ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

हवाई सेवा प्रदायक भन्छन् : यात्रुलाई सेवा दिन आतुर छौं 

२०७७ भदौ, ३१  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

भदौ ३१, चितवन । झण्डै ६ महीनापछि सरकारले आन्तरिक उडान असोज १ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेसँगै विमान कम्पनी उत्साहित भएका छन् । लामो समय भएको लकडाउनका कारण थला परेको उडान सेवा पुनः सुचारु हुनेपछि उनीहरूमा उत्साह थपिएको हो । 

उडान सञ्चालन हुने निणर्यको उनीहरूले स्वागत र प्रशंसा समेत गरेका छन् । उडान सञ्चालन गर्नका लागि कम्पनीहरूले सम्पूर्ण तयारी समेत पूरा भएको जानकारी दिएका छन् । 
बुद्ध एयरका भरतपुर शाखा प्रबन्धक भक्तबहादुर बस्नेत उडान खुल्ने लामो समयको प्रतीक्षा अब टुंगिएपछि आशा र उत्साह भएको  बताउँछन् । ‘सरकारले ढिलै भए पनि आन्तरिक उडान सञ्चालन गर्ने निणर्य गरेको छ,’ उनले भने, ‘हामी सेवा दिन आतुर छौं, उत्साहित पनि भएका छौं ।’

विगत केही दिनदेखि यात्रुहरूले टिकट बुकिङ गर्न ताकेता गरेको र उडानको विषयमा दैनिक कल आउने गरेको उनको भनाइ छ । उनका अनुसार यहाँको शाखा कार्यालयले औपचारिक रूपमा आज (बुधवार)देखि कार्यालय खोल्ने र टिकट विक्री गर्न शुरू गर्नेछ । 

यती एयरलाइन्सका भरतपुर शाखाका प्रमुख अनुप ढकालले यसअघि सरकारले असोज ५ देखि सञ्चालन गर्ने भन्ने निर्णय गरे पनि असोज १ गतेदेखि सञ्चालन गर्ने विषय सकारात्मक विषय भएको बताउँछन् । ‘चाडबाडलाई लक्षित गरी पुनः निर्णय गरेर ५ दिन घटाउनु कम्पनीको लागि खुशीको कुरा हो,’ उनले भने, ‘सोही अनुसार हामी पनि सेवा दिन तयार छौं ।’ हाल यात्रुको चाप र बुकिङ हुने क्रम ह्वात्तै नबढे पनि विस्तारै चाप बढ्दै जाने उनको भनाइ छ । यसका लागि कम्पनीले यात्रुको चाप अनुसार उडान संख्या थपघट गर्नेछ । 
भरतपुर विमानास्थलका प्रमुख योगेन्द्र कुँवरले लामो दूरीका बससँगै आन्तरिक उडान एकैपटक सञ्चालन हुनु सबै यात्रुका लागि सुखद पक्ष रहेको बताए ।

‘एक त लामो दूरीका बस पनि चल्छन्,’ उनले भने, ‘अर्को कुरा ५० प्रतिशत मात्र यात्रु चढ्ने निर्णय भएकोले सुरक्षा संवेदनशीलताको अक्षरस पालना गराइनेछ ।’ उडान सञ्चालनसँगै विमानस्थलको सम्पूर्ण तयारी पूरा भएको र निर्बाध रूपले विमान उडान अवतरण गर्न सकिने उनले जानकारी दिए । 

स्वास्थ्य सुरक्षा मापदण्डका कडाइका साथ लागू हुने 
सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड जिम्मेवारी र कडाइका साथ पालना गर्ने गराउने विमानस्थलले जानकारी दिएको छ । विमानस्थलका प्रमुख कुँवरका अनुसार विमानस्थलको प्रस्थानद्वारदेखि नै टिकट भएका व्यक्तिलाई मात्र प्रवेश गराइनेछ । विमानस्थलले टिकट काउण्टर कक्षमा सामाजिक दूरी पालना गर्न प्रत्येक एक मिटरको दूरीमा सेतो चिह्नको घेरा बनाएर यात्रुहरूलाई राख्ने व्यवस्था गरेको छ ।

यात्रुहरूले यसअघि टिकट नै काटेर देखाउने गरे पनि आगामी दिनदेखि डिजिटल डिभाइसमार्फत भर्चुअल टिकट देखाउन सकिने उनले बताए । पहिला टिकट चेकजाँचपछि सामान स्क्रीनिङ गरिने र उनीहरूलाई मास्क, सेनिटाइजिङ र थर्मल गनबाट ज्वरो जाँच गरी विमान प्रतीक्षा कक्षमा पठाइने कुँवरको भनाइ छ । ‘सबै स्वास्थ्य सुरक्षा मापदण्ड र संयन्त्रमा हामी तयार छौं,’ उनले भने, ‘महानगरसँग समन्वय गरेर स्वास्थ्यकर्मीको टोली सहित हेल्थ डेस्क राख्नेछौं ।’ 

यस्तै विमान कम्पनीले पनि स्वास्थ्य सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्ने बताएको छ । बुद्ध एयरका प्रमुख बस्नेतले  प्रस्थानदेखि उडान र अवतरणसम्म स्वास्थ्य सुरक्षा मापदण्ड कडाइ गरिने बताए । ‘छिर्ने गेटदेखि साबुनपानी, सेनिटाइजर र ज्वरोसमेत जाँचेर उडानका लागि पठाउँछौं,’ उनले भने, ‘यसका लागि हामी सचेत छौं ।’  यात्रुहरूले उडान समयभन्दा डेढघण्टा अघि बोइङ पास लिइसक्नु पर्ने डेढघण्टापछि विमान प्रतीक्षा कक्षमा पुनः ज्वरो जाँच गरिनेछ । 

उनका अनुसार विमान अवतरणपछि विमानभित्र पूरै सेनिटाइजिङ गरिने र प्रत्येक यात्रुलाई भाइजर समेत अनिवार्य गरिएको बताए । यती एयरलाइन्सका प्रमुख ढकालले स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्न एकपटकमा चार जना यात्रुमात्र सामाजिक दूरी पालना गरी विमानभित्र प्रवेश गर्ने व्यवस्था मिलाइएको र एउटा लाइनको डबल सिटमा एकजना यात्रुमात्र चढाइने उनको भनाइ छ । यसअघि हरेक उडानमा शौचालयको सुविधालाई क्याफिङ (यात्रा गर्दा दिइने खाजा) भने बन्द गरिएको बताए ।

तर आधा मात्र यात्रु राखेर चलाउने सरकारले निर्णय गरे पनि के कति भाडा निर्धारण गरिने भन्ने विषयमा भने टुंगो लागेको छैन । यसअघि काठमाडौं र पोखरा गरी बुद्ध एयरले दैनिक पाँचओटासम्म उडान र यतिले ३ उडान गर्दै आएका थिए । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)