मानिस आफूलाई खुशी राख्न गीत सुन्ने, घुम्नेलगायत क्रियाकलापमा संलग्न रहन्छ । अझ कसैकसैले त शपिङ गरेर पनि आफूलाई खुशी राख्ने गरेका छन् । हालै गरिएको एक अध्ययनले शपिङले दुःख बिर्साउनुका साथै नयाँ ऊर्जा दिने देखाएको छ । अमेरिकाको मिशिगन विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले रिटेल थेरापी (शपिङ गरेर मानसिक तनाव वा दुःख घटाउने उपचार पद्धति)ले मानसिक तनाव घटाउने र तीन गुणा बढी खुशी दिनेतर्फ औंल्याउँदै यसलाई बेवास्ता गर्न नहुने बताएका छन् ।
शपिङले मानिसको उदासी भावना नियन्त्रण गर्न सक्ने/नसक्नेबारे थाहा पाउन अनुसन्धानकर्ताहरूले तीनओटा परीक्षण गरेका थिए । परीक्षणको नतीजाले उदास मानिसकतालाई नियन्त्रित गर्न शपिङ ४० गुणा बढी प्रभावकारी रहेकोतर्फ सङ्केत गरेको छ । शपिङ गरेपछि मानिसमा उदासीनताको भावना तीन गुणा कम भएको अध्ययनका क्रममा पाइएको छ । तर, यो परिणाम शपिङकै कारण प्राप्त भएको हो वा ध्यान अन्तै मोडिएर भएको हो भन्नेमा भने अझै स्पष्ट नभइसकेको अनुसन्धाताहरूले बताएका छन् ।
‘हाम्रो अनुसन्धानले किनमेल गर्दा आफूमाथिको नियन्त्रण वृद्धि हुने तथा दुःख र पीडा पनि कम गर्न सहयोग पुग्ने देखिएको छ,’ अनुसन्धानकर्ताहरूले भनेका छन् । ‘रिटेल थेरापी’लाई अप्रभावकारी, अनावश्यक र उपभोक्ताहरूको व्यवहारको अँध्यारो पक्ष भन्ने गरिए पनि निराशा कम गर्न शपिङ प्रभावकारी भएकोमा जोड दिइएको छ । रासस/पीटीआई