ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पर्यटन प्रवर्द्धन गर्न व्यवसायीले सारे साइकल सफारी अवधारणा

२०७७ असोज, १८  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । चितवनका पर्यटन व्यवसायीले पर्यटन प्रवद्र्धनका लागि नयांँ अवधारणा अघि सारेका छन् । कोभिड–१९ का कारण थलिएको व्यवसायलाई उकास्न उनीहरूले पर्यटकका लागि साइकल सफारी  अवधारण अघि सारेका हुन् ।

सौराहा, पटिहानी र मेघौलीका पर्यटन व्यवसायीले पर्यटन प्रवर्द्धन अभियान सुरु गरेका छन् । यो अवधारणाअन्तर्गत सौराहाबाट हात्ती प्रजनन् केन्द्र हुँदै सीतामाई, घटगाई–जगतपुर हुँदै मेघौलीको गोलाघाटसम्म ५० किलोमिटरको साइकल सफारी सञ्चालन गरिनेछ ।

यद्यपि मध्यवर्ती क्षेत्रअन्तर्गत पर्ने यो मार्ग सञ्चालनका लागि चितवन राष्ट्रिय निकुञ्जको अनुमति लिनुपर्ने हुन्छ ।

सौराहाको पर्यटनलाई साइकलको माध्यमबाट पश्चिम चितवनको पर्यटनसँग जोड्ने नयाँ अवधारणाका साथ साइकल सफारी सञ्चालनको तयारी भएको क्षेत्रीय होटल संघ चितवनका निवर्तमान अध्यक्ष सुमन घिमिरेले बताए ।

‘यसले पर्यापर्टनका साथै पर्यटकको बसाइ अवधि पनि लम्ब्याउन सकिनेछ’, घिमिरेले भने, ‘त्यसका लागि एडभेन्चर साइक्लिङका अवधारणा ल्याएका हौं ।’ हाल लोथरबाट राप्तीको ड्याक हुँदै साइकल मार्ग सञ्चालन भए पनि अबको सफारीले  पर्यटन गन्तव्य जोड्न मद्दत पुग्ने उनको भनाइ छ । हाल यहांँ पर्यटकले औसत २ रात ३ बसाइ  गर्दै आएका छन् ।

सौराहाबाट पटिहानीसम्म साइकलबाट आउन सकिने र पटिहानीमा रहेको अम्ब्रेला स्ट्रिटमा आएर विश्राम गर्न सकिनेछ ।

‘देशकै नमुना अम्ब्रेला स्ट्रिट, थारु कल्चर र घडियाल गोही प्रजनन केन्द्रसम्म पर्यटकले अवलोकन गर्न सक्नेछन्’, वडा–  २२ का वडाध्यक्ष विष्णु महतो साइकल मार्गले पटिहानीको पर्यटनमा नयाँ आयाम थपिने बताउँछन् ।

साइकल सफारीका कारण पर्यटकले यहाँको प्राकृतिक, सांस्कृतिक विषयको सूक्ष्म अध्ययन गर्न पाउने उनको भनाइ छ ।

उनका अनुसार यहाँको ऐतिहासिक, पुरातात्विक धरोहर सीतामाई र विक्रमबाबा मन्दिरको पनि गरिमा बढ्नेछ । साइकल सफारी सञ्चालन भए सौराहादेखि मेघौलीसम्मको पर्यटन क्षेत्रलाई एकीकृत गर्न सहयोग पुग्नेछ ।

कोभिड–१९ कारण साइकल सफारी अबको आवश्यकता रहेको बताउँछन्, पर्यावरण क्षेत्रका जानकारहरू । चितवन साइकल राइडर्स क्लबका सदस्य तथा पश्चिम चितवन वातावरण तथा पर्यटन विकास समितिका अध्यक्ष अपिल घिमिरे भन्छन्, ‘पर्यटकका लागि यो नयांँ प्रडक्ट हो । यसले वातावरण तथा जंगली जनावरलाई असर पर्दैन ।’

क्लबको अभियानलाई पर्यटन व्यवसायीले सहर्ष स्वीकारेको घिमिरेले बताए ।

अन्तर्राष्ट्रिय अभ्यासमा साइकल सफारीको महत्व उत्तिकै भए पनि चितवनको जंगल सफारीका लागि त्यति प्रभावकारी नहुने बताउँछन्, निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराल । ‘यसले फाइदा पनि पु¥याउँछ, हानि पनि हुन सक्छ,’ बरालले भने ।

उनका अनुसार पर्यटकको व्यक्तिगत सुरक्षा र निकुञ्जकै सुरक्षाको जोखिम बढ्न सक्छ । साइकल सफारी व्यवसायीको हितमा भए पनि निकुञ्ज र पर्यटक सुरक्षालाई गहिरो रुपमा अध्ययन गरेर मात्र सञ्चालन गर्न सकिने उनको बुझाइ छ ।

व्यवसायी र क्लबले भने तत्काल निकुञ्ज क्षेत्रभित्र साइकल सफारी सञ्चालन गर्न नसकिए वैकल्पिक मार्ग रहेकाले यसलाई यथाशक्य सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)