ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोरोना महामारीपछि जोखिममा वित्तीय संस्थाको लगानी  

२०७७ भदौ, २६  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

भदौ २६, चितवन । लामो लकडाउनका कारण बैंकहरुले गरेको कर्जा लगानी संकलनमा ह्रास आएपछि वित्तीय संस्थाको लगानी जोखिममा परेको छ ।

गत आर्थिक वर्षको असार मसान्तसम्म कर्जा संकलन सन्तोष जनक भएपनि त्यस यता कर्जा संकलन कम हुंँदा लगानी जोखिममा परेको हो । साथै नयांँ क्षेत्रमा समेत लगानी नहुंँदा तरलता बढ्दै गएको कारण आफूहरु दोहोरो मारमा परेको बैंकर्सहरुले बताएका छन् । 

हाल चितवनका हरेक बैंकहरुमा नयाँ लगानी र कर्जा लगानीसमेत शून्य जस्तै भएको छ । वाणिज्य बैंक भरतपुर शाखाका प्रबन्धक ईश्वरी न्यौपाने कर्जा संकलन र नयाँ लगानी नहुँदा जोखिम बढेको बताउँछन् । ‘बैंकमा पुरानो कर्जापनि उठ्न छाड्यो, नयाँ लगानीपनि छैन’, उनले भने, ‘उल्टै  निक्षेपकर्ताको ब्याज तिर्नुपर्ने अवस्था छ ।’ 

असार मसान्तसम्म साँवा, ब्याज तिर्ने र नवीकरण गर्ने सेवाग्राही आउने क्रम ठिकै भएपनि हाल यो क्रम ठप्प भएको उनले बताए । उनका अनुसार अझैपनि कोभिड –१९ कारण अन्यौल रहेका कारण नयाँ लगानी र कर्जा तिर्नुभन्दा स्वास्थ्य र दैनिक जीवन यापन प्राथमिकतामा पर्दा यस्तो अवस्था आएको हो । 

नयाँ उद्योग व्यवसाय, पूर्वाधार र संरचना क्षेत्रमा लगानी ठप्प भएपनि कृषिजन्य उत्पादनमा भने केही लगानी आकर्षण भएको छ । तर साउनपछि भने यसको अनुपात पनि कम हुँदै गएको छ ।

कृषि विकास बैंक, हाकिमचोक शाखाका प्रबन्धक दिनेशबाबु नेपाल असारको पहिलो साताको समयमा लकडाउन खुकुलो गरेपछि कृषि क्षेत्रमा लगानी गर्ने नवउद्यमीहरु आएपनि अहिले त्यो क्रम बन्दजस्तै भएको बताउँछन् । उनले भने, ‘पुराना कर्जातिर्ने ग्राहक पनि कम छन्, नयाँ लगानी गर्न आउने झन कम छ ।’ 

उनका अनुसार पछिल्लो समय केही आशा रहेको कृषि क्षेत्रको उत्पादनसमेत बजार मूल्य नपाएर खेर फाल्नु परेको कारण पनि यसक्षेत्रतर्फ वितृष्णा बढेको देखिन्छ । जोखिम बढेका कारण यसले केही समय संकटमा पारेपनि अवसर भने उत्तिकै दिने संभावना छ । 

कतिपय बैंकहरुले आफ्ना नियमित ग्राहकहरुलाई उनीहरुको हालको अवस्थाबारे सोध्ने गरेपनि कर्जाको लागि भने ताकेता गरेका छैनन् । ‘हरेक क्षेत्र अस्तव्यस्त छ, हामी आर्थिक क्षेत्रसँगै निर्भर रहन्छौं’, सानिमा बैंक लिमिटेडका नारायणगढ शाखा प्रमुख दिनेश गौतमले भने, ‘तर डराइहाल्नुपर्ने अवस्था चाहीं आएको छैन । ’

कोभिड– १९ का प्रभाव लामोसमय रहे आर्थिक क्षेत्र ठप्प हुने भएकोले कर्जा उठ्न ढिलाई हुने र कतिपय कर्जा उठ्नै नसक्ने अवस्थामा पुग्ने पनि उनको भनाइ छ । 

बैंकहरुमा कर्जा संकलन कम र तरलता बढेपनि हालसम्म यसको असर भने त्यति देखिएको छैन । अवस्था सामान्य हुँदै गएपनि पहिलेकै अवस्थामा आउन वित्तीय संस्थालाई केही वर्ष लाग्ने देखिएको छ । 

कर्पोरेट इन्भेष्टमेण्ट एण्ड फाइनान्सिङ्ग बिषयमा विद्यावारिधि गर्दै रहेका चितवनका कपिलदेव सुवेदी अहिलेनै यसको असर नदेखिएपनि अब भने यसको असर देखा पर्दै जाने बताउँछन् । 

‘जति लगानीकर्तामा र ऋणीमा अन्यौलता बढ्दै जान्छ त्यति बैंकको जाखिम बढ्छ’, उनले भने । उनका अनुसार विशेषगरी पर्यटनक्षेत्र, अटोमोबाइल, रियल स्टेट क्षेत्रमा बढी जोखिम बढेकोले त्यहाँ बैंकहरुको लगानी थप जोखिमा पर्ने हुन्छ । 

‘जुन बैंकले कर्जा लगानीलाई विविधिकरण गरेका छन् उनीहरुको जोखिम कम हुन्छ’, उनले भने, ‘एकै क्षेत्रमा बढी लगानी गर्नेको जोखिम बढी छ ।’

यसलाई सन्तुलनमा ल्याउन सरकारले कर्जा सहुलियत गर्ने, पुनर्कर्जा लगानीमा आकर्षण गर्ने संभावना भएका अन्य क्षेत्रहरुमा लगानी बढाउंदै जानुपर्ने उनले बताए । उनका अनुसार यो समयमा हाइड्रोपावर, कृषि उत्पादन, औषधीजन्य उत्पादनमा लगानी बढाउंदै लगेमा जोखिम कम हुन्छ ।  
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)