ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चितवनमा माछा बिक्री ५० प्रतिशतले घट्यो

२०७७ कार्तिक, १६  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । बन्दाबन्दी र निषेधाज्ञाको असर सबै क्षेत्रमा परिरहेका बेला चितवनका माछा किसानले पनि यसको मार बेहोर्नु परेको छ । चितवनमा यो वर्ष माछाको उत्पादन बढी भए पनि बिक्री भने ५० प्रतिशत घटेको छ ।

कुखुराको मासु मूल्यको तुलनामा माछाको मूल्य नघटे पनि बिक्री भने कम भएको माछापालक किसानहरु बताउँछन् । ‘यस वर्ष माछाको मूल्यवृद्धि भए पनि बिक्री आधा घट्यो,’ रत्ननगरका किसान भरत महतो भन्छन् ।

हाल माछा प्रतिकेजी २० रुपैयाँले बढेर ३ सय २० पुगेको छ । ‘बन्दाबन्दीदेखि माछाको उत्पादन र वजन बढेको छ तर खरिद गर्ने मान्छे आउँदैनन्,’ महतोले भने ।
उनका अनुसार माछापालक किसानबीचमै अस्वस्थ प्रतिस्पर्धा हुँदा तोकिएभन्दा कम मूल्यमा माछा बिक्री गर्नुपर्ने बाध्यताका कारण नोक्सानी भएको हो ।

चितवनमा माछा बिक्री बन्दाबन्दीअघि तुलनात्मक रुपमा राम्रै भए पनि त्यसपछि भने घट्दै गएको छ । चाडपर्व लागेपछि माछा बिक्री बढ्न नसकेको किसानको गुनासो छ ।

होटल, पार्टी प्यालेसलगायत अन्य गतिविधि नभएका कारण माछा उत्पादन र मूल्य राम्रै रहे पनि बिक्री कम भएको हो । ‘धेरैजसो खपत होटल, पार्टी प्यालेसमै हुने हो । यी बन्द भएपछि माछा बिक्री ह्वात्तै घट्यो,’ माडीका माछापालक किसान कमलप्रसाद भुजेल भन्छन् । मूल्य राम्रै भए पनि अधिकांश ठाउँमा माछाको कारोबार उधारोमा हुँदा दोहोरो मारमा परेको उनको अनुभव छ । ‘माछाको मूल्य र उत्पादन दुवै राम्रै छ । उधारोको कारण मारमा छौं,’ भुजेलले भने ।

माछाको मूल्यवृद्धि हरेक २–२ वर्षमा नेपाल मत्स्य व्यवसायी संघले निर्धारण गर्छ । यसपटक माछाको मूल्यवृद्धि गर्दा दाना वितरकले समेत मूल्य बढाएको किसानको गुनासो छ । माछा उत्पादन बढे पनि बिक्री नभएर पोखरीमा त्यसै राख्नुपर्दा चालू खर्चसमेत बढ्ने गर्छ ।

संघका अनुसार यस वर्ष माछा उत्पादन र किसानको संख्या वृद्धि भए पनि बिक्री बढेको छैन ।

काठमाडौं, पोखरालगायत ठूला सहरमा समेत माछाको माग कम छ । ‘तरकारीको मूल्य बढेर र कुखुराको मासुको मूल्य घट्दा मात्र माछा किसानलाई राहत हुन्छ’, संघका जिल्ला  अध्यक्ष खगेन्द्र सुवेदी भन्छन् ।

अघिल्ला वर्षहरुमा दैनिक ५ क्विन्टल माछा बेच्ने किसानले अहिले १ क्विन्टल मात्र बिक्री गर्ने अवस्था आएको उनले सुनाए ।

देशभरको उत्पादनमध्ये बारा, रुपन्देहीपछि चितवनमा माछा उत्पादन बढी हुने गर्छ । गत वर्षभन्दा यो वर्ष २० प्रतिशत माछा उत्पादन बढेको र हाल ८० प्रतिशत बजार नेपाली माछाले ओगटेको केन्द्रीय संघको दाबी छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)