ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

गैंडाको मूर्तिसहित राइनो पार्क निर्माण सुरु

२०७७ असोज, २०  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । बाग्मती प्रदेशको पर्यटकीय गन्तव्य पश्चिम चितवनको मेघौलीमा गैंडाको मूर्तिसहितको राइनो पार्क निर्माण सुरु भएको छ ।

सामुदायिक वनको ५ सय बिघा क्षेत्रफलमा बनाइने मेघौली राइनो पार्क बाग्मती प्रदेश सरकारको बहुवर्षीय योजनाअन्तर्गत निर्माण सुरु गर्न लागिएको हो ।

बाग्मती प्रदेश सरकारबाट मेघौली राइनो पार्कका निम्ति पहिलो चरणमा हाल ४७ लाख ७३ हजार विनियोजन भएको पार्क निर्माणका लागि स्थानीयसँग समन्वय गर्न गठित समितिका संयोजक मायाराम महतोले बताए ।

सो रकमबाट पार्कको पर्खाल र गैंडाको मूर्ति बन्न लागेको संयोजक महतोले जानकारी दिए । ‘हाल उक्त स्थानमा  भरतपुर महानगरले विनियोजन गरेको १० लाखबाट पार्कमा शौचालय बनेको छ भने यसपटक पनि महानगरले पार्कको गेटका लागि १० लाख बजेट विनियोजन गरेको छ’, महतोले भने । बाग्मती प्रदेशसभा सदस्य कृष्ण भूर्तेलले पर्यटकीय गन्तव्य विकासका निम्ति यस वर्ष भोजराज सिद्धबाबा मन्दिरका लागि ६ लाख ९३ हजार, भरतपुर–२८ गोलाघाटमा मञ्च निर्माणका लागि ६ लाख ९२ हजार, कुमाल संग्रहालयका लागि १ लाख ४१ हजार, बहुसांस्कृतिक भवनका लागि २ लाख ७६ हजार एवं मेघौली राइनो पार्कका निम्ति ४७ लाख ७३ हजार विनियोजन गरिएको जानकारी दिए ।

उनका अनुसार मेघौलीको सदाभार, मालिका, राधाकृष्ण र हरियाली राप्ती तथा बेतरी मध्यवर्ती सामुदायिक वनलाई समेटेर मेघौली राइनो पार्कका रुपमा विकास गर्न लागिएको हो  ।

‘पर्यटनमा विविधता ल्याउन र पर्यटकलाई नयांँ प्रडक्ट दिन यो काम अघि बढाएका हौं,’ सासद भूर्तेलले भने ।

मेघौली विमानस्थल नजिकै राइनो पार्क क्षेत्रको प्रवेशद्वारमा ३० फिट अग्लो र ४० फिट चौडा सम्भवतः विश्वकै अग्लो गैंडाको मूर्ति बनाइनेछ ।  

मूर्ति निर्माणमा ३ करोड ३९ लाख रुपैयाँ खर्च हुने अनुमान छ  । मूर्तिभित्र दुई तला हुनेछन् । तिनमा पर्यटन सूचना केन्द्र र संग्रहालय रहने उनले जानकारी दिए ।
हाल २ करोड ५० लाख खर्चेर मूर्ति र भित्री संरचना निर्माण गर्न लागिएको हो ।

पार्कका परिकल्पनाकार  भरतपुर महानगरका पर्यटनविज्ञ डा. विश्व सुवेदीका अनुसार गैडाको मूर्तिभित्र सूचना केन्द्र, रेस्टुराँ, उद्यानभित्र भ्यूटावर, २५ बिघामा ताल, ५० बिघामा घाँसे मैदानलगायतका संरचना हुनेछन् ।

यस्तै, टाइगर टावर, जंगल सफारी, असहाय वन्यजन्तु उद्धार केन्द्र, जैविक विविधता सूचना केन्द्र, अहिले भइरहेको थारु संग्रहालयलगायतका संरचना निर्माण गरिने डा. सुवेदीले जानकारी दिए ।

पर्यापर्यटनलाई नै प्राथमिकता दिएर गैंडालाई ब्रान्डिङ गर्नुका साथै पार्कलाई जैविक विविधता अध्ययन केन्द्रका रुपमा परिणत गरिने उनले बताए ।

तालको वरिपरि पर्यटकलाई हिँड्न मिल्ने गरी ‘क्यानोपिक वाक’ निर्माण गरिनेछ, जसमा पोखरीको वरिपरि १५ फिट अग्लो दूरीमा हिँड्न मिल्ने गरी फलामको एक किलोमिटर लामो पुलका लागि आवश्यक पूर्वाधार तयार गरिनेछ ।

‘अहिले सामुदायिक वनमा १८ किलोमिटरमा जिप सफारी हुने गरेको छ’, उनले भने, ‘अब जिप सफारीभन्दा पनि क्यानोपिक वाकबाट प्रत्यक्ष गैंडा देखाउने तयारी हुनेछ ।’

सुवेदीका अनुसार फलामको फ्रेममाथि काठ राखेर बार्दलीजस्तो बनाएर क्यानोपिक वाक निर्माण गरिनेछ । पार्कमा बाघ आउने करिडोर पनि पर्ने भएकाले टाइगर टावर र चरा अवलोकन गर्ने टावर निर्माण हुनेछ ।

भरतपुर सदरमुकामदेखि  २५ किलोमिटर पश्चिम–दक्षिणमा रहेको स्थानमा पार्क निर्माण गर्न लागिएको हो । चार वर्षभित्र पार्क निर्माण सम्पन्न गरिने लक्ष्य राखिएको छ ।

यहाँ चौधरी ग्रुपको चेन होटल ताज सेराई, होटल बाराहीलगायत पर्यटकीय स्तरका एक दर्जन होटल सञ्चालनमा छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)