ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

१२ सय कृषकलाई सदस्य बनाएको कम्पनी सम्पर्कविहीन

२०७७ असोज, १५  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar नवराज शिवाकोटी

दोलखा । दोलखाका विभिन्न स्थानीय तहमा करिब १२ सय कृषकलाई आकर्षक सुविधा दिने नाममा सदस्य बनाई एक निजी कम्पनी  सम्पर्कविहीन भएको छ । कम्पनी   भागेपछि सदस्य बनेका कृषक  ठगिएका हुन् ।

घरदैलोमै पुगेर ११ सय ६४ कृषकसँग प्रतिकृषक ५ सयदेखि २ हजारसम्म रकम असुलेको एसोसिएसन अफ एग्रिकल्चर नेपाल चरीकोटमा रहेको शाखा कार्यालय बन्द गरी सम्पर्कविहीन भएको हो ।

कम्पनीले भीमेश्वर नगरपालिकामा ८२९, बिगु गाउँपालिकामा ५० तथा गौरीशंकर गाउँपालिकामा २८५ सदस्य बनाई ठगी गरेको पीडितहरूको आरोप छ ।

०७५ देखि दोलखामा भीमेश्वर नगरपालिकालगायत अन्य केही स्थानीय तहको समेत स्वीकृति लिई काम सुरु गरेको उक्त कम्पनीले सोसियल मोबिलाइजर भनी आफूलाई नियुक्ति दिएको भीमेश्वर नगरपालिका वडा–३ की सुन्दरी कार्कीले बताइन् ।

कृषकहरूलाई बिउबिजन तथा बोटबिरुवा निःशुल्क उपलब्ध गराउने, उन्नत जातका पशु खरिद गर्न ५० प्रतिशत रकम किस्ताबन्दीमा तिर्ने गरी उपलब्ध गराउने, विभिन्न प्राविधिक सीप सिक्न  ५० प्रतिशत छुट दिने आश्वासन कम्पनीले दिएका कारण स्थानीय कृषकलाई सदस्य बनाएको उनले जानकारी दिइन् ।

‘सदस्य बनेका कृषकहरूलाई निःशुल्क प्राविधिक सहयोग गर्न  एग्रो फरेस्ट परियोजना भन्दै कम्पनीले सदस्य बनाउन स्थानीयलाई सोसियल मोबिलाइजरका रुपमा नियुक्ति दिएर हामीलाई परिचालन गरेको थियो’, कार्कीले भनिन् ।

पिरामिड शैलीमा २ सय कृषक सदस्य बनाएपछि सदस्य बनाउने सोसियल मोबिलाइजर कर्मचारीलाई  ५० हजार रकम उपलब्ध गराउने आश्वासन कम्पनीले दिएको थियो ।
एक्टिभ सदस्यबापत २ हजार तथा अन्य सदस्यलाई ५ सय लिई सदस्य बनाइने गरेको कर्मचारीले बताए ।

दोलखाका विभिन्न स्थानीय तहमा ११ जनालाई कर्मचारी नियुक्त गरे पनि एक वर्षदेखि कम्पनीले तलब नदिएको पीडित बताउँछन् ।

कम्पनीले सुरुमा सदस्यहरूलाई एउटा अगरउड र दुईटा कागतीको बिरुवा दिएको भीमेश्वर नगरपालिका वडा–३ का सञ्जीव राउतले बताए ।

एक पटक आलुको बिउ निःशुल्क बाँडेको तथा २९ वटा बाख्रा ५० प्रतिशत कृषकलाई लगानी गर्न लगाई बाँकी ५० प्रतिशत किस्ताबन्दीमा तिर्ने गरी उपलब्ध गराएको स्थानीयले जानकारी दिए ।

जोखिम न्यूनीकरणका लागि बिमा गरी बाख्रा वितरण गरेको कम्पनीले बताएको थियो । हावापानी नमिल्दा बाख्राहरू मर्न थालेपछि कृषकले बिमा दाबी गरेसँगै कम्पनीले आप्mना गतिविधि घटाउँदै लगेको उनीहरू दाबी गर्छन् । भीमेश्वर नगरपालिका वडा–७ का कृषकहरू हरिबोल बस्नेत, सुवास बस्नेत, रुद्र बस्नेत तथा सुदर्शन बस्नेतबाट कम्पनीले ८०–८० हजार रुपैयाँमा उन्नत गाई ल्याइदिने भनी ४०–४० हजार रुपैयाँ लिएको पीडितहरूले गुनासो गरे ।

‘उन्नत गाई ल्याइदिने भनेपछि ५० प्रतिशत रकम भनी ४०–४० हजार बुझायौं तर न गाई आयो, न त पैसा पाइयो’, पीडितमध्येका बस्नेतले भने, ‘गाई आज, भोलि आउँछ भन्दै गर्दा घाँसका लागि किनेको ५० भारी पराल पनि राख्ने ठाउँ नहुँदा कुहियो ।’

कम्पनीका कर्मचारीहरूले फोटो टाँसेर किसान परिचयपत्र भन्दै गाउँगाउँमा बाँड्न लागेकाले सरकारी परिचयपत्र होला भनेर आफूले पनि २ हजार तिरेर सदस्यता लिएको बिगु गाउँपालिकाका भैरवबहादुर जोशी बताउँछन् । कृषकलाई छक्याएर लिएको पैसा सावाँब्याजसहित फिर्ता गर्नुपर्ने गौरीशंकर गाउँपालिकाका पीडित आङदावा शेर्पाको माग छ । ०७६ असोज ३ बाट स्थानीय चरीकोट  कार्यालयका प्रमुख अर्जुन गौतम हिँडेपछि कम्पनीका सञ्चालक गणेशदत्त भट्टसँग सम्पर्क गर्दा केही समय गाई ल्याइदिने भने पनि पछि मोबाइल स्वीच अफ गरी सम्पर्कविहीन  भएको कम्पनीका स्थानीय कर्मचारीहरू बताउँछन् ।

स्थानीयले सोसियल मोबिलाइजर कर्मचारीसँग रकम माग्न थालेपछि त्यहाँ कार्यरत ५ जना कर्मचारी सुन्दरी कार्की, रञ्जना पाण्डे, सुविक्षा रेग्मी, मिमलक्ष्मी शेर्पा तथा सञ्जय राणाले जिल्ला प्रशासन कार्यालय दोलखामा कम्पनी सञ्चालक भट्टले कृषकबाट उठाएको रकम तथा आफूहरूको वर्ष दिनको तलबसहित ३० लाख दिलाइदिन निवेदन दिएका छन् ।
निवेदनमा उनीहरूले कम्पनी सञ्चालक भट्टलाई कानुनी कारबाही माग गरेका छन् ।

जिल्ला प्रशासन कार्यालयमा भट्टविरुद्ध उजुरी परेपछि उनलाई प्रहरीमार्फत खोज्ने काम भइरहेको प्रमुख जिल्ला अधिकारी रमेशप्रसाद शिवाकोटीले बताए । एसोसिएसन अफ एग्रिकल्चर नेपाल प्रालि ९ माघ ०७३ मा कम्पनी राजिस्ट्रारको कार्यालय दर्ता भएको रेकर्ड छ ।

बाँकेको तत्कालीन कोहलपुर नगरपालिका वडा–११ ठेगाना रहेको कम्पनी रजिस्ट्रार कार्यालयमा उल्लेख छ ।  कम्पनी सञ्चालक भट्ट कञ्चनपुरको तत्कालीन झलारी गाविस वडा–२ का स्थायी वासिन्दा हुन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)