नगद पाइदैंन, दाना र चल्ला व्यापारी पैसा माग्न आइहाल्छन् ।’ उनले भने ।  लकडाउन र निशेधाज्ञा खुकुलो भएसंँगै मुल्यमा केही सुधार हुने आशमा आफू पर्खिरहेको उनले बताए । तर कुखुरापालक किसानले  भने राज्यको नीति, ठूला व्यवसायी र विचौलियाका कारण आफूहरु चेपुवामा परेको बताएका छन्  ।

नेपाल कुखुरापालक किसान संघका केन्द्रीय अध्यक्ष झनक प्रसाद पौडेल राज्य सधै उदासीन हुँदा र विचौलिया हाबी हुँदा कुखुराको मासु सस्तोमा बेच्नु परेको बताउँछन् । ‘उत्पादन र खपतको अनुपात लगभग एउटै छ’, उनले भने, ‘तर कोभिड– १९ को  त्रास देखाएर किसानलाई तर्साइएको छ ।’ 

उनका अनुसार लकडाउनको समयमा ठूला व्यवसायीले सस्तोमा कुखुरा खरीद गरेर  भण्डारण गरेको र समयअनुकल मुल्य वृद्धि गर्ने खेलमा लागेको उनले आरोप लगाए । ‘अघिल्लो बर्षभन्दा  ५० प्रतिशत भन्दा बढी उत्पादनमा ह्रास छ, खपतपनि उही अनुपातमा छ, मूल्य भने लागतभन्दा आधा कममा बेच्नु परेको छ’, उनले भने । 
 

कुखुराको मुल्य सस्तो हुँदा खपत बढ्दै गरेको कारण मासु, पसल, विचौलिया र उपभोक्तलाई फाइदा भएपनि किसानहरु भने ठूलो मारमा परेको कुखुरापालक कृषकहरुको भनाइ छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)