ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

राजस्व संकलनमा एक तिहाइले गिरावट

२०७७ असोज, ६  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । भरतपुर आन्तरिक राजस्व कार्यालयको राजस्व संकलनमा चालू आर्थिक वर्ष ०७७÷७८ को साउनभन्दा भदौ महिनामा ठूलो गिरावट आएको छ ।

कार्यालयका अनुसार चालू आवको साउनमा सबै शीर्षकमा १ अर्ब ४७ करोड ६५ लाख ८४ हजार राजस्व संकलन गरेकोमा भदौमा घटेर ५८ करोड ८६ लाख ७३ हजार संकलन भएको छ ।

कार्यालय प्रमुख शुवप्रसाद रिजाल निषेधाज्ञाका कारण राजस्व संकलनमा गिरावट आएको बताउँछन् । ‘साउन अन्तिमबाट भदौ अन्तिमसम्म निषेधाज्ञा जारी भयो’, उनले भने, ‘बैंकहरु पनि सीमित समयका लागि मात्र खुले । सेवाग्राही कार्यालयमा आउन नपाएका र कार्यालयमा रहेको बैंक काउन्टरसमेत बन्द भएकाले राजस्व संकलनमा कमी आएको हो ।’

कार्यालयले साउनमा सबैभन्दा बढी कर संकलन अन्तःशुल्क शीर्षकबाट उठाएको छ भने सबैभन्दा कम स्वास्थ्य सेवा करबाट  असुल गरेको छ ।

अन्तःशुल्कबाट ९८ करोड २४ लाख ५० हजार र स्वास्थ्य सेवा करबाट ११ लाख २५ हजार रुपैयाँ मात्रै राजस्व संकलन भएको छ ।

यसैगरी मूल्य अभिवृद्धिकरबाट २५ करोड ८३ लाख ९५ हजार, आयकरबाट २० करोड २७ लाख ४ हजार, ब्याज करबाट २ करोड ८० लाख २४ हजार र घरबहाल करबाट ३८ लाख ८७ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

यस्तै, भदौ महिनामा अन्तःशुल्कबाट ४४ करोड ६ लाख ४८ हजार, मूल्य अभिवृद्धिकरबाट १० करोड १८ लाख रुपैयांँ राजस्व संकलन भएको छ ।

आयकरबाट ४ करोड ६ लाख २२ हजार, ब्याजकरबाट ३९ लाख ४७ हजार, स्वास्थ्य सेवा करबाट ९ लाख ७६ हजार र घर बहाल करबाट ६ लाख ८१ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

साउनमा लकडाउन सुरु भएदेखिको बक्यौता रकम संकलन हुँदा राजस्व संकलनको अनुपात साउनमा बढेको हो । निषेधाज्ञाका कारण भदौमा राजस्व संकलन दर घटे पनि असोजमा यसको संकलन दर बढ्न अपेक्षा गरिएको कार्यालय प्रमुख रिजाल बताउँछन् । विभागले यस वर्ष कार्यालयलाई १८ अर्ब ९० करोड ९० लाख ४ हजार रुपैयाँको लक्ष्य दिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)