ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भरतपुर विमानस्थलमा स्वास्थ्य सुरक्षा मापदण्डसहित  ‘पूर्व तयारी तालीम’

२०७७ असोज, ४  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

असोज ४, चितवन । सोमवारदेखि चल्न लागेको आन्तरिक उडानलाई लक्षित गर्दै भरतपुर विमानस्थलमा स्वास्थ्य सुरक्षा पूर्वतयारी तालीम गरिएको छ । ६ महीनापछि शुरू गरिएको आन्तरिक उडानलाई व्यवस्थित र स्वास्थ्य सुरक्षा मापदण्ड सहित आइतवार पूर्व तयारी तालीम गरिएको हो । 

विमानस्थलका प्रमुख योगेन्द्र कुंँवरले सोमवारबाट शुरु गरिने उडानलाई व्यवस्थित र अभ्यस्त गराउने उद्देश्यले यो तालिम गरिएको बताए । ‘यसअघि राष्ट्रिय–अन्तराष्ट्रिय उडानमा यस्तो अभ्यास भएको थिएन,’ उनले भने, ‘भोलिबाट कुनै पनि गल्ती नहोस् भन्ने उद्देश्यले डेमो गरिएको हो ।’ विमानस्थलका कर्मचारी, वायुसेवाका कर्मचारी तथा सुरक्षाकर्मीलाई सोमवारबाट गरिने नियमित प्रक्रियाको बारेमा तालिम दिइएको थियो । तालीममा प्रस्थान कक्षबाटै निर्मलीकरण, स्वास्थ्य जांँच, सामान चेकिङ  र टिकट चेकिङ गरी बोर्डिङ पास लगायत विमान प्रतीक्षा कक्षसम्म यसको नमूना प्रदर्शन गरिएको थियो । 

प्रमुख कुँवरले स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गरिने बताए । उनका अनुसार विमानस्थलको प्रमुखद्वारबाटै यात्रुलाई मात्र प्रवेश दिइने र विमानस्थलभित्र आउने सवारीसाधनलाई समेत दूरी कायम गरी सीमित सवारीसाधन मात्र प्रवेश गराइनेछ । प्रत्येक यात्रुको मास्क अनिवार्य गरिने काउण्टर कक्षमा छिर्नुभन्दा अघि स्वास्थ्य चेक जांँच गरिनेछ । फ्रन्टलाइनमा खटिएका कर्मचारीले व्यक्तिगत सुरक्षा सामग्री सहित सेवा दिनेछन । विमानस्थलले स्वास्थ्यमा समस्या आएका या शंकास्पद बिरामीको लागि आइसोलेसन कक्षको समेत व्यवस्था गरिएको उनले जानकारी दिए । 

टिकट बुकिङको चाप बढ्यो 
सरकारले स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार पूर्ण यात्रु क्षमतामा  विमान सञ्चालन गर्ने अनुमति दिएसंँगै टिकट बुकिङको चाप बढ्दै गएको सेवा प्रदायक कम्पनीहरूले बताएका छन् ।  हाल काठमाडौं भरतपुर काठमाडौं र भरतपुर पोखरा भरतपुर सञ्चालन हुने बुद्ध एयर र यती एयरलाइन्सको विमानले सेवा दिँदै आइरहेका छन । आइतवारसम्म लगभग पहिलो दिनको लागि ७० प्रतिशतभन्दा बढी टिकट विक्री भइसकेको एयरलाइन्सका कर्मचारी बताउंँछन् । क्रमश अन्य दिनको लागि पनि बुकिङ क्रमशः बढ्दै गरेको उनीहरूको भनाइ छ । 

‘भोलिबाट मात्र खुल्ने निश्चित यात्रुले बल्ल थाहा पाएका छन्,’ बुद्ध एयरका भरतपुर प्रबन्धक भक्तबहादुर बस्नेतले भने । उनका अनुसार टिकट बुकिङ गर्ने क्रम क्रमश बढ्दै गएको र यात्रुले सोधपुछ गर्ने क्रम समेत बढेको छ । बुद्ध एयर शुरुका दिनमा काठमाडौ भरतपुर २ वटा विमानबाट सेवा दिने उनले बताए । ‘यात्रुको चाप अनुसार विमानको संख्या पनि बढाउंँदै लग्नेछौं, ’उनले भने । यसैगरी यति एयरलाइन्सले पनि भोलिका लागि भरतपुरबाट काठमाडौं जाने टिकट सबै जसो बिक्री भएको जनाएको छ । यतीका भरतपुर प्रबन्धक अनुप ढकालले भरतपुर काठमाडौ जाने यात्रुको चाप बढेपनि काठमाडौबाट भरतपुर आउने यात्रुको अनुपात भने कम रहेको बताए ।

लकडाउन अघि बुद्ध एयरले दैनिक पांँचओटासम्म उडान र यतिले ४ वटा उडान गर्दै आए पनि सोमवारबाट उनीहरूले नियमित २–२ वटा उडान गर्न लागेका हुन् । तर केही समयको लागि भने पोखरा उडान हुनेछैन । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)