ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वित्तीय संस्थाको लगानीमा जोखिम बढ्यो

२०७७ भदौ, २८  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । विश्वव्यापी कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लामो समय जारी गरिएका बन्दाबन्दी तथा निषेधाज्ञाका कारण बैंकहरूले गरेको कर्जा लगानी संकलनमा ह्रास आउँदा लगानी नै जोखिममा परेको छ । गत आर्थिक वर्ष २०७६/७७ को असार मसान्तसम्म कर्जा संकलन सन्तोषजनक भए पनि त्यसयता कर्जा संकलन कम हुँदा लगानी जोखिममा परेको हो । साथै नयाँ क्षेत्रमा समेत लगानी नहुँदा तरलता बढ्दै गएका कारण आफूहरू दोहोरो मारमा परेको बैंकर्सहरू बताउँछन् ।

हाल चितवनका हरेक बैंकहरूमा नयाँ लगानी र कर्जा लगानीसमेत शून्य जस्तै भएको बैंकर्सहरू बताउँछन् । कर्जा संकलन र नयाँ लगानी नहुँदा जोखिम बढेको बताउँछन् राष्ट्रिय वाणिज्य बैंक भरतपुर शाखाका प्रबन्धक ईश्वरी न्यौपाने । ‘बैंकमा पुरानो कर्जा पनि उठ्न छाड्यो, नयाँ लगानी पनि छैन’, उनले भने, ‘उल्टै निक्षेपकर्ताको ब्याज तिर्नुपर्ने अवस्था छ ।’

असार मसान्तसम्म सावाँब्याज तिर्ने र नवीकरण गर्ने सेवाग्राही आउने क्रम सन्तोषजनक भए पनि हाल यो क्रम ठप्प भएको उनको भनाइ छ । कोभिड–१९ का कारण अन्योल रहेकाले नयाँ लगानी र कर्जा तिर्नुभन्दा स्वास्थ्य र दैनिक जीवनयापन प्राथमिकतामा पर्दा यस्तो अवस्था आएको उनको बुझाइ छ ।

‘नयाँ उद्योग व्यवसाय, पूर्वाधार र संरचनामा लगानी ठप्प भए पनि कृषिजन्य उद्योगमा केही लगानी हुने गरेको थियो, तर साउनपछि भने यसको अनुपात पनि कम हुँदै गएको छ’, कृषि विकास बैंक हाकिमचोक शाखाका प्रबन्धक दिनेशबाबु नेपालले भने, ‘असारको पहिलो साता बन्दाबन्दी खुकुलो गरेपछि कृषि क्षेत्रमा लगानी गर्ने नवउद्यमीहरू आए पनि अहिले त्यो क्रम पनि बन्दजस्तै भएको छ ।’

उनका अनुसार पुरानो कर्जा तिर्ने ग्राहक पनि न्यून छन् । नयाँ लगानी गर्न आउने झन् कम छन् । ‘पछिल्लो समय केही आशा गरिएको कृषि क्षेत्रको उत्पादन समेत बजारमूल्य नपाएर खेर फाल्नु परेकाले कृषि क्षेत्रमा समेत लगानी प्रभावित भएको छ’, उनले भने ।

कतिपय बैंकहरूले आफ्ना नियमित ग्राहकहरूलाई उनीहरूको हालको अवस्थाबारे सोधखोज गर्ने गरेको भए पनि कर्जाका लागि ताकेता नगरेको दाबी गर्छन् । ‘हरेक क्षेत्र अस्तव्यस्त छ । हामी आर्थिक क्षेत्रसँगै निर्भर रहन्छौं’, सानिमा बैंकका नारायणगढ शाखा प्रमुख दिनेश गौतमले भने, ‘तर डराइहाल्नुपर्ने अवस्था चाहिँ आएको छैन ।’ कोभिड–१९ को प्रभाव लामो समय रहे आर्थिक क्षेत्र ठप्प हुने भएकाले कर्जा उठ्न ढिलाई हुने र कतिपय कर्जा उठ्नै नसक्ने अवस्था हुने पनि उनको भनाइ छ ।

बैंकहरूमा कर्जा संकलन कम र तरलता बढे पनि हालसम्म यसको असर त्यति देखिएको छैन । अवस्था सामान्य हुँदै गए पनि पहिलेकै अवस्थामा आउन वित्तीय संस्थालाई केही वर्ष लाग्ने निश्चित छ । कर्पोरेट इन्भेष्टमेन्ट एन्ड फाइनान्सिङ विषयमा विद्यावारिधि गरिरहेका चितवनका कपिलदेव सुवेदी अहिले नै यसको असर नदेखिए पनि अब भने यसको असर देखा पर्दै जाने बताउँछन् । ‘जति लगानीकर्ता र ऋणीमा अन्योलता बढ्दै जान्छ त्यति नै बैंकको जाखिम बढ्छ’, उनले भने ।

विशेष गरी पर्यटन क्षेत्र, अटोमोबाइल, रियलस्टेट लगायत क्षेत्रमा बढी जोखिम बढेकाले त्यस्ता क्षेत्रको लगानी थप जोखिमा पर्ने उनको भनाइ छ । ‘जुन बैंकले कर्जा लगानीलाई विविधीकरण गरेका छन् उनीहरूको जोखिम कम हुन्छ’, उनले भने, ‘एकै क्षेत्रमा बढी लगानी गर्नेको जोखिम बढी छ ।’ यसलाई सन्तुलनमा ल्याउन सरकारले कर्जा सहुलियत गर्ने, पुनर्कर्जा लगानीमा आकर्षण गर्ने सम्भावना भएका अन्य क्षेत्रहरूमा लगानी बढाउँदै जानुपर्ने उनको सुझाव छ ।

उनका अनुसार यो समयमा हाइड्रोपावर, कृषि, औषधिजन्य उत्पादनमा लगानी बढाउँदै लगेमा जोखिम कम हुने छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)