ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बजेट सार्वजनिक नहुँदा कालिञ्चोकमा विकास निर्माणका काम प्रभावित

२०७७ असोज, १  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar नवराज शिवाकोटी

दोलखा । आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक नहुँदा कालिञ्चोक गाउँपालिकाको विकास निर्माणका काम प्रभावित भएका छन् । चालू आर्थिक वर्ष शुरू भएको २ महीना बितिसक्दा पनि गाउँपालिकाको बजेट सार्वजनिक नहुँदा विकासका कामहरू प्रभावित भएका हुन् । बजेट सार्वजनिक नभएका कारण टेन्डर तथा उपभोक्ता समितिमार्फत गराउनुपर्ने कामको इस्टिमेट, उपभोक्ता समिति गठनलगायत काम रोकिएकाले आफूहरू कामविहीन बनेको गाउँपालिकाका कर्मचारीहरू बताउँछन् ।

तर, आर्थिक वर्ष २०७७/७८ को बजेट पारित भइसकेको तथा सुत्रमा अपलोड गर्ने काम भइरहेको गाउँपालिका अध्यक्ष बिनकुमार थामीले बताए । बजेट अहिलेसम्म सार्वजनिक नहुनाको कारणबारे उपाध्यक्ष कालिका पाठकलाई सोध्दा यो विषयमा अध्यक्षलाई नै सोध्न आग्रह गरिन् ।

गत असार २३ गते वडा नम्बर ८ स्थित गाउँपालिकाको अस्थाई केन्द्र सुनखानीमा पालिकाको बजेट अधिवेशन शुरू भई सोही दिन नीति तथा कार्यक्रम र बजेट भाषणपछि बैठक स्थगित भएको थियो । अर्को बैठक वडा नम्बर ५ को बान्द्रेथलीमा बस्ने भनी अध्यक्षले निर्णय सुनाएपछि बैठकमा उपस्थित बहुमत सदस्यले नोट अफ डिसेन्ट लेखेको वडा नम्बर ७ का वडाध्यक्ष चेतबहादुर खड्काले बताए । असार २३ पछि कुनै पनि बैठक नबसेकाले बजेट पारित नभएको उनको भनाइ छ ।

तर, बडा नम्बर ३ का वडाध्यक्ष निशान बुढाथोकीले भने २३ गते बैठक स्थगित भएको र पछि अन्यत्रै बसेको बैठकबाट बजेट पारित भएको बताए । बजेट पारित गर्ने पक्षमा आफूसहित बहुमत सदस्यको हस्ताक्षर रहेको उनको दाबी छ । मुल शीर्षकहरू मात्रै राखी बजेट पारित गरिएकाले त्यसको ब्रेकडाउन गरी सुत्रमा राख्न ढिला भएको हुनसक्ने उनले बताए ।

गाउँपालिकाका अध्यक्ष विनकुमार थामी तथा केही वडाध्यक्षहरूले बजेट पारित भएको दाबी गरिरहँदा गाउँपालिका कार्यालयमा भने बजेट पारित गरेको माइन्युट अहिलेसम्म नआएको प्रमुख प्रशासकीय अधिकृत नवराज ओलीले बताए । विनियोजन ऐन पारित भई सुत्रमा इन्ट्री नगरेसम्म खर्च गर्न नपाइने कानूनी प्रावधान भएकाले दैनिक प्रशासन चलाउन आवश्यक खर्च समेत गाउँपालिकासँग नरहेको तथा भुक्तानी दिनपर्ने सानातिना झुक्तानी गर्न नसकिएको उनको भनाइ छ ।

दशैं आउन लागेको समय भएकाले समयमै बजेट परित भई विनियोजन ऐन अनुसार बजेट सुत्रमा इन्ट्री नगरिए शिक्षक तथा कर्मचारीहरूलाई तलब भुक्तानी दिन समेत समस्या हुने ओलीको भनाइ छ । तर, तलब तथा भत्ता खुवाउने समयसम्म सुत्रमा बजेट इन्ट्री गर्ने काम सकिने भएकाले कुनै समस्या नहुने अध्यक्ष विनकुमार थामीको भनाइ छ ।

कालिञ्चोक गाउँपालिकाको केन्द्र कहाँ राख्ने भन्ने विवादसँगै बजेट पारित गर्ने कुरा जोडिएको स्थानीयहरूको भनाइ छ । जनप्रतिनिधिहरूका बीचमा अन्य विवाद जे भए पनि बजेट नै पारित नगरी विकासको काम ठप्प गर्ने कुरा आफूहरूलाई मान्य नहुने भन्दै तत्काल बजेट सार्वजनिक गर्नुपर्ने स्थानीयहरूले माग गरेका छन् ।

पालिका केन्द्र कहाँ राख्ने भन्ने विषयमा गाउँपालिकाका जनप्रतिनिधिहरूबीच मत विभाजित भएका कारण अहिलेसम्म पालिका केन्द्र निर्धारण हुन सकेको छैन । पालिका केन्द्र विवादको छायाँमा विकास निर्माणका कार्यहरू पर्ने गरेको स्थानीयहरूको गुनासो छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)