ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नयाँ उद्योग दर्तामा कमी

२०७७ असोज, ११  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । चितवनस्थित घरेलु तथा साना उद्योग कार्यालयमा चालू आर्थिक वर्ष ०७७÷७८ को भदौ महिनामा नयाँँ उद्योग दर्ता गर्ने उद्यमीको संख्यामा कमी आएको छ ।

कार्यालयका अनुसार साउन महिनामा सबै क्षेत्रका गरी २ सय ५४ वटा उद्योग दर्ता भएका छन् । सबैभन्दा बढी कृषि तथा वनजन्य उद्योग १ सय ९१, पर्यटनमूलक २८, सेवामूलक २० र उत्पादनमूलक उद्योग १५ वटा दर्ता भएका थिए ।

तर, भदौमा उक्त संख्या घटेर ८४ वटा मात्र उद्योग दर्ता भएका छन् । कृषि तथा वनजन्य उद्योग ६४, उत्पादनमूलक १०, सेवामूलक ७ र पर्यटनमूलक उद्योग ३ वटा दर्ता भएका छन् ।

घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख नारायण लम्साल निषेधाज्ञाका कारण भदौमा २१ दिन कार्यालय बन्द भएकाले दर्ता नहुँदा संख्या कम भएको देखिएको बताउँछन् । ‘साउनमा उद्योग दर्ता गर्ने संख्या राम्रै थियो’, उनले भने, ‘निषेधाज्ञाले अन्योल बनाइदियो ।’

असोज लागेपछि दैनिक औसत ५० वटासम्म उद्योग दर्ता भएको उनले जानकारी दिए । दुईमहिने अवधिमा निर्माण, खनिजजन्य, ऊर्जा र सूचना तथा विज्ञान प्रविधिसम्बन्धी कुनै पनि नयाँ उद्योग दर्ता भएका छैनन् । कोभिड– १९ को असरका कारण यी उद्योगहरूमा जोखिम लिन नचाहेकाले नयाँ उद्योग दर्ता गर्न नआएको लम्सालको बुझाइ छ ।

नवीकरण गर्ने पनि घटे

चालू आर्थिक वर्ष साउनको तुलनामा भदौमा उद्योग नवीकरण गर्नेको संख्यामा समेत कमी आएको छ । कार्यालयका अनुसार साउनमा २ सय १९ उद्योगले नवीकरण गरेका थिए भने भदौमा १ सय ९ उद्योगले मात्र नवीकरण गरेका छन् ।

साउनमा कृषि तथा वनजन्य ४४, उत्पादनमूलक ८५, सेवामूलक ५८ र पर्यटन उद्योग ३२ वटा नवीकरण भएका छन् ।

यस्तै, भदौमा उत्पादनमूलक ४९, सेवामूलक ३६, कृषि तथा वनजन्य १५ र पर्यटनमूलक उद्योग ९ वटा नवीकरण भएका छन् ।

कार्यालय प्रमुख लम्साल सरकारले गरेको बन्दाबन्दीका कारण उद्योगी व्यवसायी कार्यालयसम्म आउन नसकेको र जरिवानासमेत छुट भएकाले नवीकरण गर्नेको संख्यामा कमी आएको बताउँछन्  ।

‘अहिले चैत ११ गते म्याद गुज्रेका सेवाग्राहीका लागि कात्तिक मसान्तसम्म नवीकरण गर्दा जरिवाना लाग्दैन,’ उनले भने ।

दुई महिने अवधिमा निर्माण, खनिजजन्य, ऊर्जा र सूचना तथा विज्ञान प्रविधिसम्बन्धी कुनै पनि उद्योग नवीकरण भएका छैनन् ।

लम्सालका अनुसार पछिल्लो समय सरकारले युवा लक्षित कार्यक्रम र कृषिजन्य उत्पादनमा बढी सहुलियत एवं आकर्षण गरेकाले यी उद्योग चालू आर्थिक वर्षमा दर्ता तथा नवीकरण हुन नसकेको हो ।

‘कोभिडका कारण कृषि क्षेत्र मात्र विकल्प बन्यो’, उनले भने, ‘अन्य क्षेत्र पर्ख र हेरको अवस्थामा भए ।’ जिल्लामा अहिले ५ लाखदेखि ५ करोडसम्म पुँजी भएको उद्योग दर्ता गर्न सकिने कार्यालयले जनाएको छ ।

कार्यालयले हाल ५ लाखदेखि २० लाखसम्म १२ हजार १ सय, २० लाखदेखि ५० लाखसम्म पुँजी भएको उद्योग दर्ताका लागि २०  हजार र  ५० लाखदेखि १ करोडसम्म पुँजी भएका उद्योग दर्ताका लागि ३०  हजार अनि १ करोडदेखि ५ करोडसम्मको उद्योगका लागि ४० हजार शुल्क लिने गरेको छ ।

गत फागुनदेखि प्रदेश औद्योगिक व्यवसाय ऐनले ५ लाखसम्मका उद्योगको दर्ता स्थानीय तहमा गर्नुपर्ने भएकाले तुलनात्मक रुपमा साना उद्योग व्यवसाय दर्ता गर्नेको संख्या कम हुँदै गएकोे कार्यालय प्रमुख लम्साल बताउँछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)