विगतका वर्षमा जस्तो चाडको रौनक नदेखिए पनि यसपालिको दशैं पनि घटस्थापनाको दिनदेखि नै शुरू भैसकेको छ । साँझ बिहानको छाक जुटाउनै नपाउनेलाई के को दशैं भन्नुहोला । तर सबैले खान पाइरहेकै छन् त ! खसी खानेहरूले सो नपाए पनि फर्सी त पक्कै खान पाएकै होलान् । यो बेला खान नपाउने त को होला र ? सबैले केही न केही त खाइरहेकै होलान् । किनकि, चुल्होबाट धूँवा हटिरहेको छ ।
डिग्रीधारी विद्वान् सबै फेसबुक, ट्विटर, ह्वाट्सएप जस्ता सामाजिक जालमा व्यस्त छन् । उनीहरूलाई त नाकमा बसेको झिँगा धपाउनेसम्म पनि फुर्सद छैन । अब तपाईं नै भन्नोस्, हाम्रो देशमा कतै बेरोजगारी भन्ने चीज देखिन्छ त ?
यसको मतलव देशको पेट पनि भरिइरहेकै छ । फेरि हाम्रो देशमा त नखाए पनि जीवन चल्छ । युवा खासगरी केटीहरू त खाना कम र मोबाइलमा धेरै समय खाइरहेका छन् । प्रायः केटाहरू भने देश वा विदेशका शहर बजारमा बाउन्न घुस्सा त्रिपन्न ठक्कर खाइरहेका छन् । प्रहरी, कर्मचारी, नेता घुस खाइरहेका छन् र किसानले विष । हो, देशका सबै मान्छे केही न केही त खाइनै रहेका छन् । देशका सत्तापक्ष र विपक्षले त दशकौंदेखि सहभोजन गरिनै रहेका छन् ।
यसबाट स्पष्ट हुन्छ कि देशको पेट खाली छैन, भरिएकै छ । देशको पेट तब भरिन्छ, जब देशमा पढेलेखेका विद्वान् धेरै हुन्छन् । पढेलेखेका विद्वान् धेरै भएपछि रोजगारी आफै सृजना हुन्छ । अनि देशमा असम्भव भन्ने कुनै कुरा हुँदैन । कोही बन्दुक बोकेर, मान्छे मारेर पनि ठूलो नेता, सांसद, मन्त्री बन्न सक्छ भने १४ वर्ष जेल गए प्रधानमन्त्री । डिग्रीधारी विद्वान् सबै फेसबुक, ट्विटर, ह्वाट्सएप जस्ता सामाजिक जालमा व्यस्त छन् । उनीहरूलाई त नाकमा बसेको झिँगा धपाउनेसम्म पनि फुर्सद छैन । अब तपाईं नै भन्नोस्, हाम्रो देशमा कतै बेरोजगारी भन्ने चीज देखिन्छ त ? देखिन्न नि !
विश्वभरिमा सबैभन्दा बढी रोजगार नै यै देशमा छन् । देशको जनसंख्या ३ करोड छ । तर मोबाइल आयातको संख्या ६ करोड नाघिसक्यो । यदि बेरोजगारी हुन्थ्यो भने मानिसले मोबाइल कसरी किन्थे त ? कसैले क्यै काम पाएनछन् भने पनि तास वा क्यारेमबोर्ड नभए मोबाइलमा पब्जी र सब्जी खेलेर पनि आफै रोजगारी सृजना गरिहाल्छन् । त्यै भएर प्रधानमन्त्रीले ल्याएको रोजगारीका कार्यक्रम सधैं फेल हुने गरेको !
वास्तवमा देश धेरै नै बदलिइसकेको छ । किनकि देशको सोच पूरै बदलिइसकेको छ । जस्तै– खल्तीमा फुट्टी कौडी नभए पनि गाउँदेखि शहरसम्म बैंकहरूमा खातामाथि खाता खुल्दै गैरहेका छन् । छरछिमेकमा विद्यालय वा घरघरमा शौचालय नभएर के भो त ? हातहातमा मोबाइल, घरघरमा टीभी, फ्रिज र बाइक त पुगेकै छन् ।
गाउँगाउमा औषधि पुगेन होला । तर बियर, कोला, चाउचाउ र किसिम किसिमका प्लाष्टिकका झोलामा के के वस्तु पुगेकै छन् । घरघरमा बत्ती नपुगेर के भो र ? चारैतिर डिजिटलको गुण गाउने काम भैरहेकै छ । त्यसैले त आँटाको मूल्य बढ्दै गए पनि डाटाको मूल्य घट्दै गएको छ । यो सबै देखेर तपाईं हामी सबैको मन पनि गदगद भैरहेकै छ ।
त्यसैले बेरोजगारी, भ्रष्टाचार, आर्थिक मन्दी आदि जस्ता कुराहरू केवल केही विपक्षी र मिडियाको चालबाजी मात्र हो । उनीहरूको त सरकारलाई लतार्ने बाहेक अरू क्यै कामै छैन जस्तो छ । कुरा नबुझी सरकारले सिन्को भाँचेन भनेर आलोचना गर्छन् । त्यसैले समयमै कुरा बुझ्नोस् कि देश हिजो जस्तो थियो, आज छ र अगाडि पनि त्यस्तै नै हुने देखिइ नै रहेको छ ।
सरकारले त भन्दिसकेको छ नि, भोक लागे खाना खाऊ, रोग लागे बेसार पानी । सकेसम्म घर डेराबाट ननिस्क । रोग लागे बेहोस् भएपछि मात्र अस्पताल जाऊ । कोरोना संक्रमणको शंका लागेमा आफै परीक्षण गर, आफै उपचार गर । मृतकको दाहसंस्कार आफै गर । बरु सास जाओस् तर सरकारको आश गरेर नबस । अँ, सरकारलाई कर तिर्न चैं नबिर्सनू नि । तिमीहरू आफूले मात्र खाएर पुग्छ ? सांसद, मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति लगायतलाई पनि त ख्वाउनुपर्यो नि ! परेन ?
जे होस्, दशैंको माहौल छ । यसरी सबैतिर खुशियाली छ । त्यसैले सबैले सबैलाई सित्तैमा दिन मिल्ने दशैंको शुभकामना दिइरहेका छन् । त्यसैले मेरो पनि तपाईंलाई शुभकामना ! छ है ।
अधर्ममाथि धर्मको विजय होस्
असत्यमाथि सत्यको विजय होस्
खराबमाथि असलको विजय होस्
अत्याचारमाथि सदाचारको विजय होस् र
आसुरी शक्तिमाथि दैवीशक्तिको विजय होस् ।
बडादशैं २०७७ को हार्दिक मंगलमय शुभकामना !