ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चितवनमा यो वर्ष धान उत्पादन १५ प्रतिशतले घट्ने

२०७७ असोज, २७  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । कृषिको हबका रुपमा परिचित चितवनमा यसपल्ट धान उत्पादनमा ह्रास आउने भएको छ । नियमित वर्षा र अनुकूल मौसम भए पनि किरा र रोग प्रकोपका कारण १५ प्रतिशतले धान उत्पादनमा ह्रास आउने प्रक्षेपण गरिएको हो  ।

देशभर मल अभावमा यस पटक धान उत्पादन कम हुने आकलन गरिएका बेला किरा र रोगले सताएपछि धान उत्पादन घट्ने कृषि ज्ञान केन्द्र चितवनले जानकारी दिएको छ ।

ज्ञान केन्द्रका प्रमुख राजन ढकाल गत वर्षको तुलनामा यस वर्ष धान १५ प्रतिशतसम्म ह्रास आउने बताउँछन् । ‘अहिले कतिपय ठाउँमा धान काट्ने बेला  भइसक्यो’, उनले भने, ‘हामीले क्षेत्र छनोट गरी धान उत्पादनको नमुना संकलन गरेका छौं ।’

उनका अनुसार धान उत्पादन हुने क्षेत्रलाई अर्ली, मिडियम, लेट गरी तीन भागमा छुट्याइएको छ । चाँडै लगाइएका धान रोपेका क्षेत्रमा उत्पादन घटे पनि ढिला रोपेर ढिलो उत्पादन हुने क्षेत्रको धानमा उत्पादनमा कमी नआउने उनले बताए । जिल्लाको पूर्वी क्षेत्र रत्ननगर,खैरहनी र राप्ती नगरपालिकाका क्षेत्रलाई धान जोन निर्धारण गरिएको छ । मल अभाव खासै नभएको तर रोग र किराले धानबालीमा ठूलो क्षति पुगेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका वरिष्ठ कृषि अधिकृत मेघनाथ तिमिल्सिना बताउँछन् ।

‘अधिकांश किसानले मलको जोगाड पनि गरे । विकल्पमा एमोनियम सल्फेट पनि हाले । तर, त्योभन्दा बढी रोग र किराले धानबालीमा क्षति पुग्यो ।’

उनका अनुसार गम्बारो, फड्के किरा, पात बेरुवाजस्ता किराले पसाउन लागेको धानमा आक्रमण गर्दा पनि उत्पादनमा ह्रास आएको हो । यस्तै, सिथ ब्लाइट, नेक ब्लास्टजस्ता रोगका कारण पनि धान उत्पादनमा क्षति पुगेको छ ।

राप्ती नगरपालिका अन्नपूर्ण आइपीएम धान समूहका अध्यक्ष कृषक धर्मराज कँडेल यस वर्ष धान उत्पादनमा ठूलो गिरावट आउने बताउँछन् ।

पहिलो चरणमा युरिया मल अभाव खेप्नु परे पनि गोडेपछि भने मल अभाव, किरा र रोगको कारण धान उत्पादनमा ह्रास आउने उनको भनाइ छ । ‘डेढ बिघाको खेतमा धान स्याहार्ने बेला भयो’, उनले भने, ‘बोट छ तर बाला र दानै छैन ।’

राप्ती नगरपालिकामा यस वर्ष ५० प्रतिशतसम्म धान उत्पादनमा ह्रास हुने कँडेलको अनुमान छ ।  प्रधानमन्त्री  आधुनिकीकरण कृषि परयोजनाका सूचना अधिकारी माधव पौडेल हरेक क्षेत्रमा छड्के जाँच गरेर धान उत्पादन नमुना संकलन गरिरहेको बताउँछन् ।

‘यसपटक जोन क्षेत्रमै १५ प्रतिशत धान उत्पादन हुने अनुमान गरेका छौं’, उनले भने, ‘तर मंसिरसम्म के–कति ह्रास हुन आउँछ, त्यो हेर्न बाँँकी छ ।’ किसानले प्राविधिकको सल्लाहबिनै विषादी एवं रासायनिक मल प्रयोग बढी गरेकाले पनि रोग र किराको प्रकोप बढेको सूचना अधिकारी पौडेलको तर्क छ ।

जिल्लाका पूर्वी क्षेत्र र माडी नगरपालिकामा असार लाग्नेबित्तिकै धान रोप्ने र असोज तेस्रो साताबाट काट्ने गरिए पनि पश्चिम क्षेत्रमा भने भदौ पहिलो सातासम्म धान रोप्ने र मंसिरबाट स्याहार्ने गरिन्छ ।

जिल्लामा बर्खे धान १९  हजार  ८ सय १६ हेक्टर क्षेत्रफलमा हुँदै आएको छ । यहांँ प्रतिहेक्टर ४ दशमलव २ मेट्रिक टन धान उत्पादन हुने गरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)