ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

महको उत्पादन आधा घट्यो, यस वर्ष अझै घट्ने प्रक्षेपण 

२०७७ भदौ, २२  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

भदौ २२, चितवन । कोभिड– १९ का कारण देशभर जारी लकडाउनको असर मह उत्पादनमा पनि परेको छ । लकडाउनका कारण र मौसम प्रतिकुलताका कारण मौरी चराउन नपाउँदा महको उत्पादन झण्डै ५० प्रतिशत ह्रास आएको नेपाल मौरीपालक  महासंघले बताएको छ । 

सिजनको समयमा मौरीलाई चराउन चितवनका किसानलले दाङ, प्यूठान, अर्गाखाँची, महोत्तरी लगायतका जिल्लाहरुमा लाने गर्दथे । तर लकडाउनका कारण ढुवानी सहज नहुँदा र त्यहाँका स्थानीय सरकारले समेत अवरोध गर्दा मौरीलाई घर वरिपरिनै चिनी खुवाएर राख्नु परेको मौरी किसानको गुनासो छ । 

‘अघिल्लो वर्ष त ५० क्वीन्टल मह विक्री भएको थियो, अहिले त विक्री पनि छैन । घारको संख्या पनि घटाएको छु’, भरतपुर महानगरपालिका वडा नम्बर ९ का किसान विष्णु भुषालले भने । सिजनको समयमै लकडाउन जारी भएको र मौरी चराउन अन्य जिल्ला लान नसक्दा उत्पादन घटेको उनले बताए । लकडाउन लम्बिदै जांँदा र आउंँदो सिजनमा समेत चराउन लैजान नपाए थप उत्पादन घट्ने उनको भनाइ छ । 

मह उत्पादनको लागि मुख्यतः असारदेखि भदौ महीनालाई अफसिजन मानिन्छ । अहिले जिल्लाका किसानहरुले घारभित्रै मौरीलाई आहाराको रुपमा चिनीपानी घोलेर खुवाउने गरेका छन् । जसका कारण यो समयमा महसमेत उत्पादन हुँदैन । 

भरतपुर महानगरपालिका– १ रामनगरका  गोर्खा मौरी फार्मका सञ्चालक एवं मौरीविज्ञ डाक्टर खेमराज पौडेल गत वर्ष महको उत्पादन झण्डै ५० प्रतिशत ह्रास आएको बताउँछन् । ‘महको उत्पादनमा ह्रास आएको छ, मौरीको गोला विस्तार पनि हुन पाएको छैन’, डा पौडेलले भने । 

गत वर्ष हिउँदमा समेत निरन्तर वर्षा भएको कारण  हरेक बोटविरुवाको फूल झर्ने र रस पखालिएका कारण पनि मौरीले रस संकलन गर्न सेकेका थिएनन् । लकडाउनका कारण किसानले मौरी चराउन नपाएका कारण सही रुपमा मौरीको  हेरचाह हुन नसक्दा मह उत्पादनमा ह्रास आएको उनको भनाइ छ । 

मौरीको चरन व्यवस्थापन हुन नसक्दा र बिषादीका कारण मौरी मर्ने क्रम समेत बढेको छ । दिनहुँजसो मह उत्पादन लागत बढ्ने तर विक्री र मूल्यमा समेत सुधार हुन नसक्दा किसानहरु विस्थापित समेत हुने अवस्थामा पुगेका छन् ।

संघका केन्द्रीय अध्यक्ष शिवप्रसाद शर्मा मह उत्पादन हुन नसक्दा र घार विस्तार हुन नसक्दा उत्पादनमा ह्रास हँदै गएको छ । ‘गत वर्ष ५० प्रतिशत जति उत्पादन घटेको छ, किसान पनि घटेका छन्’,उनले भने, ‘अहिले अवस्थाले यो वर्ष थप मह उत्पादन घट्छ ।’

किसानलाई चरनकै चिन्ता 

गत वर्ष पनि मौरी किसानले मौरी चराउन नपाएर मह उत्पादन घटेको थियो । यो वर्ष पनि  जारी लकडाउनका कारण उनीहरुमा झनै  चिन्ता थपिएको छ । ‘अब असोजदेखि फेरी सिजन शुरु हुन्छ, मौरी कहाँ चराउन लाने हो, अन्यौल छ’, किसान विष्णु भुषालले भने । 

लकडाउनका कारण मौरीको घार ढुवानीमा सहज नहुंँदा र ती जिल्लाहरुमा अवरोध जारी भएका कारण उत्पादनमा थप ह्रास आउने अनुमान गरिएको छ । 

गत वर्ष चराउन लगिएको मौरी बाटोबाटै फर्काइएका कारण मौरी मरेको किसानलहरुले बताएका छन्  । ‘पोहोर  महोत्तरी लैजान लागेको घार बीच बाटोबाटनै फर्काइयो, आधाभन्दा बढी मौरी मरे’, भुषालले भने । 

चितवनमा चरनको लागि प्रशस्त ठाउँ नभएको र चिउरीको बोट लगाउनका   लागि तीन ओटै तहका सरकारले चासो नदेखाएको कारण मौरी चराउन अन्य जिल्ला लानुपर्ने बाध्यता छ । केही दशक अघि मात्र तोरीको राजधानी भएको जिल्लाको रुपमा चिनिएको चितवनमा पनि तोरीखेती गर्ने जमीन र किसानको संख्यासमेत घटेको कारण मौरी चरन पर्याप्त छैन  । 

‘अब असोजबाट मौरी लैजान पाइएन भने फेरि कात्तिकको अन्तिम सम्म चिनी खुवाएरै बचाउनु पर्छ’ , केन्द्रीय अध्यक्ष शर्माले भने । चितवनमा कात्तिक दोस्रो सातापछि मात्रै तोरी फूल्ने र यहाँको तोरीखेतीले मात्र चरन पर्याप्त नहुने उनको भनाइ छ ।

अघिल्लो वर्ष देशभर २ हजार ५०० मेट्रिक टन(मेट) भन्दा बढी मह उत्पादन भएको थियो । गत वर्षमा घटेर १ हजार ५०० मेट मह उत्पादन भएको संघको तथ्यांक छ । त्यसमध्ये गत वर्ष चितवनमा मात्रै ४०० मेट मह उत्पादन भएको थियो ।

यो वर्ष मह उत्पादन घटेर १ हजार मेटभन्दा कम उत्पादन हुने अनुमान गरिएको छ । देशभर मौरीपालक किसानको संख्या ६ हजार ५०० छन् भने चितवनमा मात्रै ५०० को हाराहारीमा छन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)