ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

महको उत्पादन आधा घट्यो

२०७७ भदौ, २५  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । कोरोना भाइरसको महामारीका कारण लामो समयदे िखजारी गरिएको बन्दाबन्दी तथा निषेधाज्ञाको असर मह उत्पादनमा पनि परेको छ । बन्दाबन्दी र निषेधाज्ञाका कारण मौसम प्रतिकुल बनेपछि मौरी चराउन नपाउँदा महको उत्पादन करीब ५० प्रतिशत ह्रास आएको नेपाल मौरीपालक महासंघले बताएको छ ।

मौरी चराउन चितवनका किसानलले दाङ, प्यूठान, अर्गाखाँची, महोत्तरी लगायत जिल्लाहरूमा लैजाने गर्दथे । तर, बन्दाबन्दीका कारण ढुवानी सहज नहुँदा र त्यहाँका स्थानीय सरकारले समेत अवरोध गर्दा मौरीलाई घर वरपर नै चिनी खुवाएर राख्नु परेको मौरीपालक किसानको गुनासो छ ।

‘अघिल्लो वर्ष त ५० क्वीन्टल मह विक्री भएको थियो । अहिले त उत्पादन र विक्री दुबै घटेको छ’, भरतपुर महानगरपालिका–९ का किसान विष्णु भुषालले भने, ‘हाललाई मैले घारको संख्या समेत घटाएको छु ।’ सिजनको समयमै बन्दाबन्दी जारी भएको र मौरी चराउन अन्य जिल्ला लैजान नसक्दा उत्पादन घटेको उनले बताए । बन्दाबन्दी लम्बिँदै जाँदा र आउँदो सिजनमा समेत मौरी चराउन लैजान नपाए थप उत्पादन घट्ने उनको भनाइ छ ।

मह उत्पादनका लागि असारदेखि भदौ महीनालाई अफ सिजन मानिन्छ । अहिले जिल्लाका किसानहरूले घारभित्रै मौरीलाई आहाराको रूपमा चिनीपानी घोलेर खुवाउनुपर्ने हुन्छ । जसका कारण यो समयमा मह समेत उत्पादन हुँदैन ।

भरतपुर महानगरपालिका–१ रामनगरस्थित गोर्खा मौरी फार्मका सञ्चालक एवं मौरी विज्ञ डा. खेमराज पौडेल गत वर्ष महको उत्पादन करीब ५० प्रतिशत ह्रास आएको बताउँछन् । ‘महको उत्पादनमा ह्रास आएको छ, मौरीको गोला विस्तार पनि हुन पाएको छैन’, डा पौडेलले भने ।

गत वर्ष हिउँदमा समेत निरन्तर वर्षा भएकाले हरेक बोटविरुवाको फूल झर्ने र रस पखालिएका कारण पनि मौरीले रस संकलन गर्न नपाएको पौडेल बताउँछन् । बन्दाबन्दीका कारण किसानले मौरी चराउन नपाउँदा र सही रूपमा मौरीको हेरचाह हुन नसक्दा मह उत्पादन भारी ह्रास आएको उनको भनाइ छ ।

मौरीको चरन व्यवस्थापन हुन नसक्दा र विषादीका कारण मौरी मर्ने क्रम समेत बढेको छ । दिनहुँजसो मह उत्पादन लागत बढ्ने तर विक्री र मूल्यमा समेत सुधार हुन नसक्दा पेशाबाट विस्थापित हुने अवस्थामा पुगेको किसानहरू बताउँछन् ।

मह उत्पादन र घार विस्तार हुन नसक्दा उत्पादनमा ह्रास आइरहेको बताउँछन् संघका केन्द्रीय अध्यक्ष शिवप्रसाद शर्मा । ‘गत वर्ष ५० प्रतिशत जति उत्पादन घटेको छ, किसान पनि घटेका छन्’, उनले भने, ‘अहिलेको अवस्थाले यो वर्ष थप मह उत्पादन घट्छ ।’

किसानलाई चरनकै चिन्ता
गत वर्ष पनि मौरी किसानले मौरी चराउन नपाएर मह उत्पादन घटेका बेला हाल जारी बन्दाबन्दीका कारण उनीहरूमा झनै चिन्ता थपिएको छ । ‘अब असोजदेखि फेरि सिजन शुरू हुन्छ, मौरी कहाँ चराउन लाने हो । अन्यौल छ’, किसान विष्णु भुषालले भने । बन्दाबन्दीका कारण मौरीको घार ढुवानीमा सहज नहुँदा र ती जिल्लाहरूमा अवरोध जारी भएका कारण उत्पादनमा थप ह्रास आउने अनुमान गरिएको हो ।

गत वर्ष पनि चराउन लगिएको मौरी बाटोबाटै फर्काइएका कारण मौरी मरेको किसानलहरूले बताएका थिए । चितवनमा चरनका लागि प्रशस्त ठाउँ नभएको र चिउरीको बोट लगाउनका लागि तीन ओटै तहका सरकारले चासो नदेखाएकाले मौरी चराउन अन्य जिल्ला लैजानुपर्ने बाध्यता छ । केही दशकअघि मात्र तोरीको राजधानी भएको जिल्लाको रूपमा चिनिएको चितवनमा अहिले तोरीखेती गर्ने जमीन र किसानको संख्या समेत घटेको कारण मौरीलाई चराउन पर्याप्त ठाउँ छैन ।

‘अब असोजबाट मौरी लैजान पाइएन भने फेरि कात्तिकको अन्तिमसम्म चिनी खुवाएरै बचाउनु पर्छ’, केन्द्रीय अध्यक्ष शर्माले भने । चितवनमा कात्तिक दोस्रो सातापछि मात्रै तोरी फुल्ने र यहाँको तोरीखेतीले मात्र चरन पर्याप्त नहुने उनको भनाइ छ ।

हाल अघिल्लो वर्ष (०७५/७६) मा देशभर २ हजार ५०० मेट्रिक टन भन्दा बढी मह उत्पादन भएको थियो । गत वर्ष (०७६/७७) मा घटेर १ हजार ५०० मेट्रिक टन मात्रै मह उत्पादन भएको संघको तथ्यांक छ । त्यसमध्ये गत वर्ष चितवनमा मात्रै ४०० मेट्रिक टन उत्पादन भएको थियो ।

यो वर्ष मह उत्पादन घटेर १ हजार मेट्रिक टन भन्दा कम उत्पादन हुने अनुमान गरिएको छ । देशभर मौरीपालक किसानको संख्या ६ हजार ५०० छन् भने चितवनमा मात्रै ५०० को हाराहारीमा छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)