यस्तो लाग्दै छ कि कोरोना यसपालिको दशैं, तिहार नमनाई जाने वाला छैन । त्यतिसम्म त ठीकै थियो । तर ओली महाराजको रेल, पानी जहाजवाला समृद्धि र विकास पनि नहेरीकन नेपालबाट जान्नँ भन्दियो भने चैं बित्यासै पर्छ बा !
विगतमा धेरै बन्द हड्ताल गराउँदै हिँडेकाहरू आफूलाई खुब क्रान्तिकारी भन्थे त ! तर अहिले जाबो कोरोनाको अगाडि उनीहरूको के नै इज्जत रह्यो र खै ! हुन त सरकारले कोरोना नगए पनि दशैंअघि नै लकडाउन पूर्णरूपमा खुल्छ भनेको छ । चैते दशैं पो भन्या हो कि न !
हाम्लाई थाहा भएको एउटै कुरो चैं के हो भने यो भाइरस भन्ने परजीवी सरकारी ढुकुटीमा जमेर बस्छ र केवल गरीब र सामान्य जनलाई डस्छ । यसैले भन्न मन लाग्छ कि जत्ति चुसेर खानुु छ खाओ भाइरसहरू ! तर कृपया यो समृद्धि र विकासको गीत चैं नगाओ ।
हुन पनि सरकारको कुरो, भर पर्न गाह्रो । सरकार भनेको तरबार भन्छन्, यसले हाम्रो घरबारलाई कसरी सुरक्षित राख्ला र ? अहिलेसम्म विकास माग्नेलाई गोली, खाना र छाना माग्नेलाई भोलि, जागीर माग्नेलाई खाडी, राजनीति गर्नेलाई चैं गाडी दिएर चलाइरहेको छ । सरकारले देश सधैं यसरी नै चलाइरहने हो कि भन्ने डर पो लाग्न थालेको छ ।
रोप्ने बेलामा किसानले मल पाउँदैनन्, चाडबाडमा जनताले चिनी पाउँदैनन् । पढाइ शुरू भए पनि विद्यार्थीले समयमै किताब कहिल्यै पाउँदैनन् । जनताले पाउँछन् त केवल चिल्ला नारा र फोस्रो आश्वासन । अनि विश्वास कसरी गर्ने ?
अब हेर्नुस् न, बन्द गरेर मात्र समस्याको समाधान हुँदैन भनेर जान्दा जान्दै पनि पटक पटक सरकारले लकडाउन किन लगाको ? पछि फेरि किन हटाको ? छोटो दूरीको बसले सार्छ कि लामो दूरीकोले ? जोर बिजोर गरेर सर्दैन कि तरकारी र किराना पसलबाट चैं सर्दैन ? यसको उत्तर कि त सरकारलाई थाहा होला कि त कोरोनालाई नै !
हाम्लाई थाहा भएको एउटै कुरो चैं के हो भने यो भाइरस भन्ने परजीवी सरकारी ढुकुटीमा जमेर बस्छ र केवल गरीब र सामान्य जनलाई डस्छ । यसैले भन्न मन लाग्छ कि जत्ति चुसेर खानुु छ खाओ भाइरसहरू ! तर कृपया यो समृद्धि र विकासको गीत चैं नगाओ । यो सुन्दा सुन्दा कान दुखिसक्यो भन्या ! रेडियो सुन्यो समृद्धि, टीभी हेर्यो समृद्धि, पत्रिका पढ्यो समृद्धि । तर खै आँखाले समृद्धि देख्न पाएको भने हैन !
यता मदिरा पसल बन्द हुँदा श्रीमती खुशी, ब्युटिपार्लर बन्द हुँदा श्रीमान् खुशी, विद्यालय बन्द हुँदा विद्यार्थी खुशी, कार्यालय बन्द हुँदा सरकारी कर्मचारी खुशी । यो जानेरै सरकार भनिरहेछ सुखी नेपाली बनाउने सरकारको सपना साकार भएको छ । यसलाई के भन्ने ?
‘कसैलाई केको धन्दा घरज्वाइँलाई खानकै धन्दा’ भनेझैं कोरोना महामारी सकिएपछि तरकारी र किराना व्यापारी यूरोप अमेरिका भ्रमणमा जाने रे । औषधि व्यवसायी त विश्व भ्रमणमै निस्कने रे । बाँकी अन्य व्यवसायीहरू चैं कहाँ जाने ? खरानी घसेर काशीतिर ? कि बम बम भोले भन्दै घरघर चाहार्ने ?
सरकारको पारा त बयान गरी साध्यै छैन । जनताले नमानेकालाई पनि अब माननीय भन्दिनुपर्ने । सरकारका मन्त्रीहरूको त झन् काम शून्य, सपना चैं ठूलो । उनीहरू त अर्कै ग्रहबाट आएजस्ता र केवल आफूलार्ई सुविधा भए पुग्ने । पाएसम्म हेलिकोप्टर चढेर विपत् अनुगमनमा पुग्ने । नपाए भैंसी गोठ उद्घाटन भए पनि हुने । अनि खान र आफ्नालाई ख्वाउन पाए पुग्ने । चुनावमा भोटरहरूले मासु भात खाए रे । अब खाने पालो नेताजीहरूको रे । यो बाहेक अरू के के सुन्न बाँकी होला ?
तैपनि अझै देश बदल्ने कुरा गर्न चैं छाड्दैनन् नेताजीहरू । अनि भन्न मन लाग्छ कि विदेशीका ईशाराविना आफ्ना घरका टीभी च्यानलसम्म बदल्न नसक्नेले ठूलो कुरा किन गर्ने ? अनि अझै भन्न मन लाग्छ कि दुई तिहाइको घमण्ड नगर सरकार ! जनतालाई गास, बास र कपास चाहिएको हो, तिम्रो दम्भ होइन । तर भन्ने आँट कसले गर्ने ? कसरी गर्ने ? बिरालोको घाँटीमा घण्ट कसले बाँध्ने ?
त्यसो त सरकारले कामै नगरेको चैं हैन है । उसले त आफूले जाने बुझे अनुसार सकेसम्म काम त गरेकै हो । कोरोना महामारीको मध्यमै भए पनि, जनताको जीउ ज्यानको जोखिम मोलेरै भए पनि, बिदाको दिन समेत बैंकहरूलाई जबर्जस्ती काउण्टर खुला राख्न लगाएरै भए पनि, केवल कर उठाउनकै लागि भए पनि बीच्चबीच्चमा २–३ दिनलाई लकडाउन त खोलेकै हो नि ।
स्वदेशमा उत्पादन बढाएर कर असुली बढ्दैन भनेर राम्ररी बुझेको सरकारले आयात खुला गरेर भए पनि, अझ केही वस्तुको आयात बढाएरै भए पनि राजस्वको लक्ष्य पूरा गर्ने कोसिस पनि गरेकै हो ।
त्यति मात्र कहाँ हो र ? देशमा रोजगारी सृजना गर्न सकिएन त के भो र ? महामारीका बीचमा विदेशमा जागीर खोज्न जान चाहनेका लागि सीधै विमानस्थल पुग्ने व्यवस्था पनि मिलाएकै हो । सरकारले यत्रो काम गरेको पनि नदेख्ने ?