विश्वका सात आश्चर्य भनेर चिनिएका इजिप्टको पिरामिडदेखि चीनको ग्रेटवालसम्म अब पुराना भए । अहिले तीभन्दा धेरै नयाँ आश्चर्यहरू सृजना भइसकेका छन् । र, ती आठौं वा दशौं आश्चर्यहरू अन्त कतै नभएर नेपालमै छन् । आश्चर्यको कुरा चाहिँ नेपालमा नयाँ नयाँ आश्चर्यहरू कति सृजना भएका छन् भन्ने विश्वलाई थाहा छैन जस्तो छ । ‘विश्व आश्चर्य छनोट समिति’को आँखा नेपालका यी धेरै आश्चर्यहरूमा अझै किन नपरेको होला ? यो पनि आश्चर्य नै हो ।
आफूलाई प्रजातन्त्रको पहरेदार ठान्ने विपक्षीहरू संसद्भित्रै तोडफोडमा उत्रन्छन् । कानून बनाउन भनेर संसद्मा चुनेर पठाइएकाहरू कुलो बनाउन मात्र व्यस्त हुने यी कुर्सी हाननीयहरूलाई माननीय भन्दिनुपर्ने अचम्मको चलन छ यहाँ । कस्तो आश्चर्य ?
शुरू गरौं नेपालको पहिलो आश्चर्यबाट । देश संघीयतामा गइसकेपछि पनि केन्द्रबाटै सूक्ष्म व्यवस्थापन भइरहेको विश्वमा अन्त कतै छ ? एउटा प्रदेशको राजधानी तोक्न मुख्यमन्त्री केन्द्र धाउँछन् र दुई नेताको स्वीकृतिमा मात्र हरेक काम गर्छन् । अनि आफूलाई प्रजातन्त्रको पहरेदार ठान्ने विपक्षीहरू संसद्भित्रै तोडफोडमा उत्रन्छन् । कानून बनाउन भनेर संसद्मा चुनेर पठाइएकाहरू कुलो बनाउन मात्र व्यस्त हुने यी कुर्सी हाननीयहरूलाई माननीय भन्दिनुपर्ने अचम्मको चलन छ यहाँ । कस्तो आश्चर्य ?
दोस्रो आश्चर्य : जनताका प्रतिनिधि बनेर आएकाहरू नै भ्रष्टाचारमा माथिदेखि तलसम्म चुर्लुम्म डुबेका छन् । धरहरा ढले पनि भ्रष्टाचारको मिनार भने दिनप्रतिदिन अग्लो हुँदै गैरहेको छ । तर पनि जनता टुलुटुलु हेरेर बस्छन् । किनकि त्यसविरुद्ध केही गर्ने सामर्थ्य उनीहरूसँग सिद्धिसकेको जस्तो देखिन्छ । देश यति धेरै भ्रष्टाचारप्रधान भइसक्दा पनि नेपाललाई अझै कृषिप्रधान मुलुक भन्न छाडिएको छैन । छैन त आश्चर्य ?
तेस्रो आश्चर्य : नेपाली राजनीतिमा मिश्रण र सम्मिश्रणको प्रक्रिया चौबीसै घण्टा चलिरहन्छ । यहाँ राजनीतिको कुण्डमा बिचौलिया, दलाल, लठैत, गुण्डाहरू पनि आ–आफ्ना कपडा उतारेर नांगै पौडिन्छन् र जनसेवक भनिएकाहरू पनि उनीहरूसँग सरोबरी अंकमाल गर्दै पौडिरहेका भेटिन्छन् । अर्थात् यो कुण्डमा मिश्रण र सम्मिश्रणको प्रक्रियामा डाँका, लुटेराहरू राजनीतिज्ञमा परिणत हुन्छन् र राजनीतिज्ञ डाँकुको भूमिकामा आउँछन् । योभन्दा ठूलो आश्चर्य दुनियामा अरू केही हुन सक्छ ?
चौथो आश्चर्य : हाईस्कुल फेल हाईलम्फुहरू सांसद, मन्त्री बन्छन् । जिन्दगीमा कहिल्यै फ्याक्ट्री नदेखेका पनि एकैचोटि सार्वजनिक संस्थाको जीएम वा मन्त्री नै बन्छन् । राजनीति बाहेक अर्को कुनै आर्थिक उपार्जनको उद्यममा नलागेको मान्छे राजनीतिकै आडमा चार दशकयता शहरको सबैभन्दा सम्पन्न व्यापारीको जस्तो जीवनशैली बाँचिरहेको छ । विना व्यवसाय अकस्मात् धनी बन्न सक्ने यस्तो अद्भुत आश्चर्य अन्त कतै देख्नुभएको छ ?
अनि औषधिदेखि सडकसम्म, बिजुलीदेखि अदालतसम्म, संसद्देखि स्थानीय निकायसम्म सबै विदेशी दान, अनुदान र ऋणमा निर्भर हुन पुगेको छ । जति दान र अनुदान बढे पनि देश भने झन् झन् कंगाल बनिरहेको छ । यो प्रविधिको युगमा पनि विदेशीसँग दानरूपी भिख माग्न छाड्ने संकेत देखिएको छैन । तर पनि शासकहरू भने समृद्धिको राग अलाप्न छाड्दैनन् । हेर्नुस त कस्तो आश्चर्य ?
पाँचौं आश्चर्य : विश्वका सबै देशमा जमीनमा रूख हुन्छन् । तर नेपालमा भने कागजमै रूख लगाइन्छ र कागजमै यो प्रमाणित पनि हुन्छ कि सुक्खा, बाढी, हावाहुरी आदिबाट ती रूखहरू नष्ट भए भनेर । कागजमै पोखरी खनेर कागजमै पोखरी पुरेको बिल भर्पाई बुझाएर बजेट सकिन्छ ।
यसरी कागजमै योजना बन्छन् । कागजमै योजना सम्पन्न हुन्छन् । कागजै रोजगारी सृजना हुन्छन् । कतिसम्म भने देशमा रोजगारी बढाउने भन्दै झार उखेल्ने काम दिने र त्यो पनि केही नगरी काम सम्पन्न भएको भनेर कागजमै देखाउने र त्यसबापतको सबै बजेट हजम पार्ने । अनि यसैलाई नयाँ युगको आरम्भ भनेर प्रचार गरिएको छ । छैन त आश्चर्य ?
छैटौं आश्चर्य : सरकारी अफिसमा कुनै पनि काम गराउन अत्यन्त कठिन छ । ‘नगद नारायण’को प्रतापले यहाँ फाइलहरूमा पखेटा पलाउन समय लाग्दैन र रातारात नीति नियम बदलिन्छन् । बन्द भएको कित्ताकाट अचानक केही दिन खुल्छ र फेरि बन्द हुन्छ । संसद्मा विधेयक पेश हुन्छन्, अनि एकाएक गायब हुन्छन् ।
सातौं आश्चर्य भने नेपाली जनता नै हुन् । किनकि देशमा वर्षौंपछि चुनाव हुन्छ । नेताहरू जनताका घरदैलो जान्छन् । आश्वासनका सपना बाँड्छन् । भोजभतेर खुवाउँछन् ।
चुनावमा धेरै भोट पाएर जित्छन् । र, अर्को चुनाव नआउन्जेलसम्म शहरमै हराउँछन् । ५ वर्षसम्म ती नेताको सत्तोसराप गर्छन् जनता, यो गरेन, त्यो गरेन भनेर । अर्को चुनाव आउँछ । फेरि तिनै नेता हात जोड्दै भोट माग्न पुग्छन् । पहिलेकै झैं चिल्ला भाषण गर्छन् । नेताका कुरा जनताले फेरि पत्याउँछन् । र फेरि पनि तिनै नेताले चुनाव जित्छन् । यो चक्र दोहोरिरहन्छ ।
अर्को उदाहरण, नेपालीहरू विश्वमै यस्ता नागरिक हुन्, जसको राष्ट्रियता विदेशी भूमिमा पुगेपछि मात्र देख्न पाइन्छ । नेपालमा छँदा उनीहरूलाई यहाँको प्रायः सबै कुरा मन पर्दैन । तर विदेश पुगेपछि अनायास उनीहरूको राष्ट्रियताको भेल फुट्न थाल्छ ।
यसरी विश्वलाई नै चकित पार्ने यस्ता सयौं आश्चर्यहरू छन् देशमा । विश्वले आश्चर्यको संख्या सात मात्र राखेको छ । त्यसकारण नेपालको पनि सबै आश्चर्यका फेहरिस्त यहाँ पस्केर पाठक तथा स्रोताहरूलाई थप आश्चर्यमा किन पार्नु र ?
केपी ओलिको उखान टुक्का र गफाडी गफले देश चलाएको कम्ता अचम्म छैन र ? शरिरले नसकेर सत्ता छोड्छ विदेशमा, तर नेपालमा शरिर जाला भनेर सत्ता च्यापेर बस्छ्न । सुबिधा भोग्छन । नेता नै अचम्मका छन्, यहाँ । के यो अचम्म होईन र ? अचम्मको पोको भएको देश हो नेपाल ।
Sahe bhanayho