ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

खपतसँगै घट्यो मासुको मूल्य

२०७७ भदौ, २२  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । सरकारले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि देशका विभिन्न ठाउँमा निशेधाज्ञा जारी गरेको छ । तर, निषेधाज्ञाको बीचमा कृषि तथा मासुजन्य उत्पादनको ढुवानीलाई सहज गरिएको भए पनि मासुजन्य वस्तुको माग भने अत्यन्त न्यून भएको छ । मासुको मागमा आएको कमीसँगै मूल्य पनि ह्वात्तै घटेको छ ।

असारको पहिलो सातादेखि देशभर बन्दाबन्दी खुकुलो भएपछि अधिकाश किसानहरूले ब्रोइलर कुखुरा पाल्न पुनः शुरू गरेका थिए । तर, त्यसको २ महीना नपुग्दै देशका अधिकांश जिल्लामा बन्दाबन्दी र निशेधाज्ञा जारी गरेपछि मासुको मूल्य ओरालो लाग्दै गएको हो । तर, अण्डाको हकमा भने हरेक किराना पसल र खाद्य पसल खुलेका कारण विक्रीमा कुनै प्रभाव परेको छैन भने मूल्य समेत स्थिर छ ।

भरतपुर महानगरपालिका–१० स्थित भ्याली कोल्ड स्टोरका थोक विक्रेता तेजनारायण पाण्डे खपतमा तीव्र कमी आउँदा मूल्यमा समेत कमी आएको बताउँछन् । ‘बन्दाबन्दी खुल्यो भनेर सबै किसानले आफ्नो फार्ममा कुखुरा हाले’, उनले भने, ‘अहिले अधिकांश स्थानमा निषेधाज्ञा भएकाले विक्रीमा समस्या आइरहेको छ ।’

उनका अनुसार फ्रेस हाउस तथा कोल्ड स्टोर सहज रूपमा खोल्न नपाउँदा पनि विक्री घटेको हो । विक्री कम भएपछि मूल्य घटाउनुको विकल्प नभएको र उत्पादन समेत थुप्रिएका कारण मूल्यमा कमी आएको उनको भनाइ छ ।

हाल चितवनमा जिउँदो ब्रोइलर प्रतिकेजी रू. ९० देखि रू. ११५ मा खरीदविक्री भइरहेको छ भने तयारी मासु अधिकतम प्रतिकेजी रू. २४० छ । तर, प्रतिकेजी मासुको उत्पादन नै रू. २०० को हाराहारी पर्छ । यसअघि तयारी मासु प्रतिकेजी रू. ४०० सम्म विक्री हुँदै आएको थियो ।

मासुको उत्पादन वृद्धि बढी र कम हुँदा हाल काठमाडौं लगायत अन्य शहरमा मासुको मागमा केही वृद्धि भएको छ । नेपाल कुखुरा बजार व्यवस्थापन सघका केन्द्रीय अध्यक्ष हरिकृष्ण लोहनी ढुवानीमा सहज भए पनि खपत भने न्यून भएको किसानहरू बताउँछन् । मूल्य घटे पनि उपभोक्ताको भान्सासम्म मासु पुग्न नसक्दा खपतसँगै मूलय पनि घटेको उनीहरूको भनाइ छ ।

उनका अनुसार तराईका जिल्लामा साउन महीनामा मासुको खपत नहुने र काठमाडौंमा निषेधाज्ञा भएकाले मूल्य र मागमा असर परेको किसानहरूको भनाइ छ । तर, बन्दाबन्दी खुकुलो भएपछि मूल्यमा सुधार आउने अपेक्षा पनि उनीहरूको छ ।

किसानहरूका अनुसार मासुको तुलनामा भने अण्डाको उत्पादन र विक्रीमा करीब सन्तुलनमा आएको छ । बन्दाबन्दी भएपछि अधिकांश साना किसानले दानाको अभावमा लेयर्स (अण्डा पार्ने कुखुरा) पाल्नै छाडेका थिए । त्यसको असर अहिले अण्डाको उत्पादनमा परेको छ । अण्डा उत्पादनका लागि कुखुरा खोरमा राखेको कम्तीमा ६ महीना हुनुपर्दछ ।
उत्पादनमा खासै वृद्धि नहुँदा र उत्पादित अण्डा सबै ठाउँमा पुगेका कारण अण्डाको मूल्यमा उत्तारचढाव नआएको नेपाल अण्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष शिवराम केसीले बताए । ‘उत्पादनको तुलनामा माग पनि ठिकै छ, मूल्य पनि स्थिर भएको छ’, उनले भने । बन्दाबन्दीका बेला अन्य समयको तुलनामा अण्डाको माग पनि नबढेकाले यस्तो अवस्था आएको उनको भनाइ छ ।

केसीका अनुसार यो समयमा लामो समयमसम्म अण्डा भण्डार गर्न सकिने र हरेक पसलमा पाइने भएकाले विक्रीमा समस्या छैन । तर, लागतको तुलनामा मूल्य वृद्धि हुन नसक्दा अण्डा उत्पादक किसान पनि नाफामा भने छैनन् । हाल ठूला किसानलाई अण्डा उत्पादन गर्दा प्रतिगोटा ११ रूपैयाँ परे पनि ठूला किसानलाई भने कम लागत मूल्य पर्ने केसीको भनाइ छ ।

उनका अनुसार हाल बजारमा सानो अण्डाको मूल्य रू. २५५ प्रतिक्रेट छ भने, ठूलो अण्डाको मूल्य प्रतिक्रेट रू. ३१५ छ ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)